६० देखि ७० वर्ष उमेर समूहका नागरिकलाई मासिक रूपमा स्थानीय सामाजिक सुरक्षा प्रदान गर्ने प्रयोजनका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तथ्याङ्क संकलन गर्न थालेको छ।
संघीय सरकारले ७० वर्षपछि मात्रै ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउने गरेकोमा फक्ताङलुङ गाउँपालिकाले भने चालु आर्थिक वर्षबाट ६० देखि ६९ वर्ष उमेर समूहका नागरिक स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत मासिक रूपमा सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले जानकारी दिए।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत मैताहाङ लिम्बूका अनुसार उक्त उमेर समूहका नागरिकको विवरण संकलन गरी उपलब्ध गराउन पालिकाका ७ वटै वडालाई पत्राचार गरिएको छ। भदौ ५ गते भित्र विवरण संकलन गरी पठाउन पालिकाका सबै वडाहरूलाई आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत लिम्बूले जानकारी दिए। पालिकाले लाभग्राहीको नाम, थर र वतन, जन्म मिति, नागरिकता नम्बर जारी मिति र जारी गर्ने निकाय तथा सरकारबाट अन्य सेवा सुविधा वा सामाजिक सुरक्षा भत्ता प्राप्त गरे नगरेको सहितका विवरण संकलन गर्ने छ।
पालिका अध्यक्ष लिम्बूले गत असार १० गते पालिकाको २० औं गाउँसभा बजेट अधिवेशनमा पालिका भित्रका ६० वर्ष देखि ७० वर्षभित्रका नागरिकलाई उनीहरूको दैनिकी सहज बनाउन पालिकाले आफ्नै बजेटबाट स्थानीय सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गरेका थिए।
पालिका अध्यक्ष लिम्बूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि उपाध्यक्ष रवीन साम्रा (विकास)ले चालु आवका लागि प्रस्तुत गरेको बजेटमा ६० देखि ७० वर्षभित्रका उमेर समूहका नागरिकका लागि स्थानीय सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन बजेटको व्यवस्था गरेका थिए। पालिका अध्यक्ष लिम्बूले ६० देखि ७० वर्ष उमेर समूहका नागरिकको आर्थिक तथा सामाजिक अवस्थालाई सम्बोधन गर्न चालु वर्षको नवीनतम् योजनाको रुपमा स्थानीय सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताए।
प्रकाशित: ३० श्रावण २०८३ १२:५६ शनिबार