प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बिहीबार दिउँसो करिब साढे २ बजे ५–६ जना व्यक्ति अनुनय गरिरहेका थिए। माथिल्लो त्रिशुली–१ मा आफ्नो भाइ हराइरहेकाले खोजिदिन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कमलप्रसाद पाण्डेलाई अनुनय गरिरहेका थिए उत्तम थापा। चार दिनअघि मात्रै रसुवा हाजिर भएका पाण्डेले खोजीमा कुनै कसर बाँकी नराख्ने भन्दै थापालाई सान्त्वना दिए।
त्यस्तै प्रभु बैंक टिमुरेमा कार्यरत भाइ किशोर गौली हराइरहेकाले त्यहाँको अवस्था आफैंले हेर्न पाए हुन्थ्यो भन्दै उनका दाइ र साथीहरू प्रजिअ पाण्डेलाई भेट्न पुगेका थिए। किशोर पैसा राख्ने भल्टको जिम्मेवारीमा रहेको र कार्यालय समयअगाडि नै बाढी आएकाले भागेर कतै गए कि भन्ने झिनो आशा दाइ र साथीमा थियो। त्यसैले खोजी तीव्र पार्न उनीहरूले आग्रह गरिरहेका थिए। बाढीमा आफ्नो अस्तित्वसमेत गुमाएको टिमुरेमा उद्धारकर्मी पठाउन सकिने अवस्था नै छैन भन्दै प्रजिअसँग पनि सम्झाउनुको विकल्प थिएन।
अन्तिममा किशोरका दाइ र साथीहरूले सोधे– परिवार प्रतीक्षा गरेर बसिरहेका छन्, हामी के सन्देश लिएर जाऔं त सर ? टिमुरे क्षेत्रको सबै परिस्थिति बताएर प्रजिअले आफू हरेक समय फोन उठाउन तयार रहेकाले निजी नम्बर पनि लिएर जान आग्रह गरेपछि उनीहरू फर्किए। कार्यालयमा तारन्तार फोनको घण्टी बजिरहेको थियो।
करिब साढे ३ बजे प्रजिअ पाण्डेलाई एउटा फोन आयो। त्यो फोन पनि बाढीमा हराइरहेका व्यक्तिको खोजीका लागि थियो। फोन गर्नेले रसुवा नाकाबाट आफ्नो मान्छे हराइरहेको तर खोजी नभएको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए।
प्रजिअ पाण्डेले भनिरहेका थिए– टिमुरे र रसुवागढी क्षेत्रमा २० वर्ष बसेको मान्छेले पनि कहाँ के थियो भन्न नसक्ने गरी बाढीले सोहोरेको छ, हजुरको मान्छे सकेसम्म खोजिरहेका छौं, आफ्नो मान्छे गुमाउनुभएको छ, तपाईंको आक्रोशप्रति कुनै गुनासो छैन।
प्रजिअको कार्यकक्षमा यसरी खोजीका लागि अनुरोध गर्न आउने धेरै छन्। बाढीको सन्नाटा सिंगो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो यकिन छैन तर धुन्चेभन्दा माथि स्याफ्रुबेंसी, लिङलिङ, टिमुरे, घट्ठे खोला, रसुवागढीमा सडक र बस्तीको कुनै अस्तित्व छैन।
