उदयपुरको कटारीबाट मंगलबार लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले कटारी नगरपालिका ४ कटारी बजारस्थित सुनकोशी पेट्रोल पम्पबाट मरुवातर्फ जाँदै गरेको कोशी प्रदेश ०५-००२ प २४७३ नं. को मोटरसाइकल चालक सोही वडाका रुस्तम तामाङलाई पक्रेको हो।
१९ वर्षीय तामाङ सवार मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध १ सय १० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। उनको साथबाट स्पासपेन नामक लागूऔषध ५३ ट्याब्लेट, ओपो ट्याब ९ ट्याब्लेट र ट्यापेन्टा ४८ ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
बरामद लागूऔषध, मोटरसाइकल र होनोर कम्पनीको १ थान मोबाइलसहित पक्राउ परेका तामाङलाई इप्रका कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २४ मंसिर २०८२ ०६:४५ बुधबार



