समाज

शंकास्पद झोलाले लेकसाइड तीन घण्टा त्रसित

पोखराको लेकसाईडमा भेटिएको शंकास्पद झोलामा वम नभएको पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–६ लेकसाइडस्थित स्ट्रिट नम्बर ४१ को लालुपाते मार्गमा देखिएको शंकास्पद वस्तु वम नभएको पुष्टि भएको कास्की प्रहरीले जनाएको छ । सो वस्तु भेटेरीनरी सामानले भरिएको झोला भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए । उनले भने,‘सो झोलामा वम नभएको पुष्टि भएको छ, त्यसमा लिक्वीड नाइट्रोजन रहेछ ।’  

नाईट्रोजन पशुहरुमा कृतिम गर्भाधान गर्नका लागि प्रयोग गरिने आर्टिफिसियल ईन्फिनियसन (ईआई) गर्न प्रयोग हुने गर्दछ । विर्य जमाएर सुरक्षित गर्नका लागि प्रयोग हुने सो लिक्वीड माइनस १९६ डिग्री सेन्टिग्रेड तापक्रममा हुने पशु प्राविधिक सुरेश श्रेष्ठले जानकारी दिए । उनले भने,‘लेकसाईडमा भेटिएको भनेको नाइट्रोजन पनि सोहि केमिकल हो । यो रेफ्री (नाइट्रोजन राख्ने भाँडो)मा राखिन्छ र कहिं ठोक्कियो, घोप्टियो भने ग्यास बाहिर निस्कन्छ ।’ तर सो नाइट्रोजनले कुनै क्षेती नपुर्‍याउने उनले स्पष्ट पारे ।  

यसअघि स्थानिय सिलाईकटाई (टेलरिङ) पसलमा पूर्वाह्न ११ बजे शंकास्पद वस्तु भेटिएको थियो । एक व्यक्तिले नराख्नु भन्दाभन्दै जबरजस्ती राखेर गएको र केहिबेरपछि हेर्दा शंकास्पद झोलाबाट ग्यास निस्केको देखेपछि पसल धनीले प्रहरीलाई खबर गरेका थिए । लगत्तै गएको प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोलीले सो क्षेत्रलाई शिल गरि करीब ३ घण्टापश्चात डिस्पोज गरेको थियो । डिस्पोजलगत्तै झोलाधनी झोला खोज्दै आइपुगेका थिए । शंकास्पद वस्तु भेटिएर डिस्पोज नहुँदासम्मको करीब तीन घण्टा भने सो क्षेत्रका स्थानीयमा त्रास उत्पन्न भएको थियो ।

भेटेरीनरी सामान भएको झोला छाड्ने व्यक्ति अन्य व्यक्ति नभई निर्वाचन गराउन खटिएका कर्मचारी चेतबहादुर कार्की रहेको खुलेको छ । पोखरा महानगर पशु सेवा कार्यालय विरौटामा कार्यरत कर्मचारी रहेका उनी लेकसाईडस्थित तालवराही माविमा निर्वाचनका लागि खटिएका मतदान अधिकृत हुन् । हतारमा रहेका उनले झोला छाडेर गएको र सामाजिक सञ्जालमा आफूले झोला छाडेर गएकै क्षेत्रमा शंकास्पद झोला भेटिएको भन्ने देखेपछि झोला खोज्न फर्किदा आफ्नै झोला देखेपछि जिम्मा लिएका थिए । सो क्रममा उनले हतारमा राखेर जाँदा घटना भएकोप्रति क्षमा मागेका थिए । तर स्थानिय घरधनीले भने जबरजस्ती किन राखेको भन्दै आक्रोष व्यक्त गरेका थिए ।

शंकास्पद झोलाधनीलाई झोला बुझाएसँगै सो क्षेत्र शान्त बनेको छ । घटनापछि कास्की प्रशासनले निर्वाचनका लागि कास्कीमा सुरक्षा व्यवस्था चुस्त रहेको पुनः दोहोर्‍याएको छ ।

प्रकाशित: १९ फाल्गुन २०८२ १८:०२ मंगलबार