एक दशकअघिसम्म पातारासी गाउँपालिका -२ पेरे गाउँका बलबहादुर बहोहोरालाई 'सडक' भन्नु केवल रेडियो र पत्रपत्रिकामा सुन्ने शब्द थियो। खलंगा बजारसम्म पुग्न भारी बोक्दै दुई दिनको पैदल यात्रा गर्नुपर्थ्यो।तर आज, उनी आफ्नै आँगनबाट गाडी गुडेको हेरिरहन्छन्।
सडकले स्थानीय जनताको जीवनशैली मात्र होइन, सोच नै बदलिदिएको छ। पहिले खाद्य संस्थानले बाँड्ने ५ किलो चामल लिन दुई दिनको यात्रा गर्नु पर्थ्यो। आज चामल, दाल, नुन, तेल, चिनीजस्ता आवश्यक सामग्री घरको ओटालोमै आइपुग्छ।
पातारासी- १ की सर्केनी बुढा भन्छिन्, "पहिला स्याउ, सिमी, आलु बेच्न पिठ्युँमा बोकेर बजार झर्नुपर्थ्यो। अहिले गाडी नै बारीमा पुग्छ। सडकले विकासको हुरी ल्याएको छ।"
स्वास्थ्य र शिक्षा क्षेत्र पनि अब गाउँमै सघन छन्। निजी क्लिनिक, एम्बुलेन्स सेवा, इन्टरनेट जडान, गाउँमै उपलब्ध छन्।यता पातारासी गाउँपालिका -५ का स्थानीय सुन्दर बहादुर खत्रीका अनुसार सडकले गाउँको मुहारै फेरिदिएको छ। "पहिले भारी बोक्ने बाध्यता थियो। अहिले कृषि, जडिबुटी, पर्यटन तीनवटै क्षेत्रले फड्को मारेका छन्," उनले भने ।
२०६० सालदेखि ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु भएको सडक निर्माणले २०७४ सालदेखि गती लियो। अहिले प्रत्येक वडामा एम्बुलेन्स पुग्ने अवस्था छ।स्थानीयको बलियो माग छ- पातारासी हुँदै डोल्पा जोडिने सडक सञ्जाल तत्काल निर्माण होस्।पातारासी -१ गडिगाउँका पटे ऐडी भन्छन्, "पहिले हामी आफैं भारी थियौं, अब सडकले हाम्रो जीवन हलुका बनाएको छ। अब यो बाटो पिच होस्, पुल बनोस्, ठूलो गाडी पनि सजिलै चलोस्। त्यसपछि त समृद्धि आफै दौडिएर आउँछ।"

प्रकाशित: २४ आश्विन २०८२ २१:१० शुक्रबार