जुम्लाको हिमा गाउँपालिका-६ खलढुंगा गाउँमा मंगलबार मध्यान्ह एकाएक सुख्खा पहिरो खसेपछि स्थानीयवासी फेरि असुरक्षाको घेरामा परेका छन्।
करिब १२ बजेतिर गाउँमाथिबाट झरेको पहिरोले एक घर पूर्णरुपमा ध्वस्त पारेको छ, भने अर्को घर आंशिक क्षतिग्रस्त भएको छ। मानवीय क्षति नभए पनि घटनाले गाउँभर त्रास फैलाएको छ।
‘राति भएको भए के हुन्थ्यो, कल्पना गर्न पनि डर लाग्छ,’ स्थानीय ललिजन अधिकारी भन्छन्, ‘अब फेरि कहिले खस्छ भन्ने डरले बस्नै गाह्रो भएको छ।’
पहिरोले घरभित्रका अन्नपातदेखि भाँडाकुँडासम्म सबै सामग्री नष्ट पारेको छ। स्थानीयका अनुसार २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। यो घटना आकस्मिक मात्रै नभएको स्थानीयको दाबी छ। एक साताअघि नै गाउँका युवाहरुले ढुंगा खस्ने जोखिमबारे गाउँपालिकामा निवेदन दिएका थिए। तर, त्यसमा समयमै सुनुवाइ नभएको उनीहरुको आरोप छ। ‘जोखिम देखिएको थियो, तर कसैले गम्भीरतापूर्वक लिएन,’ एक स्थानीयले गुनासो गरे।
घटनापछि जनप्रतिनिधिहरु स्थलगत निरीक्षणमा पुगेका छन् र समाधानको आश्वासन दिएका छन्। तर, विगतका अनुभवले स्थानीयलाई आश्वासनप्रति भरोसा छैन। उनीहरुका अनुसार प्रहरीसमेत समयमै घटनास्थलमा पुग्न सकेन। घरधनी आफैं प्रहरीचौकी पुगेर जानकारी गराउँदा ‘भोलि आउने’ भन्दै फर्काइएको आरोप छ।
हाल पहिरो पीडित परिवार छिमेकीको घरमा आश्रित छन्। गाउँको भौगोलिक बनावट,कमजोर चट्टान र ठाडो भीरका कारण खलढुंगा वर्षौंदेखि उच्च जोखिममा पर्दै आएको छ। तीन वर्षअघि असोजमा आएको वर्षापछिको पहिरोले गाउँका ६ घर बगाएको थियो। त्यसबेला पनि प्रभावकारी उद्धार र पर्याप्त राहत नभएको स्थानीयको गुनासो छ।
जोखिमको चक्र दोहोरिँदै जाँदा स्थानीयले यसलाई राज्यको बेवास्तासँग जोडेर हेरेका छन्। ‘हामीलाई बाँच्नै नदिने हो कि जस्तो भयो,’ एक पीडितले भने, ‘हरेक वर्ष डर, क्षति र प्रतीक्षा मात्रै दोहोरिन्छ।’वर्षायाम नजिकिँदै गर्दा जोखिम झनै बढ्ने भएकाले स्थानीयले तत्काल राहत, सुरक्षित स्थानमा बस्ती स्थानान्तरण र दीर्घकालीन समाधानको माग गरेका छन्।
यता हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले भने घटनापछि प्रहरी र विपद् शाखाको टोली घटनास्थलमा पठाइएको जानकारी दिए। ‘टोलीले क्षतिको यकिन विवरण ल्याएपछि राहतका कार्यक्रम अघि बढाइनेछ,’ उनले भने।
२०७९ सालदेखि नै खलढुंगा बस्ती स्थानान्तरण गर्ने योजना बनेको भए पनि कार्यान्वयन हुन सकेको छैन। जिल्ला विपद् व्यवस्थापन समितिले प्रस्ताव प्रदेश र संघ सरकारसम्म पठाए पनि अहिलेसम्म कुनै ठोस निर्णय भएको छैन। गाउँपालिकाले जोखिम न्यूनीकरणका लागि गाउँमाथिको डाँडामा एक हजार २ सय बिरुवा रोपेको जनाएको छ। तर, स्थानीयका अनुसार यस्तो प्रयास मात्र पर्याप्त छैन। ‘बस्ती सार्नुको विकल्प छैन,’ अध्यक्ष शाहीले स्वीकारे, ‘तर त्यसका लागि आवश्यक बजेट गाउँपालिकासँग छैन, प्रदेश र केन्द्रकै भर पर्नु परेको छ।’
हाल खलढुंगामा ४९ घरधुरी बसोबास गर्दै आएका छन्। जोखिम, आश्वासन र बेवास्ताको त्रिकोणमा अड्किएको यो बस्ती अझै अनिश्चित भविष्यतर्फ हेरिरहेको छ।
प्रकाशित: १८ चैत्र २०८२ १२:५७ बुधबार