स्याफ्रुबेंसीतर्फ जाने सडकसहितका सबै संरचना खण्डहर बनेका छन्। स्याफ्रुबेंसी बजारमा कति घर थिए भन्ने यकिन तथ्यांक संकलन भैसकेको छैन। रसुवाको सिँचाइ कार्यालयमा ११ वर्षदेखि चालकको काम गरिरहेका देवेन्द्र केसीले कति मान्छे बेपत्ता छन् भनेर आफूले सोच्न पनि नसकेको बताए। ‘भन्सार एजेन्ट, स्याफु्रबेसीदेखि टिमुरेसम्मका होटेल र कार्यालयमा कार्यरत कामदार र कर्मचारी, चाडवाड आउन लागेकाले सामान बोक्ने गाडीका चालक यतै थिए। ती कोही बाँकी छैनन्। एक हिसाबले चीनसँग सम्पर्क गर्ने एक पुस्ता समाप्त भएको छ,’ केसीले भने।
उनका अनुसार केरुङ जाने अनुमति रसुवाबासीलाई मात्रै छ र त्यता गएका पनि अधिकांश बेपत्ता छन्।
रसुवामै रेडक्रसको सवारी चलाइरहेका लाजेन घलेले अधिकांश साथी बाढीमा गुमाएका छन्। घलेले संख्या ठ्याक्कै भन्न सकेनन तर रसुवाका मात्रै करिब २ सय चालक बेपत्ता भएको उनको अनुमान छ। ‘ठुलो भार्खु र सानो भार्खुका मात्रै ३६ जना चालक बेपत्ता छन्। चारजना धुन्चेका अनि सोले, भिमाली थारे ढुंगातिरका १० जना बेपत्ता छन्। उनीहरू त मैले चिनेका मात्रै भए। अहिले यो जिल्लाका लगभग ८० प्रतिशत सवारी चालक छैनन्,’ घलेले भने।
उनका अनुसार उद्धारमा परिचालन गरिएका एस्काभेटर चलाउने मानिस रसुवामा पाउनै मुस्किल छ।
रसुवामा परिवार अथवा आफन्तभित्र शोक नपरेको घर भेट्नै मुस्किल छ। चीनसँग सबै प्रकारको व्यापार, व्यवसाय गर्ने लगभग हरेक गाउँका मान्छे थिए। ती सबै बेपत्ता छन्। घलेको अनुभवमा रसुवामा अब २५ देखि ३५ वर्ष उमेर समूहको युवा जनशक्ति भेटाउनै मुस्किल छ। अब रसुवामा व्यापार र व्यसाय कसरी सञ्चालन हुन्छ भन्ने चिन्ता उनमा छ।
रसुवामा कति मानवीय क्षति भयो यकिन छैन। तथ्यांक संकलन गर्न स्थानीय तहका जनप्रतिनिधि नै बेपत्ता छन्। गोसाइँकुण्ड गाउँपालिकाको कार्यालय नै बाढीले बगाएको छ।
गाउँपालिका उपप्रमुख, वडा नंम्बर २ र ५ का अध्यक्ष बेपत्ता छन्। एउटै पालिकाका एक सय जनाभन्दा बढी बेपत्ता भएका छन्। तर सबै क्षेत्रबाट तथ्यांक नआएसम्म बेपत्ताको संख्या यकिन भन्न सकिने अवस्था नभएको प्रजिअ पाण्डेले बताए।
उनले भने, ‘एक हिसाबले रसुवामा सन्नाटा जस्तै छ। नागरिक कोही आफ्नो मान्छे खोजिदिनु भन्दै आउँछन्, कोही राहत भनेर आउँछन्। जाने सडक कतै छैन। हामीलाई सक्दैनौं भन्ने छुट छैन।’
धुन्चे बजारमा राहत ल्याइदिने र लिन आउनेको पनि बाक्लै उपस्थिति छ। आफन्त सम्पर्कमा नआउँदा राहत पनि फिक्का जस्तो लाग्छ। धुन्चेसम्म वैकल्पिक बाटोबाट सकस गरेर होस् अथवा हेलिकोप्टरमार्फत सबै पुगिरहेकै छन्। धुन्चे बजारबाट स्याफ्रुबेंसीतर्फ लागेपछि कुनै बस्ती देखिएन। उद्धार र खोजका लागि सुरक्षाकर्मी बिहानैबाट तयार हुन्छन्। सबैकोे जिम्मेवारी तोकिएको छ।
प्रकाशित: २७ भाद्र २०८३ ०७:२२ शनिबार