समाज

पातले छाँगो विवादले उग्र रूप लिँदै, विरोधमा उत्रिएका विद्यार्थी नेतामाथि खुकुरी प्रहार

पोखराको पर्यटकीय गन्तव्य पातलेछाँगो (डेभिडफल्स) ठेक्का लगाउने विवादले उग्र रूप लिँदै गएको छ । पोखरा महानगरपालिकाले छोरेपाटन माविबाट स्वामित्व खोसेर ४० वर्षका लागि डेभिडफल्स सेती क्यानोनिङलाई दिइएपछि स्थानीयले विरोध गर्दै आएका छन् । महानगर र सेती क्यानोईङ कुनै पनि हालतमा ठेक्का सम्झौता अनुसार अघि बढ्ने र स्थानीय कुनै पनि हालतमा काम गर्न नदिने अडानमा रहेपछि दुई पक्षबिच भएको विवादले उग्र रूप लिँदै गएको हो ।

बिहीबार पनि यी दुई पक्षबिच झडपको स्थिति उत्पन्न भएको छ । डेभिडफल्सको ठेक्का पाएको सेती क्यानोनिङले बिहीबार सार्वजनिक सुनुवाइ राखेको थियो । सार्वजनिक सुनुवाइका प्रमुख अतिथि थिए पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य । तर स्थानीयले विद्यालयको स्वामित्वमा रहेको डेभिडफल्सलाई ४० वर्ष लामो ठेक्कामा लगाउन नपाइने भन्दै विरोध जारी राख्यो । विरोधकाबीच कार्यक्रम अघि बढाउन खोज्दा कहिबेर तनावसमेत उत्पन्न भएको थियो । कार्यक्रम स्थल तनावग्रस्त बनेपछि मेयर आचार्य कार्यक्रममा आफ्नो भनाई नराखी कार्यक्रम स्थल छाडेर बाहिरिएका थिए ।

त्यही बिचमा स्थानीय र विद्यार्थीहरूले नाराबाजीसहित प्रदर्शन जारी राखे । त्यहिबेला विद्यार्थी नेताहरूमाथि खुकुरी प्रहार गर्ने योजना बनाइरहेको स्थानीयले सुइँको पाए । कार्यक्रम स्थल नजिकै बसेर आक्रमण गर्ने योजना बनाइरहेका ५ जनालाई स्थानीयले घेरा हालेर नियन्त्रणमा लिने प्रयास गर्दा दुई पक्षबिच कहिबेर हानाहान भएको थियो । सो क्रममा आक्रमणकारी मध्येका एक पोखरा–९ न्यूरोडका वंशज सिंह खवासलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । स्थानीयले नियन्त्रणमा लिने क्रममा आक्रमणकारी मध्येका एक सिंह घाइते समेत भएका थिए । उनलाई प्रहरी नियन्त्रणमा राखेर उपचार जारी राखिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए । उनको साथबाट एक थान खुकुरीसमेत बरामद गरिएको उनले बताए । आक्रमण गर्ने अन्यको खोजी भइरहेको डिएसपी बस्नेतले बताए । ‘सबै आक्रमणकारीको खोजी भइरहेको छ, फरार भएकाले उनीहरूको पहिचान खुलाउन मिल्दैन’–उनले भने ।

पोखरा महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिबाट खोसेर सेती क्यानोनिङ प्रालिलाई ४० वर्षका लागि ठेक्कामा दिएको छ। पातले छाँगो दृश्यावलोकनलाई व्यवस्थित बनाउने र शिसाको पुल बनाएर आम्दानीको श्रोत बढाउने भन्दै महानगरले ठेक्कामा लगाएको हो । तर स्थानीय त्यसको विरोधमा छन् ।

विरोधको नेतृत्वकर्ता मध्येका एक स्थानीय कांग्रेस नेता देवराज आचार्यले महानगरले निजी कम्पनीसँग प्राकृतिक सम्पदाको दोहन गरिरहेकाले विरोध गर्नुपरेको बताए । ४० वर्ष लामो समय निजी कम्पनीलाई डेभिडफल्स दिने निर्णय कुनै पनि हालतमा नमान्ने बताउँदै उनले भने,‘यो गलत हो । यो सम्झौता खारेज हुनुपर्छ । खारेज नभएसम्म हामी लडिरहन्छौँ ।’

प्रकाशित: १९ भाद्र २०८२ १४:५८ बिहीबार