सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अति आवश्यक अवस्थामा बाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले मंगलबार एक सूचना जारी गर्दै भारी वर्षा, बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन्।
प्रजिअ दाहालले जारी गरेको सूचनामा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण,संघीय,प्रदेश तथा स्थानीय सरकार र जिल्लास्थित सुरक्षा निकायबाट जारी मौसमसम्बन्धी जानकारीको पूर्ण पालना गर्न आग्रह गरिएको छ।
कार्तिक १२ गतेदेखि १४ गतेसम्म नेपालको मौसममा मनसुनी प्रभाव पर्ने सम्भावना मौसमविद्ले औँल्याइरहेका छन्। उक्त अवधिमा भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्ने, बाढी, पहिरो, भूक्षय तथा सडक यातायात अवरुद्ध हुन सक्ने जोखिम रहेकोले सर्तकर्ता अपनाउन प्रशासन कार्यालयले आग्रह गरेको छ।
ताप्लेजुङ जिल्लाको भौगोलिक बनावट र पहाडी भूभागका कारण वर्षाको समयमा जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन प्रशासन कार्यालयले आग्रह गरेको छ।
प्रशासनले पर्यटक तथा उच्च पहाडी र हिमाली क्षेत्रमा जाने व्यक्तिहरूलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न, सुरक्षित स्थानमा बस्न र जोखिमयुक्त क्षेत्रमा नजान अनुरोध गरेको छ नदी तथा खोला किनार,पहिरोको जोखिम भएका भिरालो जमिन र बाढी प्रभावित हुन सक्ने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन प्रशासन कार्यालयले भनेको छ।
भारी वर्षाका कारण हुन सक्ने सम्भावित विपद्बाट जोगिन बालबालिका,ज्येष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गर्दै प्रशासन कार्यालयले खाद्यान्न, औषधि, खानेपानी, टर्चलगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्न समेत अनुरोध गरेको छ।
प्रकाशित: १० कार्तिक २०८३ १५:१६ मंगलबार