समाज

जुम्लामा घरदैलोमै राहदानी, तीन महिनामा १३२ जनाले पाए सेवा

राहदानी बुझ्नकै लागि एकदेखि दुई दिनसम्म पैदल यात्रा गर्नुपर्ने बाध्यतामा रहेका जुम्लावासीका लागि घरदैलोमै राहदानी वितरण सेवा प्रभावकारी बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयको सहकार्यमा सञ्चालन गरिएको सेवाबाट तीन महिनामा १३२ जना नागरिक लाभान्वित भएका छन्।

आर्थिक वर्ष २०८२/८३ को वैशाखदेखि असार मसान्तसम्म जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर हुलाक कर्मचारीले सेवाग्राहीलाई घरमै राहदानी हस्तान्तरण गरेका हुन्।

जिल्ला हुलाक कार्यालयका प्रमुख गणेशदत्त रावलका अनुसार चन्दननाथ नगरपालिकाका २४, तातोपानी गाउँपालिकाका ३०, हिमाका १९, गुठीचौरका १७, कनकासुन्दरीका १६, तिलाका १३, पातारासीका १२ र सिंजाका ११ जनालाई घरमै राहदानी वितरण गरिएको छ।

यद्यपि १६ जना सेवाग्राही सम्पर्कमा नआएपछि उनीहरूको राहदानी फिर्ता ल्याइएको जिल्ला हुलाक कार्यालयले जनाएको छ। हुलाक कार्यालयका फोकल पर्सन बालकृष्ण जैशीका अनुसार तीमध्ये अधिकांश वैदेशिक रोजगारी तथा मजदुरीका लागि भारत गएका कारण राहदानी बुझ्न उपस्थित हुन सकेनन्।

जुम्लामा एक नगरपालिका र सात गाउँपालिका गरी ६० वडा छन्। अधिकांश बस्ती अझै सडक सञ्जालसँग पूर्ण रूपमा जोडिएका छैनन्। कतिपय स्थानबाट सदरमुकाम पुग्न एकदेखि दुई दिनसम्म पैदल यात्रा गर्नुपर्ने अवस्था रहेकाले राहदानी बुझ्न मात्रै नागरिकले यातायात, बसोबास र ज्यालाको नोक्सानी बेहोर्नुपर्थ्यो।

घरमै राहदानी वितरण सेवा सुरु भएपछि भने सेवाग्राहीले परिचय खुल्ने सरकारी कागजातका आधारमा आफ्नै गाउँमा राहदानी प्राप्त गर्न थालेका छन्। यसका लागि वितरण शुल्कबापत ५५ रुपैयाँ मात्र लाग्ने व्यवस्था गरिएको छ।

घरदैलोमै राहदानी पुर्‍याउने सेवाका लागि गत वैशाख १० गते जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच सम्झौता भएको थियो। त्यसअनुसार वैशाख २४ गते पहिलो चरणमा ६१ वटा राहदानी सम्बन्धित व्यक्तिको घरमै पुर्‍याइएको थियो। त्यसयता सेवा निरन्तर विस्तार हुँदै आएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार यो कार्यक्रम सङ्घीय सरकारको एक सय दिने कार्यसूचीअन्तर्गत सञ्चालन गरिएको नागरिकमैत्री सेवा सुधार अभियानको हिस्सा हो। यसको मुख्य उद्देश्य नागरिकलाई सेवा केन्द्रसम्म बोलाउने होइन, सेवा नै नागरिकको घरदैलोमा पुर्‍याउने रहेको कार्यालयले जनाएको छ।

प्रकाशित: १२ श्रावण २०८३ १६:४८ मंगलबार