जेन-जी आन्दोलनको क्रममा तोडफोड र आगजनीपछि रोकिएको सदरमुकाम त्रियुगा नगरपालिकाको काम सोमबारदेखि सुचारु गर्ने तयारी भईरहेको छ । आन्दोलनकारीले कार्यालय भवनमा तोडफोड र आगजनी गरेपछि भदौ २३ गते यता ठप्प कामकाज सुचारु गर्न लागेको हो ।
शुक्रबार संविधान दिवसमा नगरपालिकाले साईनबोर्ड राख्दै राष्ट्रिय झण्डा फहराएको थियो । शनिबार पनि बिहानदेखि ध्वस्त फर्निचर र झ्याल ढोका मर्मत गर्ने काम गरेको नगरपालिका कार्यालय सोमबारदेखि सेवा सुचारु गर्ने गरी काम भईरहेको नगरप्रमुख बसन्त बस्नेतले बताए ।
उनका अनुसार आईतबार पनि सार्वजनिक बिदा परेकाले सोमबारदेखि सेवा सुचारु गर्न मिल्नेगरी मर्मत कार्य भईरहेको छ । आन्दोलनकारीको आगजनी र तोडफोडका कारण नगरपालिका भवन मात्र नभएर महत्वपूर्ण कागजात र औजार उपकरण तथा जिन्सी सामग्री ध्वस्त भएको छ ।
सबभन्दा बढी न्यायिक समितिको भौतिक वस्तुसँगै सबै अभिलेखहरु नष्ट भएको छ । नगरपालिका भवनसँग जोडिएको सडकतर्फ फर्केको भवनको माथिल्लो तलामा रहेको न्यायिक समितिका झ्यालढोका फुटाएर फर्निचर, दराज, टेबल, कुर्सीलगायत सम्पूर्ण अभिलेखका कागजात सडकमा थुपारेर आगो लगाइएको थियो ।
प्रकाशित: ४ आश्विन २०८२ १९:५५ शनिबार