जुम्लाको चन्दननाथ नगरपालिका-९ श्रीढुस्का गाउँका विष्णुप्रसाद रेग्मी निरन्तर पन्ध्रौँ पटक डोली बोकेर बडिमालिका पुगे। ६० वर्षका रेग्मी अहिलेसम्म नियमित बडिमालिका जाने एकमात्र पुजारी हुन्। पहिले पुजारी आलोपालो गर्थे।
हरेक वर्ष पुजारी खोज्नुपर्ने समस्या थियो। जब उनले जुम्लाको सरकारी डोली बोकेर जान थाले, यो समस्या हट्यो। ‘बडिमालिका माइको डोली बोकेर जान पाउनु अहोभाग्य हो,’ पुजारी विष्णुप्रसादले भने। सबै जुम्लावासीको मनोकामना चढाउन पाएकोमा उनी खुसी छन्। बाटोमा निकै कष्ट हुने उनले बताए। ‘कैयौँ भक्तालु बिरामी हुन्छन्, सरकारी टोलीमाथि समस्या र चुनौती आउँछन्। सबै दुख कष्ट सहनुपर्छ,’ उनले भने।
हरेक वर्ष बडिमालिका जानुअघि जुम्ला प्रशासन कार्यालयले उनलाई पुजारीका रूपमा पत्र पठाउँछ। पहिलोपटक वि.सं. २०५१ मा ३० वर्षको उमेरमा उनी रहरले बडिमालिका पुगे। उनको सक्रियता देखेर जिल्ला प्रशासनले सरकारी टोलीको भात पकाउन सघाउने जिम्मेवारी दियो।
सरकारी टोलीमा एक पुजारी, सरकारी प्रतिनिधि, भात पकाउने सहयोगी, दुई कार्यालय सहयोगी र प्रहरी हवलदारको नेतृत्वमा दुई सिपाही हुन्छन्। २०६० मा तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णसेन बुढाथोकीले उनलाई पुजारी बन्न प्रस्ताव गरे। त्यसपछि उनले पुजारीका रूपमा सुनौलो अवसर पाए।
त्यतिबेला माओवादी र राज्य पक्षबिच लडाइँ चरम अवस्थामा थियो। माओवादीहरू देवीदेवताको पूजापाठको विरोध गर्थे। यस्तो अवस्थामा सरकारी पुजारीका रूपमा उनी बडिमालिका पुगे। पुनः २०६८ मा ८ वर्षपछि दोस्रो पटक पुजारी बनेर गए। त्यसयता हरेक वर्ष उनी नै पुजारी बन्छन्। ‘कहिले पहिरो, कहिले बाढीको जोखिम। कहिले मदिरा खाएकाहरूले बाटोमा दुख दिन्छन्,’ उनले भने, ‘बाटोको सास्तीले अब सकिँदैन जस्तो लाग्छ, तर श्रद्धालुको हौसला देख्दा निरन्तर जान प्रेरणा मिल्छ।’
२०६९ चैत २४ मा उनी जिल्ला प्रशासनको मातहतमा सरकारी दरबन्दीमा छिरे। अहिले उनी खेलकुद विकास समितिको पुजारी पनि छन्। जुम्लादेखि बडिमालिका पुगेर फर्कन १८ दिन लाग्छ। चन्दननाथ मन्दिरबाट पूजाको डोली बुझेपछि कसैलाई दिन वा दुई काँधमा बोक्न पाइँदैन। यति लामो यात्रामा पनि उनको काँध थाक्दैन। ‘धेरै वर्ष पुगिसकेँ, अब आउँदैन भन्छु, तर मनले मान्दैन,’ उनले भने।
