डोल्पाको उच्च हिमाली क्षेत्रमा भारी हिमपातका कारण अलपत्र परेका ६ भारतीय पर्यटकलाई दुई दिनपछि सोमबार बिहान हेलिकप्टरबाट सकुशल उद्धार गरिएको छ।
नुमला र वाग्ला पास आसपासको क्षेत्रमा हिमपातमा फसेका दुई महिलासहित ६ जनालाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याएको हो। शनिबारदेखि सम्पर्कविहीन उनीहरूको प्रतिकूल मौसम र उद्धारका लागि हेलिकप्टर व्यवस्थापनमा भएको कठिनाइका कारण उद्धारमा ढिलाइ भएको थियो।
सोमबार बिहान साढे ६ बजे उडेको हेलिकप्टरले पहिलो चरणमा दुई महिलालाई उद्धार गरेको थियो। त्यसपछि पुनः घटनास्थल पुगेको हेलिकप्टरले चार पुरुषलाई पनि सकुशल उद्धार गरेको हो। उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन्।
जिल्ला प्रशासन कार्यालयमा गत कात्तिक १४ गते पर्यटक हिमपातमा फसेको जानकारी पुगेको थियो। त्यसलगत्तै उद्धारको पहल गरिए पनि मौसम प्रतिकूल हुँदा हेलिकप्टर परिचालन गर्न कठिनाइ भएको थियो। लगातारको हिमपातले उच्च हिमाली क्षेत्रको आवागमन प्रभावित भएपछि पर्यटक उद्धार थप चुनौतीपूर्ण बनेको थियो।
उनीहरू डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट शे-फोक्सुण्डो गाउँपालिका-८ स्थित फोक्सुण्डो तालतर्फ फर्कने क्रममा नुमला र वाग्ला पास क्षेत्रमा फसेका थिए। प्रशासनका अनुसार उनीहरू आवश्यक प्रशासनिक अनुमति नलिई उपल्लो डोल्पा पुगेका थिए। मौसम प्रतिकूल रहेको र भारी हिमपातको जोखिम बढेको भन्दै प्रशासन तथा स्थानीयवासीले हिमाली क्षेत्रमा यात्रा नगर्न सुझाव दिए पनि उनीहरू जोखिमपूर्ण मार्गमा पुगेका थिए।
छ पर्यटकको उद्धार भए पनि उपल्लो डोल्पामा रहेका अन्य पर्यटकको सुरक्षा चुनौती कायमै छ। जिल्ला प्रशासन कार्यालयका अनुसार अहिले उपल्लो डोल्पामा २४४ जना पर्यटक छन्। तीमध्ये १४९ नेपाली, ४४ सार्क मुलुकका र ५१ अन्य विदेशी नागरिक छन्। प्रशासनले प्रतिकूल मौसममा जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न सबै पर्यटकलाई आग्रह गरेको छ।
पर्यटकीय आकर्षणको केन्द्र शे-फोक्सुण्डो तालमा पर्यटकको आवागमन बढ्दो छ। गत आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा मात्रै ४ हजार ८८२ पर्यटकले तालको भ्रमण गरेका थिए। पर्यटकको बढ्दो आकर्षणसँगै उच्च हिमाली क्षेत्रको मौसम पूर्वानुमान, पदमार्गको सुरक्षा र अनिवार्य प्रशासनिक अनुमति कार्यान्वयनको आवश्यकता पनि उत्तिकै बढेको छ।
प्रकाशित: १६ कार्तिक २०८३ १०:२९ सोमबार