समाज

वर्षौंदेखि अस्थायी आवासमा रहेका ६५ परिवारको स्थायी पुनर्वास प्रक्रिया सुरु

ताप्लेजुङका स्थानीय तहले विपद्बाट विस्थापित परिवारलाई एकीकृत वस्तिमार्फत स्थायी पुनर्वासका लागि प्रक्रिया अघि बढाएका छन् । 

मैवाखोला गाउँपालिकाले विस्थापित ६५ घर परिवारको पारिवारिक विवरण मागेको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार विस्थापित ६५ परिवारले आफ्नो परिवारका सबै सदस्यको विवरण कात्तिक २० गतेका मितिले १५ दिन भित्र पालिकामा पेस गरिसक्नुपर्ने हुन्छ । 

पालिकाले विस्थापित परिवारका एकासगोल परिवारका सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित अन्य आवश्यक कागजात माग गरेको हो । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोम्देनका अनुसार एकासगोल परिवारका सदस्य भन्नाले एकाघर सगोलको पति पत्नी, बाबु आमा, छोरा छोरी, धर्मपुत्र, धर्मपुत्री, अविवाहित छोरी, दाजु भाइ, अविवाहित दिदी बहिनी र विवाहित महिलाको हकमा सासू ससुरा समेतलाई बुझिने छ । 

पालिकाले विपद् विस्थापित परिवारको स्थायी पुर्नवास प्रयोजनार्थ घर र जग्गाको व्यवस्थापनका लागि विस्थापित भई अस्थायी आवास गृहमा रहेका परिवारसँग पारिवारिक विवरण मागेको हो । २०८० साल असार २ गते भएको पहिरोका कारण विस्थापित ६५ घर परिवारलाई पालिकाले वडा नं ३ स्थित मदन भण्डारी रंगशालामा अस्थायी एकीकृत आवास गृहमार्फत व्यवस्थापन गरिरहेको छ । 

पालिकाले विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०८३ (दोस्रो संशोधन) को दफा (१२) को उपदफा ४ (ख) बमोजिम लाभग्राहीलाई स्थायी आवास निर्माणका लागि घडेरी उपलब्ध गराउने प्रक्रिया सुरु गरेको हो । स्थानीय विपद् व्यवस्थापन समितिको कात्तिक २० गतेको निर्णय अनुसार अब विपद्बाट विस्थापित परिवारलाई एकीकृत स्थायी आवास गृहमार्फत स्थायी पुनर्वासको प्रक्रिया सुरु भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए । 

उता,फक्ताङलुङ गाउँपालिकाले चालु वर्ष भित्रै विपद् प्रभावित बासिन्दालाई एकीकृत बस्तीमार्फत स्थायी पुनर्वासमा स्थानान्तरण गरिसक्ने प्रक्रिया अघि बढाएको छ । पालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले विपद्का कारण उच्च जोखिममा रहेका घर परिवारको पहिचान गरी उनीहरूलाई सुरक्षित स्थानमा स्थायी आवास केन्द्र निर्माण गरी स्थानान्तरण जानकारी दिए । पालिकाले वडा नं २ खेजेनिमस्थित चावाखु टोलमा एकीकृत बस्ती निर्माण गरेको छ । 

आर्थिक वर्ष २०८२।८३ को बजेटबाट उक्त एकीकृत बस्ती निर्माण गरिएको र बाँकी रहेका जोखिम क्षेत्रका घरपरिवारलाई समेत सुरक्षित स्थानको खोजी गरी चालु आर्थिक वर्ष २०८३।८४ भित्रै एकीकृत बस्ती निर्माण पछि स्थानान्तरण गरिसक्ने पालिका अध्यक्ष लिम्बूले जानकारी दिए । 

प्रकाशित: २१ कार्तिक २०८३ १४:४० शनिबार