समाज

फेवातालको छायाँमा ओझेलिएको सेती : पोखराको अदृश्य पर्यटकीय सम्भावना

पोखराको महेन्द्रपुलबाट तल नियाल्दा करिब ५० मिटर गहिराइमा गर्जिंदै बगेको सेती नदीले जो–कोहीलाई चकित पार्छ। सहरको भीडभाड, गाडीको आवाज र दैनिक चहलपहलभन्दा निकै तल बगिरहेको यो नदी पोखराको अर्को रहस्यमयी पहिचान हो। अधिकांश स्वदेशी तथा विदेशी पर्यटकका लागि पोखरा भनेको फेवाताल, माछापुच्छ्रे हिमालको प्रतिविम्ब र सराङकोटको सूर्योदय भए पनि सहरको गर्भभित्र नागबेली शैलीमा बग्ने सेती नदी भने अझै ओझेलमै छ।

कतै जमिनमुनि हराउने, कतै दुई मिटर चौडाइको चिराभित्र गर्जिने र कतै विशाल खोंचमा फैलिने सेती केवल नदी मात्र होइन, पोखरा सभ्यताको आधार र प्राकृतिक भूगर्भीय चमत्कार पनि हो। फेवातालले पोखरालाई विश्व पर्यटन नक्सामा स्थापित गरिरहँदा यही उपत्यकाको निर्माणमा मुख्य भूमिका खेलेको सेती नदी भने अपेक्षित रूपमा पर्यटनको केन्द्र बन्न सकेको छैन।

पोखराको निर्माणसँग जोडिएको ६ करोड वर्षको इतिहास

भूगर्भविद् डा. कृष्ण केसीका अनुसार सेती नदीको उत्पत्ति झण्डै साढे ६ करोड वर्षअघि भएको अनुमान छ। विभिन्न कालखण्डका महाभूकम्प र गेग्रान सञ्चयनले पोखरा उपत्यकाको भू–संरचना निर्माण भएको उनको भनाइ छ।

उनका अनुसार सेतीले तीन प्रमुख चरण पार गरेर पोखराको स्वरूप निर्माण गर्‍यो :

पुरुञ्चौर फर्मेसन : करिब १२–१४ हजार वर्षअघि

घाचोक फर्मेसन : करिब १०–१२ हजार वर्षअघि

पोखरा फर्मेसन : करिब ७ सयदेखि ११ सय वर्षअघि

डा. केसीका अनुसार नदीपुरदेखि पोखरा रंगशाला र चाउथेसम्म फैलिएको समथर भूभाग यही अन्तिम चरणको परिणाम हो।

विगतमा नदी नदीपुरबाट सिधै विजयपुरतर्फ बग्ने गरेको भए पनि भू–परिवर्तनपछि यसको बहाव महेन्द्रपुल–महतगौंडा–दोबिल्लातर्फ मोडिएको थियो। यही परिवर्तनका कारण फेवा, बेगनास, रुपा, गुँदे, न्यूरेनी, दिपाङ, खास्टे, मैदी र कमलपोखरी जस्ता तालहरूको निर्माण भएको मानिन्छ। यस आधारमा वैज्ञानिक रूपमा सेतीलाई पोखराका तालहरूको ‘जननी’ मानिन्छ।

धार्मिक आस्था र सांस्कृतिक महत्व

चुनढुंगाको प्रभावका कारण सेतीको पानी सेतो देखिने भएकाले यसको नाम ‘सेती’ रहन गएको मानिन्छ। धार्मिक ग्रन्थहरूमा यसलाई ‘सेती गंगा’ भनिएको छ।

सेतीगंगा संरक्षण तथा विकास समितिका संस्थापक संयोजक विश्वप्रकाश लामिछानेका अनुसार स्कन्द पुराणमा सेतीलाई अत्यन्त पवित्र नदीका रूपमा वर्णन गरिएको छ। धार्मिक विश्वासअनुसार यहाँ स्नान वा अनुष्ठान गर्दा अन्य तीर्थसरह पुण्य प्राप्त हुने मान्यता छ।

यही कारणले पोखरामा अन्त्येष्टि, अस्तु विसर्जन, माघेस्नान, ठूली एकादशी र श्रावण महिनाका धार्मिक गतिविधिमा सेती नदीको विशेष महत्व रहँदै आएको छ। तर यति पवित्र मानिने नदीमा अहिले ढल मिसिनु वातावरणीय र सामाजिक चुनौती बनेको छ।

