समाज

रसुवा बाढीले पातारासीका गर्भवतीको सहारा खोस्यो

जुम्लाको पातारासी गाउँपालिका-५ माथि लोर्‍पा गाउँकी २२ वर्षकी सृजना बुढा गर्भवती छिन्। उनको साथमा एक छोरा र एक छोरी पनि छन्। घरमा शारीरिक रुपमा असक्षम आमा छिन्। बुबा पहिले बितिसके। घरमा कमाउने ल्याउने पति दीपक रावत मात्रै थिए। उनी पनि रसुवा बाढीबाट सम्पर्कविहीन भए। दीपक घरज्वाइँ बसेका थिए।

उक्त गाउँकी २८ वर्षकी काली बुढा पनि गर्भवती छिन्। उनको साथमा ६ वर्षको छोरा छ। घरमै ६२ वर्षका ससुरा सुस्त श्रवणका छन्। घरको कमाइले छ महिना पनि राम्रोसँग खान पुग्दैन। पति भीमबहादुर बुढा अहिलेसम्म अज्ञात छन्।

उक्त गाउँपालिका-४ लाम्री गाउँका १८ वर्षीय सन्तोष बुढाले १६ वर्षकी मौसमी बुढालाई गत असारमा भगाएर टिकाटालो भएको थियो। ‘भदौको अन्तिममा घर फर्केर आउँछु, विवाह गर्छु,’ भनेर फोनमा कुराकानी भएको मौसमीले स्मरण गरिन्। रुँदै मौसमीले भनिन्, ‘घरमा पाँच जनाको परिवार छ, दुईवटा नन्द, सासू-ससुरा कसरी पालौं, मेरो जिन्दगी पनि बरबाद भयो।’

जुम्लाको पातारासी गाउँपालिका-४ लाम्री गाउँकी लालसिंह बोहोराकी पत्नी चन्द्रमाया दुई वर्षदेखि बिरामी छिन्। २१ महिनाकी छोरी र ६ महिनाको गर्भ हुर्काइरहेकी उनको गर्धनमा समस्या भएकोले शरीर चल्न छाडेपछि गत चैतमा लालसिंहले चन्द्रमायाको उपचार गराएका थिए। उनका अनुसार चिकित्सकले फेरि देखाउन भनेका छन्।

‘अब मेरो उपचार पनि कसले गरिदेला ?’ चन्द्रमायाको प्रश्न छ। चन्द्रमायाको उपचारमा सात लाख खर्च लागेको थियो। यो सबै सहकारीलगायतका संस्था र आफन्तबाट लिइएको ऋण हो। यही ऋण तिर्न पनि दाजुभाइ विदेश जाने तयारीमा थिए।

‘घरमा अन्य आम्दानी केही छैन। जडीबुटी खोज्ने र खेती किसानी गरेर हुने आम्दानीले परिवारको खर्च धान्नै कठिन छ, आफ्नो शरीर नचल्ने भएको छ,’ चन्द्रमायाले भनिन्, ‘उपचारमा लागेको ऋण एकातिर छ, घर चलाउने अर्को तनाव छ। दुई भाइ एकसाथ हराउँदा परिवारकै बिचल्ली छ।’

रसुवामा मजदुरी गर्दा एक महिना मात्र पुगेको थियो। दाजुभाइले ज्याला पाउने बेला भएकाले नुनतेल खर्च होला कि भन्ने आशमा बसेको परिवारमा एक्कासी बाढीमा हराएको खबरले चिन्तित छ।

चन्द्रमायाका अनुसार पति २७ वर्षीय लालसिंह र देवर २४ वर्षीय गणेश मलेसिया जाने भनेर गत साउनमा भिसा लगाउन काठमाडौं गएका थिए। काठमाडौं पुगेर भिसा लगाउने काम सकाए। उनीहरूको उडान दसैंलगत्तै थियो।

त्यो खबरले घरपरिवार उत्साहित थिए। विदेश गएर राम्रै कमाउलान् भन्ने आशसमेत थियो। उनका ससुराको निधन भएको सात वर्ष भयो। सहारा भनेकै ती दुईजना थिए। उनका जेठाजु रामबहादुर अलग्गै बस्छन्। रामबहादुर गाउँमै खेतीकिसानी गर्छन्। ५१ वर्षकी सासु चन्द्ररुपा पनि गाउँमै छिन्।

सहोदर दाजुभाइ वैदेशिक रोजगारीमा मलेसिया जाने तयारीमा थिए। भिसा लगाउनेबित्तिकै आमा चन्द्ररुपालाई फोन गरेर लालसिंहले भनेका थिए, ‘आमा भिसा लगायौं तर उडान ढिलो हुने जस्तो छ। उतिबेलासम्म रसुवा क्षेत्रमा गएर ज्यालादारी काममा लाग्छौं।’

पैसा कमाउन विदेश जाने खबरले उत्साहित चन्द्ररुपा रसुवातिर काम गर्न जाने कुराले निकै खुसी भइन्।

