ताप्लेजुङमा लामखुट्टेको बासस्थान ‘खोज र नष्ट’ अभियानलाई प्रभावकारी रूपले अगाडि बढाइने भएको छ। स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र ताप्लेजुङ जिल्ला अस्पतालको समन्वयमा ‘खोज र नष्ट गर’ अभियान अगाडि बढाइने भएको हो।
बुधबार जिल्ला महामारी तथा विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको अध्यक्षतामा भएको सरोकारवालाको अन्तरक्रियाबाट डेंगी सङ्क्रमणको जोखिम कम गर्न लामखुट्टेको बासस्थान खोजेर नष्ट गर्ने अभियानलाई सबैले प्राथमिकता दिएर अगाडि बढाउने निष्कर्ष निकालिएको छ।
प्रमुख जिल्ला अधिकारी शर्माले डेंगीको जोखिम देशभर फैलिसकेकाले अब जोखिम छैन भनेर सावधानीका उपाय अपनाउन कन्जुस्याइँ गर्न नहुने बताए। उनले लामखुट्टेको बासस्थान ‘खोज र नष्ट’ अभियान कुनै एक व्यक्ति वा निकायको मात्र जिम्मेवारी नभएर समुदायका प्रत्येक सदस्यदेखि सामाजिक जीवनमा सक्रिय सबै सरोकारवालाको उत्तिकै भूमिका हुने बताए।
स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कुलबहादुर पौडेलले लामखुट्टेको प्रजनन वा वृद्धि हुने स्थान वा वस्तु पहिचान गरेर नष्ट गर्दा डेंगीसहितका सङ्क्रमणको जोखिमबाट बच्न सकिने बताए। ‘त्यसैले खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउन सामूहिक जिम्मेवारी खोजिएको हो,’ पौडेलले भने।
अन्तरक्रियाबाट हप्ताको एक दिन र एक दिनको एक घण्टा मात्र भए पनि समुदायको सहभागितामा लामखुट्टेको बासस्थान तथा लार्भा नष्ट गर्ने अभियान चलाउन उपयुक्त हुने सुझाव आएको छ। खोज र नष्ट अभियानले लामखुट्टेको जीवनचक्रको मूल स्रोत नष्ट गरेर डेंगी फैलिनुअघि नै रोकथाम गर्न मद्दत गर्ने स्वास्थ्य कार्यालयका प्रमुख पौडेल बताउँछन्।
तर खोज र नष्ट अभियानलाई नियमित र कम्तिमा हप्ताको एकपटक गर्न अनिवार्य हुने उनको भनाइ छ। प्रत्येक घरका सदस्यले आफ्नो घर र टोलमा, सम्बन्धित कार्यालय, उद्योग वा व्यवसाय सञ्चालकले आफ्नो कार्यस्थलमा, टोलवासी, स्थानीय तहका जनप्रतिनिधि, अगुवा, नगर प्रहरी, सुरक्षाकर्मी, स्थानीय क्लब, सामुदायिक संस्था, स्वास्थ्य कार्यकर्ता र स्वयंसेवकले आफ्नो टोल वा समुदायमा, शिक्षक र विद्यार्थीले आफ्नो शिक्षण संस्था वा विद्यालय आसपासमा लामखुट्टे खोज र नष्ट गर अभियान चलाउन सकिने स्वास्थ्य कार्यालयले बताएको छ।
पानी भण्डारण गर्ने भाँडा वा सामग्री, फ्रिज, कुलर वा सजावटी सामग्रीका लागि पानी राख्ने ट्रे, घरभित्र प्रयोग हुने सामग्री, केरा, सुपारीजस्ता बोटको पातको काप, रूखको खोँच, आकाशेपानी जम्ने घरको छत, छानाबाट पानी बग्ने गटर (मगरा), अटोमोबाइल, वर्कशप र ग्यारेजमा राखिएका टायरजस्ता व्यवसायिक क्षेत्रमा लामखुट्टेको प्रजनन वा वृद्धिको सम्भावना बढी हुन्छ। यस्ता क्षेत्रलाई सुरक्षित राख्ने र यस्ता क्षेत्रमा कम्तिमा सात दिनमा एकपटक सफाइ गरेर लामखुट्टे खोज र नष्ट गर अभियान चलाउँदा जोखिम कम हुने अन्तरक्रिया कार्यक्रमबाट औँल्याइएको छ।
कार्यक्रममा तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंहबहादुर विष्ट, डिभिजन वन प्रमुख नथुनीप्रसाद गोहिवार यादव, दुर्गादल गुल्मका गुल्मपति उमेश खड्का, जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजङ्घाका गुल्मपति (सशस्त्र डिएसपी) प्रमोदप्रकाश पाठक, प्रमुख अनुसन्धान अधिकृत श्रीभजन रायसहित जिल्लास्थित सरकारी र सार्वजनिक निकायका कार्यालयका प्रमुख, सङ्घसंस्थाका अगुवाको उपस्थिति थियो।
प्रकाशित: १४ श्रावण २०८२ १७:०७ बुधबार