साहसिक पर्यटनको दुर्लभ सम्भावना

विश्वका अधिकांश सहरमा नदी सतहमा बग्ने भए पनि पोखरामा सेती गहिरो खोंचभित्र बग्छ। यही विशेषताले यसलाई विश्वकै दुर्लभ प्राकृतिक गर्जमध्ये एक बनाएको छ।

केआई सिंह पुल, महेन्द्रपुल र पृथ्वीचोक क्षेत्रबाट देखिने दृश्य पर्यटकका लागि आकर्षक हुन सक्ने भए पनि अहिले ती स्थान पर्याप्त व्यवस्थापन अभावमा उपयोग हुन सकेका छैनन्।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार सेती नदीलाई पर्यटनको नयाँ ‘मास्टर प्रोडक्ट’ बनाउने सम्भावना छ।

उनका अनुसार यहाँ निम्न गतिविधि विकास गर्न सकिन्छ:  

१. बञ्जी, क्यानोइङ, र्‍याफ्टिङ, रक क्लाइम्बिङ, स्काई साइकलिङ

२. धार्मिक करिडोर र रिभरसाइड संरचना

३. ग्लास ब्रिज र भ्यु डेक

४. केआई सिंह पुलदेखि दोबिल्लासम्म पदमार्ग

५. कृत्रिम ताल तथा जल पर्यटन

६. करिडोरसँगै होटल, रिसोर्ट र व्यवसाय विस्तार

उनको अनुमानमा करिब ५ अर्ब रुपैयाँ लगानीसहित गुरुयोजना लागू गर्न सके वार्षिक १० लाख थप पर्यटक आकर्षित गर्न सकिन्छ।

किन रोकियो ‘रामताल’ योजना ?

२०७४ सालमा तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमा रामघाट क्षेत्रमा ‘रामताल’ परियोजना अघि बढाइएको थियो। पिपिपी मोडलमा सञ्चालन गर्ने प्रस्ताव अन्तर्गत ड्याम निर्माण, झोलुङ्गे पुल र जल गतिविधिको योजना थियो।

पूर्व इन्जिनियर महेन्द्र गोदारका अनुसार डेढ अर्ब लगानी अनुमान गरिएको उक्त परियोजना राजनीतिक विवाद र स्वार्थ समूहको विरोधका कारण कार्यान्वयनमा जान सकेन। अख्तियारसम्म मुद्दा पुगेपछि अन्ततः वातावरण नै अनुकूल बन्न सकेन।

निजी क्षेत्रको चासो तर नीतिगत चुनौती

पोखरा–१७ रातोपैह्रामा सञ्चालनमा रहेको ‘बञ्जी नेपाल’ सेती क्षेत्रको सम्भावनाको उदाहरण मानिन्छ।

प्रबन्ध निर्देशक मीना बराल लामाका अनुसार विशेष गरी भारतीय पर्यटकका लागि सेतीको बञ्जी आकर्षणको केन्द्र बन्दै गएको छ। तर वन, वातावरण र नीतिगत जटिलताले थप लगानी गर्न निजी क्षेत्र अझै हिच्किचाइरहेको उनको भनाइ छ।

पर्यटन विस्तारको आधार बन्न सक्छ सेती

नेपालमा वार्षिक करिब ११ लाख ६३ हजार पर्यटक आउने र तीमध्ये ६० प्रतिशत पोखरा पुग्ने तथ्याङ्क छ। पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाका अनुसार २०२६ सम्म पोखरामा वार्षिक १५ लाख पर्यटक पुग्ने अनुमान गरिएको छ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेका अनुसार सेती करिडोर र साहसिक गतिविधि व्यवस्थित गर्न सके पर्यटकको औसत बसाइ कम्तीमा एक दिन बढाउन सकिन्छ।

संरक्षण र विकासबीच सन्तुलनको आवश्यकता

फेवाताल संरक्षणमा नियमित बजेट विनियोजन भए पनि सेती नदी अझै योजनाबद्ध प्राथमिकतामा पर्न सकेको छैन। गण्डकी प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले भने आगामी दिनमा सम्भाव्यता अध्ययन गरी योजना अघि बढाउने प्रतिबद्धता जनाएकी छन्।

सेती नदी केवल पानीको बहाव होइन, यो पोखराको इतिहास, संस्कृति, भूगोल र भविष्यसँग जोडिएको सम्पदा हो। फेवातालको सतहभन्दा तल लुकेको यही सम्भावनालाई पर्यटन, संरक्षण र योजनाबद्ध विकासमार्फत उजागर गर्न सके पोखराको पर्यटनले नयाँ उचाइ लिन सक्छ।

प्रकाशित: १५ असार २०८३ १५:१४ सोमबार