जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लाभित्र रहेका पक्की तथा कच्ची सडकमा सञ्चालन हुने बस, मिनीबस, हाइस, जीप र सुमोका लागि भाडादर निर्धारण गरी कार्यान्वयनमा ल्याउन कोशी प्रदेश सरकारसमक्ष सिफारिस गरेको छ।
निर्धारण भइ कोशी प्रदेश सरकारसमक्ष सिफारिस भएको भाडादर बढी भएको भन्दै भाडादर सम्बन्धी निर्णयको आलोचना भने हुन थालेको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार जिल्लाका ९ पालिका र सदरमुकाम फुङलिङसम्मको भाडादर निर्धारण भएको हो।
निर्धारण भएको भाडादर अनुसार फुङलिङदेखि सिरिजङ्गाको तेल्लोकसम्मको भाडादर १ हजार २ सय, पेदाङ याङपाङसम्मको १ हजार ४ सय, सिनाम स्कुल डाँडा र खाम्दिनेसम्मको समान १ हजार, सिकैचा वडा कार्यालयसम्मको ८ सय, पेदाङ राष्ट्रिय माविसम्मको १ हजार २ सय, मामाङ्खे र खेवाङसम्मको समान १ हजार ५ सय र याम्फुदिनसम्मको २ हजार रुपैयाँ तोकिएको छ।
पाथीभरा याङवरक अन्तर्गत नाङखोल्याङसम्मको २ सय ५०, थेचम्बु र तिरिङ्गेसम्मको समान ४ सय ५०, डुम्रिसे र थुम्बेदिनको समान ८ सय ५० तथा चाक्सिबोटेसम्मको ७ सय ५० रुपैयाँ भाडादर तोकिएको छ। सिदिङ्वा कालिखोला मिचिङसम्मको १ हजार ७ सय, सादेवासम्मको १ हजार १ सय, आङखोप र लिम्बूदिनसम्मको समान ८ सय, साब्लाखुको ७ सय, मेहेलेको १ हजार र सुरुम्खिमसम्मको १ हजार ३ सय रुपैयाँ भाडादर तोकिएको छ।
फुङलिङदेखि आठराई त्रिबेणी गाउँपालिकाको केन्द्र हाङपाङ तथा वडा नं २ फुलवारीसम्मको समान ६ सय, निघुरादिनको ८ सय, चाँगे वडा नं ४ छातेढुङ्गासम्मको ७ सय र चाँगे वडा नं ५ सम्मको ५ सय रुपैयाँ भाडादर तोकिएको छ। मिक्वाखोलाको साँवासम्मको ९ सय, खोक्लिङ डाँडागाउँसम्मको ५ सय, लिवाङसम्मको ७ सय, पापुङसम्मको १ हजार २ सय र पापुङ सिम्बुकसम्मको १ हजार ३ सय रुपैयाँ भाडादर तोकिएको प्रशासन कार्यालयले जनाएको छ। फुङलिङदेखि काफ्लेपाटीसम्मको ४ सय ५०, फावाखोलासम्मको ६ सय, दोभान र हान्द्रुङसम्मको समान २ सय ५०, फुरुम्बु मयामसम्मको ४ सय र मित्लुङसम्मको ३ सय रुपैयाँ भाडादर तोकिएको छ।
फुङलिङबाट फक्ताङलुङको सिँवासम्मको ४ सय ५०, खेजेनिमसम्मको ७ सय, सावादिनसम्मको ६ सय, इखाबुको १ हजार, तापेथोकसम्मको ९ सय, लेलेपसम्मको १ हजार २ सय, इलाडाँडासम्मको १ हजार ५ सय र तावासम्मको ७ सय रुपैयाँ भाडादर तोकिएको छ। मेरिङदेनको सान्थाक्रासम्मको ६ सय, लिङतेपसम्मको ७ सय, थुकिमा सक्रान्ते र नाल्बुसम्मको समान ९ सय, थिङ्लाबु ओख्राबुसम्मको ७ सय, नाल्बु चाँगासम्मको १ हजार २ सय र पान्दोलुङसम्मको १ हजार रुपैयाँ भाडादर निर्धारण भएको छ।
मैवाखोलाको तेल्लाबुङसम्मको ६ सय, ठोट्ने र लेकुवासम्मको ७ सय, साँघु र फाकुम्बाको पार्टीडाँडासम्मको समान ८ सय तथा ताम्राङ र फाकुम्बा साङ्लुप्पासम्मको समान ९ सय रुपैयाँ भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बैठकले अटो र तीनचक्के सवारी साधनको भाडादर सहित सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहले गर्ने निर्णय समेत गरेको छ भने भाडादर निर्धारण भएका सडकमा यातायात सञ्चालन प्रयोजनार्थ उक्त सडकलाई अस्थायी बाटो कायम गर्न कोशी प्रदेश यातायात समितिसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ।
भाडादर निर्धारण सम्बन्धी निर्णयमा मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले भने आपत्ति जनाएका छन्। आफूहरूले यसअघि सम्बन्धित सरोकारवालाको बैठकबाट पालिका क्षेत्रको भाडादर वैज्ञानिक हिसावले निर्धारण गरिसकेको भन्दै सो भन्दा बढी हुने गरी भाडादर निर्धारण गरेको भन्दै उनले आलोचना गरेका हुन्।
मैवाखोलाले गत असोज २० गते स्थानीय सरोकारवालाको उपस्थितिमा पालिकाका विभिन्न क्षेत्रबाट धरान तथा फुङलिङसम्मको भाडादर निर्धारण गरेको थियो। निर्धारित भाडादर अनुसार साँघुबाट फुङलिङसम्मको ७ सय ५०, वडा नं २ देखि फुङलिङसम्मको ६ सय ५०, वडा नं १ देखि फुङलिङसम्मको ५ सय ५०, ताम्राङदेखि फुङलिङसम्मको ८ सय ५० र वडा नं ५ वडा कार्यालय देखि फुङलिङसम्मको ७ सय ५० रुपैयाँ तोकिएको थियो।
प्रमुख जिल्ला अधिकारी दाहालले भने एकाध क्षेत्रमा नामका विषयले केहि तलमाथि परे पनि सर्वपक्षीय छलफल र सडकको अवस्था तथा दूरी समेतलाई आधार मानेर भाडादर निर्धारण गरिएको जानकारी दिएका छन्।
प्रकाशित: १७ कार्तिक २०८३ १४:०९ मंगलबार