समाज

अझै खुलेन गाउँपालिकाको ताला : सेवाप्रवाह प्रभावित

जुम्लाको सिंजा गाउँपालिकामा बुधबार लगाइएको ताला अझै खुलेको छैन। गाउँपालिकाको बजेटप्रति असहमति जनाएर चार वडा अध्यक्षले तालाबन्दी गरेका हुन्।

६ वडा भएको गाउँपालिकामा १, ४, ५ र ६ का वडाध्यक्षले बजेटप्रति असहमति राखेका छन्। तीन दिनसम्म ताला नखुल्दा नियमित सेवाप्रवाह प्रभावित भएको छ। ताला खोल्ने प्रयास नगरेको भन्दै गाउँपालिकामाथि लोकतन्त्रमा प्रहार गरेको आरोप छ। ताला खोल्न गाउँपालिका तयार छैन।  

प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल काठमाडौंमा रहेको र आइतबारसम्म जुम्ला आउने बताए। मौसम खराबले उनी आज आउन सकेनन्। असन्तुष्ट वडाध्यक्षले माग सम्बोधन नहुँदासम्म ताला नखोल्ने अडान राखेका छन्, जसले नागरिकको सेवा रोकिएको छ।  

कांग्रेस, एमाले, नेमकिपा, एकीकृत समाजवादी र राप्रपासहितका दलहरू बजेटको विपक्षमा एकजुट भई संघर्ष समिति गठन गरेका छन्। गोविन्द शर्मा संयोजक रहेको समितिले ९ बुँदे माग राखेको छ। गाउँपालिका अध्यक्ष धितालले बजेट प्रक्रियामा गएकोले छलफल नहुने बताए।  

संघर्ष समितिले विशेष गाउँसभा बोलाएर बजेट परिमार्जन गर्नुपर्ने, नराकोट र रनुखानाको पुलमा बजेट खर्च नगर्ने, सडकको बजेट फिर्ता गर्नुपर्ने, सडक ग्राभेलका लागि १४ लाख रकम कायम राख्नुपर्ने माग राखेका छन्। गत वर्षको अल्या रकम उपाध्यक्ष सितली रोकायाको कोषमा राख्न नहुने, सबै वडालाई समान बजेट दिनुपर्ने, माओवादी निकट नेताले काममा बाधा गर्न नहुने, छानबिन गर्नुपर्ने, स्वास्थ्य र शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने र सवारीसाधनको इन्धन टेन्डर प्रक्रियाबाट गर्नुपर्ने माग पनि छन्।  

जुम्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले गाउँपालिका र असन्तुष्ट पक्षबिच वार्ताबाट ताला खोल्नुपर्ने बताए। उनले भने, ‘अध्यक्षसँग कुराकानीमा छलफल र संवादबाट सहमति खोजिन्छ। सुरक्षा निकायबाट हस्तक्षेप हुँदैन।’

प्रकाशित: १३ भाद्र २०८२ २०:४३ शुक्रबार