रसुवाको हाकु-२१६ स्थित सुरुङ नम्बर ३ मा मजदुरी गरिरहेका लालसिंह र गणेश भदौ १० गतेको भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन्। विदेश जाने तयारीमा रहेका दुई छोरा एकै पटक सम्पर्कविहीन हुँदा परिवारमा बिचल्ली भएको छ।

‘भिसा लगाएर घर फर्किनुभन्दा रसुवातिर गएर दुई महिना मजदुरी गर्छौं भन्दा दुई/चार पैसा कमाउलान् त भन्ने लागेको थियो। बाढीपछि अहिलेसम्म दुवै छोराको न सास भेटिएको छ न लास,’ चन्द्ररुपाले भनिन्।

यस्तै उक्त गाउँकी १९ वर्षकी कविता बुढा आफ्नो पति प्रकाश बुढाको बाटो हेरेर बसेकी छन्। २१ वर्षीय प्रकाश भदौ १० गतेदेखि सम्पर्कमा छैनन्। नौ महिनाकी छोरी अहिले बुवा खै भन्दै खोजिरहन्छिन्।

पढ्दा पढ्दै विवाह गरेकी कविताले भावुक हुँदै भनिन्, ‘दैवले कलिलो उमेरमै खुसी लुटिदियो।’

अर्को विष्णुमायालाई पति सुरेन्द्र बुढाले पनि भदौ ९ गते राति फोन गरेर परिवारको अवस्थाबारे जानकारी लिएका थिए। तीन वर्ष र ८ महिनाकी छोरीका बुवा सुरेन्द्रले काम गरेर परिवारको सुख फर्काउने लक्ष्य बोकेर त्यता गएको श्रीमती विष्णुमायाले सुनाइन्। भदौ १० गतेदेखि उनी पनि सम्पर्कविहीन छन्।

विष्णुमायाले भनिन्, ‘गत साउनमा गएका सुरेन्द्र यही वैशाखमा फर्किएका थिए। तीन महिना बसेर साउनमा काम गर्न रसुवा पुगेका सुरेन्द्र सम्पर्कविहीन भएका हुन्।’ पहिले महिनाको तीस हजार रुपैयाँ पठाएका थिए। ५७ वर्षीय आमा र दुई छोरीको जिम्मेवारी अहिले विष्णुमायाको काँधमा आइपुगेको छ। ‘गाह्रो छ,’ उनले भनिन्।

यस्तै आइतबार राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका प्रमुख कल्पना आचार्य (नेपाल)को अध्यक्षतामा भोटेकोशी बाढी प्रभावितका सम्बन्धमा बैठक बसेको छ। बैठकमा बाढी प्रभावित ६३ जनाको विस्तृत रूपमा छलफल भएको थियो। उक्त परिवारका सदस्यको सम्बन्धमा आयोगको अनुगमन टोलीले विस्तृत विवरण तयार गरेको छ।

यस्तै बाढी प्रभावित परिवारका सदस्यहरूलाई तत्काल मनोपरामर्श आवश्यकता देखिएको हुँदा चिन्ता र शोकमा भएका परिवारलाई मनोपरामर्श दिने, स्थानीय सरकारले मनोपरामर्शदाताहरूको सहयोग लिई तत्कालै मनोपरामर्श दिने काम गर्ने आयोगबाट पत्राचार गर्ने र प्रभावित सदस्यहरूलाई परिपूरण राहत सहयोगमा सम्बन्धित गाउँपालिका भएको हुँदा प्रभावित घरधुरी सर्वेक्षण गरी आवश्यक पहिचान गरी सरकारी तथा गैरसरकारी निकायको समन्वयमा सहकार्यमा परिपूरणका लागि काम गर्ने निर्णय गरिएको थियो।

उक्त बैठकमा पातारासी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले प्रभावित परिवारका सदस्यहरूलाई स्वास्थ्य र शिक्षा र रोजगारीको ग्यारेन्टी तीनवटै सरकारको प्राथमिकतामा पर्नुपर्ने बताइन्।

‘खाद्यान्नजस्ता राहत वितरणले केही हुँदैन। दिगो र सम्पर्कविहीनका गर्भवती श्रीमती, टुहुरा छोराछोरी, अपांग बुबाआमाका बारेमा सोच्नु अहिलेको आवश्यकता हो,’ उनले भनिन्। जिल्ला समन्वय अधिकारी रोमबहादुर महतले राज्यले ठोस र देखिने खालको राहत प्याकेज ल्याउनुपर्ने बताए। स्वरोजगारका सीपहरू, प्रविधिहरू दिनुपर्ने उनको भनाइ छ।

कार्यक्रममा स्थानीय सरकारसँग समन्वय, सहकार्यमा प्रभावित परिवारलाई टुहुरा छोराछोरी र अपांग बुबाआमाहरूलाई स्वास्थ्य, शिक्षा र दिगो विकासका काम गर्न तयार रहेकोमा सहभागीले जोड दिएका थिए।

प्रकाशित: १२ आश्विन २०८३ १२:२४ सोमबार