गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा तालिम लिईरहेका प्रहरीलाई पशुपन्छी अधिकारबारे तालिम दिइएको छ । हालसालै भर्ना भई तालिम लिइरहेका दुई सय भन्दा बढी प्रहरी जवानलाई शनिबार पशुपन्छी अधिकारबारे तालिम दिईएको हो ।
उनीहरुलाई पशुपन्छीका अधिकार, उलंघन गर्दा हुने कानूनी कारबाही लगायतबारे जानकारी दिँदै तालिमपश्चात कार्य क्षेत्रमा खटिँदा गर्नुपर्ने कर्तव्यका बारेमा अधिवक्ता ज्ञानु गौतमले जानकारी गराएका थिए ।
उनले पशुलाई यातना दिनु अमानवीय कार्य भएकोतर्फ सचेत रहन आग्रह गरे । गाईभैंसी ढुवानी गर्दा जबरजस्ती कोचेर यातना दिने कार्य होस् वा केजमा कुखुरालाई राखेर अण्डा उत्पादन गर्नु पशुपन्छीको अधिकार विपरित रहेकाले सो कार्यको न्यूनीकरणसँगै त्यस्ता समस्या आएमा के गर्ने भन्नेबारेमा प्रहरी सचेत रहनुपर्ने बताए । त्यसका लागि पशुपन्छी कार्यालय र पशुपन्छीका क्षेत्रमा काम गरिरहेका संघ, संस्थासँग समन्वय गर्नुपर्ने उनको भनाई थियो ।
एनिमल नेपालकी कार्यक्रम प्रमुख सुलक्षणा राणाले पशुपन्छी कल्याणको क्षेत्रमा आफ्नो संस्थाले काम गर्दै आएको उल्लेख गरिन् । पछिल्लो समय पशुपन्छीमाथि ज्यादतीका घटना बढेको भन्दै त्यसको न्यूनीकरणमा प्रहरीको भूमिका अपरिहार्य भएको बताईन् । उनले भनिन्,‘पशुपन्छीमाथि ज्यादती हुनु गलत हो, यसको न्यूनीकरणमा लाग्नु हामी सबैको दायित्व हो । यसमा अझ प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ ।’
सन २००९ मा स्थापित एनिमल नेपालले पशुपन्छी कल्याणबारे बहस, पैरवी गर्दै आएको छ । यसले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, चितवन, बाँके र कपिलवस्तुलाई कार्य क्षेत्र बनाएर पशुपन्छी कल्याणबारे जनचेतना फैलाउने, पशुपन्छीमाथि भएका ज्यादतीबारे आवाज उठाउने, पशुपन्छी पालक र सप्लायरलाई जिम्मेवार बनाउनेलगायतका कार्य गर्दै आएको एनिमल नेपालका कास्की प्रतिनिधि देव उपाध्यायले बताइन ।
प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी नायव उपरीक्षक कृष्ण कार्कीले पशुपन्छी कल्याणको क्षेत्रमा आफूहरु सदैव लागिरहेको र आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
प्रकाशित: ७ भाद्र २०८२ १९:४४ शनिबार