समाज

‘साकेला श्रम अभियान’ले श्रम संस्कार स्थापित हुँदै

साकेलाथानको सरसफाइ गर्दै अध्यक्ष राई। तस्बिरः महेश्वर

खोटाङको साकेला गाउँपालिकाले सञ्चालन गरेको श्रमदान कर्मले संस्कारको रूप लिँदै गएको छ। विकास र सुशासनका लागि श्रम अनिवार्य भन्ने उद्देश्यका साथ दुई वर्षदेखि सञ्चालनमा ल्याइएको श्रमदान अभियानलाई व्यवहारमा उतार्न श्रम संस्कार अनिवार्य सर्त मान्दै अघि बढेको गाउँपालिकाले तमाम गाउँवासीलाई श्रम सँस्कृतिमा अभ्यस्त गराउँदै लगेको छ।

पछिल्लो समय साकेलाले सञ्चालन गरेको ‘साकेला श्रम अभियान’अन्तर्गतको एउटा सानो नमूना गाउँपालिका केन्द्र परिसरको स्वरुप परिवर्तनले प्रमाणित गरेको छ। गाउँमुकाम मानेभञ्ज्याङस्थित पालिका परिसरमा अहिले क्रिसमस ट्री, धुपी, सयपत्री, मखमली, बेली, चमेली, गोदावरीलगायत विभिन्न प्रजातिका फूलले छपक्कै ढाकेको छ। बिरुवा रोपण, गोडमेल र संरक्षणसँगै फोहोर व्यवस्थापनको कामलाई कार्यतालिकाभित्रै राखेका जनप्रतिनिधि र कर्मचारीले अस्तीभन्दा हिजो र हिजोभन्दा आज गाउँपालिका परिसर आकर्षक, झकिझाउ र सुन्दर बनाउँदै लगेको छ।

गाउँपालिका अध्यक्ष रविप्रकाश राईले आफ्नै अगुवाइमा विभिन्न समयमा विभिन्न विषयगत शाखा कर्मचारी कार्यालयको जिम्मेवारीबाट समय निकालेर श्रममा खट्ने खटाउउने गर्दै आएका छन्। बिरुवा रोप्ने, गोडमेल गर्ने, परिसर सफा गर्ने काममा राईले आफूसँगै अन्य जनप्रतिनिधि र कर्मचारीलाई प्रत्यक्ष सहभागी गराउने गरेका छन्।

पछिल्ला दिनमा श्रमलाई कुनै औपचारिक कार्यक्रमभन्दा दैनिक कार्यतालिकाको हिस्सा बनाउँदै आएको गाउँपालिकाले कार्यालय परिसरको सौन्दर्यीकरणदेखि सार्वजनिक स्थलको सरसफाइ, भत्के बिग्रेका सडक, नाला तथा पूर्वाधार संरचना मर्मत संभार र संरक्षण, वातावरण बचाउका काम र फोहोर व्यवस्थापनसम्ममा जनप्रतिनिधि र कर्मचारी सहभागी हुने अभ्यासले साकेलाको  कार्यशैली अन्य स्थानीय तहको भन्दा धेरै फरक देखिन थालेको छ।

साकेलाको विशेषता भनेकै श्रमका लागि छुट्टै जनशक्ति खोज्नेभन्दा विभिन्न सामाजिक र कार्यालयगत जिम्मेवारीमा रहेकै व्यक्तिहरू स्वयं श्रममा उत्रिनु हो। गाउँपालिका अध्यक्षदेखि वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यसम्म जनप्रतिनिधि तथाप्रमुख प्रशासकीय अधिकृतदेखि कार्यालय सहयोगीसम्म कर्मचारी जनशक्ति हातमा कुटो कोदालो, झम्पल, हसिया र खुकुरी, बेल्चाजस्ता औजार उपकरण लिएर श्रमदानमा खट्ने अभ्यासले साकेला श्रम संस्कार स्थापित गर्ने पालिकाको परिचय बनाउँदै गएको छ। यो अभ्यासले सरकारी सेवामा सेवाभाव, अनुशासनसँगै श्रमदानको सामूहिक जिम्मेवारी विकास गर्दै लगेको भान हुन्छ।

‘कार्यालय हाम्रो हो, यसको स्वच्छता र सुन्दरता कायम राख्ने जिम्मेवारी पनि हाम्रै हो,’ गाउँपालिका अध्यक्ष राई भन्छन्, ‘कार्यालय परिसर हरियाली, सफा र सुन्दर बनाउने जिम्मा पनि त हाम्रै हुनुपर्छ।’ अध्यक्ष राईले गाउँपालिका परिसरको सरसफाइ र सौन्दर्यकरणलाई सामान्य सजावट मात्र नमानी सभ्य कार्यसँस्कृति तथा वातावरण संरक्षणसँग पनि जोडेर हेर्नुपर्ने बताए।

‘हामीले श्रमलाई भाषणमा होइन, व्यवहारमा स्थापित गर्न खोजिरहेका छौँ, कार्यालय हाम्रो हो, सार्वजनिक सम्पत्ति पनि हाम्रै हो, त्यसैले यसको स्वच्छता, संरक्षण तथा सुन्दरता कायम गर्नु पनि हाम्रै साझा जिम्मेवारी हो,’ अध्यक्ष राईले भने, ‘असल संस्कार र सरसफाइयुक्त जीवनशैलीको सुरुवात हामी आफैँबाट हुनुपर्छ।’

‘साकेला श्रम अभियानलाई कुनै एक दिनको कार्यक्रम नभई निरन्तर चल्ने सामाजिक अभियान बनाउन खोजेको अध्यक्ष राईले बताए। श्रमको सम्मान गर्ने, आफ्नो ठाउँ आफैँ बनाउने र सार्वजनिक सम्पत्तिको संरक्षणलाई साझा दायित्व बनाउने संस्कारको विकास गर्नु नै साकेला श्रम अभियानको उद्देश्य रहेको अध्यक्ष राईले बताए।

फलफूल र बोटविरुवाले भरिभराउ भएर चिटिक्क सिँगारिएको परिसरले मानेभन्ज्याङलाई धपक्क बालेको छ। सुन्दर, सफा, स्वच्छ वातावरण र हरियालीयुक्त परिसरले जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न उर्जा र सृजनसिलता बढाउने गरेको अध्यक्ष राईको अनुभव छ।

साकेलाको पछिल्लो अभ्यासले स्थानीय सरकार केवल बजेट कार्यान्वयन मात्र गर्ने सँस्था नभई आवश्यक पर्दा आफु अनुकूल नयाँ नीति बनाएर कार्यान्वयन गर्ने ल्याकत राख्ने अधिकार सम्पन्न सरकार पनि हो भन्ने उनको बुझाइ छ। श्रमको जगमा उभिएर देशका अन्य स्थानीय तहभन्दा पृथक र नयाँ काम साकेलाले गरेर उदाहरण प्रस्तुत गरेको राईको भनाइ छ।

प्रकाशित: ६ भाद्र २०८३ १३:३७ शनिबार