समाज

तीन दिन अघि दुर्घटनामा ज्यान गुमाएकी यमुनाको पोस्टमार्टम अझै भएन

उदयपुरमा सवारी दुर्घटनामा ज्यान गुमाएकी २८ वर्षीया यमुना विश्वकर्माको शव दुर्घटना भएको तीन दिन बित्दासमेत पोस्टमार्टम हुन सकेको छैन। मृतकका परिवार र ट्रक सञ्चालक पक्षबीच सहमति नजुट्दा कानुनी प्रक्रिया अघि बढ्न नसकेको हो।

बिहीबार दिउँसो गाईघाटबाट उदयपुरगढी गाउँपालिका–३ बर्रेतर्फ श्रीमान् यमबहादुर विश्वकर्मासँग मोटरसाइकलमा जाँदै गरेकी यमुना मालवाहक ट्रकसँग ठोक्किँदा घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा उनका श्रीमान् यमबहादुर गम्भीर घाइते भएका छन्। उनको एउटा हात र दुई वटा करङ भाँचिएको छ भने विराटनगरमा उपचार भइरहेको छ।

मृतकका आफन्त र गाउँलेहरूले शनिबार पत्रकार सम्मेलन गर्दै पीडित पक्षप्रति बेवास्ता गरिएकाले शव अझै पोस्टमार्टम हुन नसकेको गुनासो गरेका छन्।

स्थानीय सन्तोष निरौलाले महिलाको ज्यान गएको र एक जना गम्भीर घाइते भएको संवेदनशील घटनामा पनि सम्बन्धित पक्षले आवश्यक संवेदनशीलता नदेखाएको आरोप लगाए। उनका अनुसार तीन दिनसम्म शव पोस्टमार्टम हुन नसक्नुले पीडित परिवारमाथि थप अन्याय भएको छ र यसमा ट्रक सञ्चालकसँगै प्रहरी प्रशासनको पनि कमजोरी देखिन्छ।

पीडित पक्षले दुर्घटना एकान्त स्थानमा भएकाले चालकले घटनास्थलबाट ट्रक भगाएको आरोप लगाएको छ।

उनीहरूका अनुसार दुर्घटनापछि ट्रक करिब १० किलोमिटर पूर्व त्रियुगा नगरपालिका–७ चुहाडेसम्म पुगेपछि मात्र प्रहरीले नियन्त्रणमा लिएको थियो। यसले दुर्घटनाप्रति चालकको गम्भीर लापरबाही देखिएको पीडित पक्षको दाबी छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले भने दुर्घटनामा संलग्न ट्रक र चालक तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रहरी प्रमुख एसपी राजन चापागाईले चालक र ट्रक नियन्त्रणमा रहेको तथा घाइतेको उपचार भइरहेको जानकारी दिए। शव पोस्टमार्टमको विषय भने मृतक परिवार र ट्रक सञ्चालकबीच हुने सहमतिमा निर्भर रहने उनले बताए।

पत्रकार सम्मेलनपछि पीडित पक्ष र ट्रक व्यवसायी संघका प्रतिनिधिबीच छलफल जारी रहेको र सहमतिनजिक पुगेको जनाइएको छ।

ट्रक सञ्चालक पक्षले मृतक परिवारलाई बीमाबाट प्राप्त हुने रकम मात्र उपलब्ध गराउने अडान राखेका कारण सहमति हुन नसकेको र त्यसैका कारण पोस्टमार्टम प्रक्रिया ढिलाइ भएको ट्रक व्यवसायी संघका प्रतिनिधिले बताएका छन्।

मृतक यमुना विश्वकर्मा र घाइते यमबहादुर विश्वकर्माका ९ वर्ष र ५ वर्षका दुई साना सन्तान छन्।

गाउँलेका अनुसार यमुना अधिकारी परिवारकी छोरी थिइन् र उनले यमबहादुरसँग अन्तरजातीय विवाह गरेकी थिइन्। विवाहपछि दम्पती गाईघाटमा ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए।

घर फर्कने क्रममा भएको दुर्घटनामा आमाको मृत्यु र बुबा गम्भीर घाइते भएपछि दुई बालबालिकाको भविष्यप्रति स्थानीयवासीले गहिरो चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित: २० असार २०८३ २०:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App