पोखरामा जेनजी प्रदर्शनले मंगलबार पनि उग्र रुप लिएको छ। जेनजीहरुले देशभरिका मुख्य शहरका गरेको प्रदर्शनका क्रममा पोखरा महानगरपालिकामा पनि आगजनी र ढुंगामुढा गरेर तोडफोड गरेका छन्।
पोखरा सभागृहमा भेला भएर न्यूरोडस्थित महानगरपालिकाको कार्यालय अगाडि पुगेका जेनजीहरुले महानगरपालिकाको गेट भत्काएर भित्रपट्टी आगो लगाएका हुन्। प्रदर्शनकारीले निरन्तर ढुंगामुढा गरिरहेका कारण प्रहरीले आगो निभाउन सकेको छैन।
आगलागीबाट महानगरपालिकाको गेटसहित भित्रपट्टीको भागमा क्षति पुगेको छ भने आगलागी ठूलो भएकाले क्षति कति पुग्यो भनेर आकलन गर्न सकिएको छैन।
सुरुमा जेनजी प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेका थिए। सो क्रममा झ्यालहरु फुटेका छन्।
त्यसैगरि प्रदर्शनकारीहरुले एउटा मोटरसाईकल जलाएका छन् अहिलेसम्म उक्त मोटरसाइकल कसको हो पत्ता लागेको छैन।
प्रदर्शनकारीले तोडफोड र आगजनीमा उत्रिएपछि प्रहरीले दर्जनौं अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ। सो क्रममा एक जनालाई रबरको गोली लागेको छ। गोली लागेका युवा करिब २७ २८ वर्षका छन् तर उनको पहिचान खुलेको छैन। उक्त घाइतेलाई प्रदर्शनकारीले उद्दार गरेर अस्पताल लगेका छन्।
प्रकाशित: २४ भाद्र २०८२ १४:१८ मंगलबार