ताप्लेजुङमा स्थानीय तहका कार्य सम्पादन मूल्याङ्कनमा सिरिजङ्गा गाउँपालिका पहिलो भएको छ।
प्रारम्भिक नतिजामा पाएको अंक भन्दा ०.०२ अंक घटेपनि सिरिजङ्गा जिल्लाभरमा सबैभन्दा बढी अंक पाउने स्थानीय तहमा कायम भएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा सिरिजङ्गाको अंक ६८.१२ रहेको थियो। अन्तिम नतिजामा उसको अंक ६८.१० कायम भएको छ।
दोस्रोमा रहेको पाथीभरा याङवरकको अंकमा पनि ०.०२ अंक घटेर ६५.७० अंक कायम भएको छ। प्रारम्भिक नतिजामा पाथीभरा याङवरकको अंक ६५.७२ रहेको थियो। प्रारम्भिक नतिजाको अंकभन्दा मैवाखोलाले अन्तिम नतिजामा सुधार गरेको छ। अन्तिम नतिजामा मैवाखोलाको अंक ६३.६८ भएको छ। प्रारम्भिक नतिजामा मैवाखोलाको ५८.६८ अंक रहेको थियो।
प्रारम्भिक नतिजा भन्दा मेरिङदेन गाउँपालिकाले २.९ अंकको सुधार गरी आफ्नो अंक ६० मा पु¥याएको छ। प्रारम्भिक नतिजामा मेरिङदेनको अंक ५७.१ रहेको थियो। मिक्वाखोलाको ५८.५८ अंक फेरबदल नभई अन्तिम नतिजामा समेत उति नै कायम हुँदा यसअघि मेरिङदेन भन्दा माथि रहेको मिक्वाखोला अन्तिम नतिजामा भने मेरिङदेन भन्दा पछि परेको छ।
सिदिङ्वा र फक्ताङलुङ दुबैको अन्तिम अंक प्रारम्भिक नतिजाको अंक भन्दा झिनोले घटेको छ। सिदिङ्वाको यसअघिको अंक ५७.८९ रहेकोमा अन्तिम नतिजामा ५७.८८ र फक्ताङलुङको ५६.७५ अंक रहेकोमा अन्तिम नतिजामा ५६.७४ कायम भएको छ।
प्रारम्भिक नतिजामा फुङलिङको अंक ५०.६५ रहेकोमा अन्तिम नतिजामा ५०.६२ कायम भएको हो। प्रारम्भिक नतिजा भन्दा अन्तिम नतिजामा ८ अंकको सुधार गरेपनि आठराई त्रिवेणी गाउँपालिका जिल्लाका स्थानीय तहमा अंक तालिकाको पुछारमै कायम भएको छ। आठराई त्रिवेणी गाउँपालिकाको अन्तिम नतिजाको अंक ४९.३१ कायम भएको छ । प्रारम्भिक नतिजामा आठराई त्रिवेणीको ४१.३१ अंक रहेको थियो।
प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार आयोगले विभिन्न १७ सूचकको आधारमा मूल्याङ्कन गर्ने गरेको छ। जसअनुसार बजेट पेश र पारितको समयावधि, आयव्ययको प्रक्षेपण गरी अर्थ मन्त्रालयमा पेश गरेको समयावधि, विनियोजित रकम खर्चको समयावधि र अवस्था, सूत्रको प्रयोग, आवधिक योजना तर्जुमाको अवस्था विश्लेषण गर्ने गरेको छ।
शिक्षातर्फ विद्यार्थी भर्नादर, टिकाउको अवस्था, प्राप्त जीपीए, स्वास्थ्यमा गर्भवती महिला तथा बालबालिकालाई खोपको अवस्था लगायतका मापदण्डलाई विश्लेषण गर्ने गरिएको छ।
प्रकाशित: ३० फाल्गुन २०८२ १४:१८ शनिबार