जुम्लाको तातोपानी गाउँपालिकाले वर्षौँदेखि स्थानीय तहलाई गाँज्दै आएको बेरुजुको समस्या समाधान गर्न कडाइका साथ अभियान थालेको छ ।
बेरुजु शून्यमा झार्ने लक्ष्यसहित गाउँपालिकाले बेरुजु फछ्र्यौट समिति गठन गर्ने र निष्क्रियजस्तै बनेको सार्वजनिक लेखा समितिलाई पूर्ण रूपमा चलायमान बनाउने निर्णय गरेको हो ।
आइतबार सम्पन्न १८ औँ हिउँदे गाउँसभाले बेरुजु नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्दै स्पष्ट कार्ययोजना अघि सारेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।
उनका अनुसार यसपटक पनि वैशाख महिनाभित्रै अन्तिम भुक्तानी टुंग्याएर योजना सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याइएको छ ।
तथ्यांकअनुसार २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकालमा १९ करोड रुपैयाँ बेरुजु निस्किएको थियो । हालका जनप्रतिनिधिको साढे तीन वर्षमा भने ५ करोड रुपैयाँ बेरुजु देखिएको छ ।
पछिल्लो बेरुजुमा असुल गर्नुपर्ने रकमभन्दा पनि कागजात अपुरो, नियमित नभएको र प्रक्रियागत कमजोरी बढी देखिएको गाउँपालिकाले जनाएको छ । अहिलेसम्म ४२ लाख रुपैयाँ असुल भइसकेको छ ।गाउँपालिकाले अब बेरुजु सम्परीक्षणका लागि सबै कर्मचारी खटाउने तयारी गरेको छ ।
असुलउपरमा ढिलाइ गर्ने, कागजात नपेस गर्ने वा बेरुजु नियमित नगर्ने सेवाग्राही तथा फर्मलाई लिखित जानकारी गराइनेछ । अन्तिम चेतावनीपछि पनि अटेरी गरे कालोसूचीमा राखेर कुनै पनि सेवा लिन नपाउने गरी कारबाही गरिने जनाइएको छ ।सार्वजनिक लेखा समितिका संयोजक रत्नचन्द्र उपाध्यायका अनुसार बेरुजु घटाउने अभियान अब घोषणामा सीमित रहने छैन ।
प्रकाशित: २८ मंसिर २०८२ २१:१३ आइतबार



