नेपालमा आगामी एक सातासम्म वर्षाको क्रम जारी रहने भएको छ। मौसमविद् विनोद पोखरेलका अनुसार आज असोज १९ गतेदेखि पर्सिसम्म वर्षा अझ बढ्ने सम्भावना रहेको बताएका हुन्। उनले घटस्थापनाको अघिल्लो दिनसम्म देशका धेरै स्थानमा पानी पर्ने देखिएको बताएका छन्।
'मैले एक हप्ता अगाडि नै नेपालमा यो हप्ता वर्षाको सम्भावना छ भनेर राखेको थिएँ र लगभग हामी वर्षात सुरु भैकेको छ तर वर्षा अब अलि धेरै हुने समय आएको छ,' उनले भनेका छन्, 'हिजो रातभरि लगभग लगभग धेरै ठाउँमा पानी परेको थियो।'
पोखरेलका अनुसार पछिल्लो रात पनि कोशी प्रदेशका अधिकांश स्थानसहित बागमती, गण्डकी, लुम्बिनी हुँदै सुदूरपश्चिमसम्मका विभिन्न क्षेत्रमा वर्षा भएको छ। दक्षिणी नेपालका विभिन्न स्थानमा चट्याङसहितको मेघगर्जनको गतिविधि पनि देखिएको उनले बताए।
'अहिलेसम्मको अवस्थामा सुदूरपश्चिममा खासै देखिँदैन तर कर्णालीदेखि कोशीसम्मको अवस्था लगभग पानी सबै ठाउँमा परेको देखिन्छ,' एक भिडियो जारी गर्दै उनले भने।
यसैगरी, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) बिहान ६ः२६ बजेसम्म पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा झापाको चन्द्रगढीमा मापन भएको छ। महाशाखाका अनुसार चन्द्रगढीमा पछिल्लो एक घण्टामा २३.४ मिलिमिटर वर्षा भएको हो।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाले वर्षाको अवस्थालाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
यस्तै, बाँकेको ढकेरीमा आज बिहान दुई घण्टामै ७० मिलिमिटरभन्दा बढी वर्षा भएको उनले बताए।
के कारणले भइरहेको छ वर्षा?
कमजोर पश्चिमी वायुको प्रभावसँगै माथिल्लो वायुमण्डलीय प्रवाहका कारण नेपाल आसपास न्यूनचापीय प्रणालीहरू बारम्बार सक्रिय भइरहेकाले वर्षा भइरहेको मौसमविद् पोखरेलले बताए। पश्चिमी वायुबाट भूमध्यसागरीय क्षेत्रतर्फको आर्द्रता तथा बंगालको खाडी र अरब सागरबाट समेत केही आर्द्रता नेपालतर्फ आइरहेको उनको भनाइ छ।
'पूर्वी नेपालमा अलिकति मनसुन बाँकी नै रहेको अलिकति पश्चिममा र वेअफ बंगाल र अरबन सीबाट पनि अलिकति आर्द्रता आइराखेको छ। त्यही कारणले पानी परिरहेको छ,' उनले भने।
पोखरेलका अनुसार आज दिनभरि नै देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ। मंगलबार पहाडी क्षेत्रमा अझ धेरै स्थानमा पानी पर्ने देखिएको छ भने पूर्वी नेपालमा वर्षाको मात्रा तुलनात्मक रूपमा बढी हुनसक्नेछ। पर्सिदेखि वर्षाको गतिविधि पूर्वबाट पश्चिमतर्फ विस्तार हुने उनको पूर्वानुमान छ।
सुदूरपश्चिमका केही स्थानमा छोटो समयका लागि भारी वर्षा हुनसक्ने भए पनि लामो समयसम्म लगातार भारी वर्षा हुने अवस्था नरहेको उनले बताए। गण्डकी, कर्णाली, लुम्बिनी हुँदै सुदूरपश्चिमसम्म वर्षाको सम्भावना रहने तथा काठमाडौं उपत्यकामा पनि आजदेखि तीन दिनसम्म राम्रै पानी पर्ने देखिएको पोखरेलको भनाइ छ।
उनले भनेका छन्, 'दैनिक वर्षाको अवस्था कस्तो छ भने आज पनि लगभग दिनभरि धेरै ठाउँमा पानी पर्ने देखिन्छ र भोलि लगभग अझ धेरै ठाउँमा, पहाडी भेगमा पानी पर्ने देखिन्छ। दक्षिण नेपालको तराईको जिल्लाका धेरै जसो अधिकांश पानी चुरे क्षेत्रमा परेको देखिन्छ।'
तीन दिनपछि वर्षाको मात्रा केही घट्ने भए पनि पूर्ण रूपमा रोकिने अवस्था भने नरहने उनले बताए। घटस्थापनाको दिनसम्म वर्षा केही कम हुने र त्यसपछि घाम लाग्ने अवस्था बन्नसक्ने उनको पूर्वानुमान छ।
आगामी एक साताको पूर्वानुमान
पोखरेलले आगामी एक सातामा नेपालभर औसतमा ५० देखि ६० मिलिमिटरसम्म वर्षा हुनसक्ने बताएका छन्। यो अनुमान चारवटा मौसम पूर्वानुमान मोडलको औसतका आधारमा तयार गरिएको उनले स्पष्ट पारे। मध्यपहाडी क्षेत्रमा तुलनात्मक रूपमा बढी तथा हिमाली क्षेत्रमा पनि वर्षा हुने र तराईमा भने केही कम वर्षा हुने देखिएको छ।
'लगभग यो एक हप्तामा आगामी एक हप्तासम्म ५० देखि ६० मिलिमिटरको वर्ष देखिन्छ। यो चार वटा मोडलहरूको एभरेज लिएर मैले अनुमान गरेको हो,' पोखरेलले भने, ' नेपालभरि नै वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ। यसलाई समग्रमा हेर्दा जुन कमजोर पश्चिमी वायु छ त्यसले माथिल्लो वायुमण्डली प्रवाहको कारण नेपालको आसपासमा न्यून चापीय प्रणाली बारम्बार आइराखेको देखिन्छ त्यो यसैको कारण हो।'
उनले मौसमको पूर्वानुमान मोडलमा आधारित हुने भएकाले वर्षाको समय, स्थान र वास्तविक मात्रा फरक पर्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। विशेषगरी ट्रेकिङमा जाने तथा धान काट्ने समयको योजना बनाउनेहरूले दैनिक वर्षाको पूर्वानुमान हेरेर योजना बनाउन उनले सुझाव दिएका छन्।
'यो सूचना विशेष गरी कोही ट्रेकिङमा जाँदै हुनुहुन्छ अथवा धान काट्ने समय छान्न चाहनुहुन्छ भने यो नक्सा हेर्नुस् नक्सा मैले राखेको जुन दैनिक नक्सा त्यसमा हेरेर पत्ता लगाउनु होला कुन दिन काट्दा राम्रो हुन्छ भनेर,' उनले भने।
प्रकाशित: १९ आश्विन २०८३ ०९:०८ सोमबार