लगातारको वर्षापछि पहिरो र हिलोका कारण तीन दिनदेखि अवरुद्ध रहेको खोटाङको साकेला गाउँपालिका–१ हरेलोडाँडा–साप्सु खोला सडकखण्ड दुई दिनको सामूहिक श्रमदानपछि पुनः सञ्चालनमा आएको छ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र स्थानीयवासीले श्रमदान गरी सडक मर्मत गरेका हुन्। मर्मत कार्यमा गाउँपालिकाको ब्याकहो लोडर, ट्याक्टरलगायत उपकरण तथा स्थानीयले निःशुल्क उपलब्ध गराएको ढुंगा, माटो र ग्राभेलसमेत प्रयोग गरिएको थियो।
गाउँपालिका अध्यक्ष राईले साना पूर्वाधार मर्मतका लागि माथिल्लो तहको बजेट पर्खिनुभन्दा स्थानीय स्रोत–साधन र श्रमदान परिचालन गर्दा छिटो परिणाम प्राप्त हुने अनुभव रहेको बताए। गाउँपालिकाले दुई वर्षदेखि सञ्चालन गर्दै आएको ‘साकेला श्रम अभियान’मार्फत विपद्का कारण क्षति पुगेका सडक तथा अन्य पूर्वाधारको तत्काल मर्मत गर्दै आएको जनाएको छ।
प्रकाशित: १८ श्रावण २०८३ २०:१३ सोमबार