समाज

रसुवा बाढी : उदयपुरका इन्जिनियरसहित सात जना सम्पर्कविहीन

बुधबार रसुवामा आएको विनाशकारी बाढी क्षेत्रमा कार्यरत उदयपुरका एक इन्जिनियर महिलासहित सात जना सम्पर्कविहीन भएका छन्। 

जिल्ला प्रशासन कार्यालयले दिएको प्रारम्भिक जानकारीअनुसार रसुवा क्षेत्रमा विभिन्न काम गर्दै आएका उनीहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेमा त्रियुगा नगरपालिका १४ साउने पुङमाङका एकै गाउँका तीन युवा पनि परेका छन्। वडाध्यक्ष हिमराज मगरका अनुसार ३१ वर्षीय चन्द्रबहादुर माझी, २० वर्षीय मिलन माझी र १९ वर्षीय भेषराज माझी सम्पर्कविहीन भएका छन्।

त्यसैगरी त्रियुगा नगरपालिका ११ गाईघाटकी ऋचा निरौला, बगाहाका देवेन्द्र घिमिरे, त्रिनपा ९ गहिरुनका भोलाराज कार्की र लिमचुङबुङ ४ बलम्ताका सुमनसविर राई पनि सम्पर्कविहीन छन्। इलेक्ट्रिकल इन्जिनियर ऋचा र घिमिरे निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली जलविद्युत परियोजनामा कार्यरत रहेको पारिवारिक स्रोतले जनाएको छ।

नेपाली सेनामा कार्यरत २४ वर्षीय राई बाढी प्रभावित टिमुरेस्थित सैनिक बुथमा कार्यरत रहेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रशासकीय अधिकृत हरि भट्टराईले बताए। २५ वर्षीय कार्की रसुवा क्षेत्रमा काम गर्दै आएको जानकारी आएको भट्टराईले बताए।

सम्पर्कविहीन माझीत्रय भने घर भवन बनाउने काम गर्ने कालिगड रहेको चन्द्रबहादुरका दाजु खिलबहादुरले बताए। उनका अनुसार गत साउन २५ गते मात्र काठमाडौंबाट उनीहरू रसुवातर्फ गएको तर कुन ठाउँमा काम गर्ने गरेको भन्ने यकिन भएको छैन। चन्द्रबहादुर दुई छोरा र श्रीमतीसहित काठमाडौंमै बसोबास गर्दै आएको र उनकै सम्पर्कका आधारमा भेषराज र मिलन पनि काम खोज्न रसुवा गएको खिलबहादुरले बताए।

बाढी विनाशको खबर आएपछि सम्पर्क गर्दा उनीहरूको मोबाइल अफ भएको खिलबहादुरले बताए। दाजुलगायत गाउँका तीन युवा सम्पर्कविहीन भएपछि खोज बिनका लागि प्रहरी र प्रशासन कार्यालयमा सिफारिस गर्दै खोजी गर्न गाउँका ६ जनाको टोली रसुवातर्फ हिँडेको उनले बताए।

प्रकाशित: ११ भाद्र २०८३ १३:५३ बिहीबार