बडिमालिकामा जुम्ला र डोटीबाट जाने सरकारी टोलीको उच्च सम्मान हुन्छ। पहिले कुमाउदेखि पाल्पासम्म डोटी राज्य थियो। डोटीले तिब्बतसँग दुई पटक हार बेहोर्यो। त्यसपछि चन्दननाथ र गोरखनाथलाई भाकल गरियो। भाकलपछि नेपाली सेनाको तोप १० मिटर अघि सरेर युद्ध जितिएको इतिहास छ। अहिले पनि १२१ सेना र ७ सलामीसहित सरकारी टोली बडिमालिका जान्छ। डोटी जेठो र जुम्ला कान्छो राज्यका रूपमा परिचित छन्।
पुजारी रेग्मीका अनुसार ४१२ वर्षदेखि बडिमालिका यात्रा सुरु भएको हो। ‘अहिले पन्ध्रौँ पटक बडिमालिका पुगें,’ उनले भने, ‘अब २१ वर्षसम्म जाने प्रण गरेको छु।’ पहिले सुरक्षाकर्मी साथमा जान्थे। जुम्लादेखि मूर्ति र गहनाहरू लैजानुपर्छ। हरेक वर्ष नाग पञ्चमीमा बडिमालिका यात्रा सुरु हुन्छ। दैनिक दुई घण्टा मात्र हिँडिन्छ। सरकारी टोली जुम्लावासीको मनोकामना लिएर जाने भएकाले विशेष पूजापाठ हुन्छ। डोली बोकेर जाने र फर्कने बेला तामझामसहित पठाइन्छ र भित्र्याइन्छ।
‘हरेक वर्ष नाग पञ्चमीमा बडिमालिका यात्रा सुरु हुन्छ। दैनिक दुई घण्टा हिँडिन्छ,’ उनले भने। पहिलो दिन तातोपानी गाउँपालिकाको लिताकोट, दोस्रो दिन हिमा गाउँपालिकाको मोफ्लागाउँ, तेस्रो दिन कनकासुन्दरी गाउँपालिकाको सन्यालबाडा, चौथो दिन मुगुको खत्याड गाउँपालिकाको क्वा गाउँ, पाँचौँ दिन सुकाढिकको झुगाला, छैटौँ दिन बाजुराको ढाडाकोट, सातौँ दिन देउडा पाटन, आठौँ दिन कालिकोटको त्रिवेणी पाटन र नवौँ दिन बाजुराको बडिमालिका मन्दिरको गाथमा पुगिन्छ।
देउडा पाटनमा ढाडाकोटका विष्ट जातिले चन्दननाथ बाबाको लिंग काटिएको ठाउँमा पूजापाठ गर्छन्। त्रिवेणी पाटनमा कालिकोटलाई जिम्मेवारी दिइन्छ। भोलिपल्ट कालिकोट र जुम्लाले पूजापाठ गर्छन्। डोटी र जुम्लाको प्रतिनिधिलाई कालिकोट त्रिवेणीका पुजारीले अभिषेक गर्छन्। त्यसबेला डोटी र जुम्लाबिच लडाइँको नाटक हुन्छ। छ जनाले तात्नालाई आफ्नो लिन खोज्छन्। जसले खोस्छ, ऊ विजयी हुने मान्यता छ। पुनः पूजा गरेर आ-आफ्नो लिंग दिएर बडिमालिका मन्दिरमा त्रिदशर्ने चौदसीको दिन जुम्ला, डोटी र बाजुराका प्रतिनिधिहरूले संयुक्त रूपमा पूजापाठ गर्छन्। जुम्लाको नासु पुजारीले ध्वजा, तोरण र सिकापाति फिर्ता मागेर बिदाइ गर्छन्। पुरानै बाटोबाट फर्कने चलन छ।
हिजो (शुक्रबार) विष्णुबहादुर महतको नेतृत्वमा पाँच जनाको सरकारी टोली र पुजारी विष्णुप्रसाद रेग्मीसहितको टोलीलाई नेपाली सेनाको टुँडिखेल मैदानमा भव्य स्वागत गरियो। पन्ध्रौँ पटक बडिमालिका पुगेका रेग्मीलाई जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले कदरपत्र दिएर सम्मान गरे।
सरकारी टोलीलाई स्वागत गरेको तस्बिर (गोल्डेन बुढा जुम्ला/नागरिक)
प्रकाशित: ३१ श्रावण २०८२ ०८:१८ शनिबार