समाज

चार जिल्लामा सौर्य ऊर्जा योजना अघि बढाइँदै

कर्णाली प्रदेशका दुर्गम चार जिल्लामा विद्युत् पहुँच विस्तार गर्न एक मेगावाट क्षमताको सौर्य ऊर्जा (सोलार) परियोजना निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।  

जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा समानान्तर रूपमा निर्माण भइरहेको यो परियोजना पूरा भएपछि कर्णालीका सयौँ गाउँहरू पहिलो पटक नवीकरणीय ऊर्जाबाट स्थायी रूपमा उज्यालो हुने अपेक्षा गरिएको छ।

जुम्लाको चन्दननाथ नगरपालिका–३, कर्णाली प्राविधिक शिक्षालय नजिक निर्माण भइरहेको सोलार प्लान्टबाट १ हजार किलोवाट (१ मेगावाट) विद्युत् राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिनेछ।  

परियोजना सञ्चालनको जिम्मा रूलर इन्जिनियरिङ डेभलपमेन्ट एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको छ। यसमा चीनको जेटटीटी कम्पनी प्राविधिक सहयोगीका रूपमा संलग्न छ।  

निर्माणस्थलमा हाल स्टोर भवन, गार्ड हाउस, ब्याट्री फाउन्डेसन, कन्ट्रोल रुम लगायतका पूर्वाधारहरू निर्माणाधीन छन्।  

परियोजना साइडका प्रमुख रामबहादुर खड्काका अनुसार निर्माण सुरु भएको तीन महिना बितिसकेको छ र बाँकी काम पूरा हुन अझ करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ।

‘कर्णालीका दुर्गम बस्तीहरू अन्धकारमुक्त बनाउन यो परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउनेछ,’ खड्काले भने। उनका अनुसार परियोजना सम्पन्न भएपछि ग्रामीण क्षेत्रमा विद्यालय, स्वास्थ्यचौकी, सिँचाइ, सञ्चार र घरायसी प्रयोगका लागि दिगो ऊर्जाको पहुँच सहज हुनेछ।

समग्र परियोजनाको लागत करिब २५ करोड रुपैयाँ रहेको छ। प्रत्येक जिल्लामा करिब ६ करोड २५ लाख रुपैयाँ बराबरको लगानी हुनेछ। योजना अनुसार यो परियोजना १८ महिनाभित्र सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको छ। निर्माण पूरा भएपछि करिब ४५ देखि ५० वटा सोलार प्यानल इकाइहरू सञ्चालनमा आउनेछन्।  

 

जुम्लामा निर्माणाधीन सौर्य ऊर्जा परियोजनाको दृश्य।

प्रकाशित: २४ कार्तिक २०८२ २१:२४ सोमबार