पोखराको चिनारीका रूपमा निर्माण गरिएको ‘पोखरा घर’ सञ्चालनमा आएको छ।
पोखरा महानगरपालिकाको करिब साढे ५ करोड लगानीमा पोखरा पृथ्वीचोकमा ‘जेड’ आकारमा निर्माण गरिएको सो घर शुक्रबारदेखि सञ्चालनमा आएको हो।
पुरानो ट्राफिक कार्यालय रहेको स्थानमा निर्माण गरिएको घरको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले उद्घाटन गरे।
२ सय ८५ वर्गमिटरमा निर्माण गरिएको यो भवन पाँच तलाको छ। यो निर्माणका लागि ७ करोड ४६ लाख रुपैयाँ लागत अनुमान गरिए पनि कोजुई आरुसी आरुसु एबी–एसी जेभी निर्माण कम्पनीले ५ करोड ४२ लाख ६६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेर निर्माण सम्पन्न गरेको हो।
शुक्रबारदेखि सञ्चालनमा आएको ‘पोखरा घर’लाई पोखरा महानगरपालिकाले बहुउद्देश्यीय भवनको रूपमा अगाडि बढाउने भएको छ। भवनको भूमिगत तला (अन्डरग्राउण्ड)मा पार्किङ राखिएको छ। कुल ३१५ मिटरमा फैलिएको पार्किङ क्षेत्रमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्छ।
भवनको भुईँ तलामा कोसेली घर र एकीकृत सूचना केन्द्र, स्नानघर, सार्वजनिक शौचालयलगायत छ। कोसेली घरमा पोखरेलीले निर्माण गरेका स्थानीय उत्पादनका सामग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ, जुन कोसेलीका रूपमा पर्यटकले खरिद गर्न सक्ने जनाइएको छ।
स्नानघरमा एकै पटकमा पाँचदेखि सात जनासम्मले स्नान गर्न सक्नेछन् भने शौचालयमा १० देखि १२ जनासम्मले शौचालय प्रयोग गर्न सक्नेछन्। यही तलामा पृथ्वी राजमार्गको टिकट काउन्टरसमेत रहेको छ।
एकीकृत सूचना केन्द्रबाट पोखराका पर्यटकीय केन्द्रहरूदेखि समग्र पोखराको सूचना लिन सकिने जनाइएको छ।
दोस्रो तलामा सार्वजनिक पुस्तकालयसँगै बैठक कक्ष छ। यो तलामा महेन्द्रपुलस्थित पोखरा सार्वजनिक पुस्तकालय स्थानान्तरण गरिएको हो। सेती नदी किनारमा रहेको सो पुस्तकालय भवन भत्काएपछि अलपत्र अवस्थामा थियो।
भवनको तेस्रो तलामा पोखरा प्रज्ञा प्रतिष्ठानको कार्यालय रहेको छ। कार्यालय भवन नहुँदा पोखरा सभागृहलाई अस्थायी कार्यालय बनाउँदै आएको प्रतिष्ठानले दोस्रो कार्यकालमा आएर स्थायी कार्यालय पाएको हो।
चौथो तलामा आर्ट ग्यालरी र बैठक कक्ष रहेको छ। जहाँ प्रतिष्ठानको नियमित गतिविधि, आर्ट ग्यालरी कक्षमा प्रदर्शनीलगायत हुने जनाइएको छ। यही तलामा पोखरा प्रज्ञा प्रतिष्ठानकी कुलपति सरस्वती प्रतीक्षाको कार्यकक्ष पनि राखिएको छ।
भवनको सबैभन्दा माथिल्लो पाचौं तलाको पूर्व र उत्तरतर्फ दुई वटा घण्टाघर राखिएका छन्। सो तलाको बाँकी भाग भने खुला छ।
उद्घाटन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ‘पोखरा घर’ निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै पोखराको एउटा ड्रिम प्रोजेक्ट सम्पन्न भएको बताए।
निर्वाचनका बेला आफूले पोखरामा एउटा सुविधा सम्पन्न सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी, कोसेली घर, प्रज्ञा संवाद स्थल, स्नान तथा रिफ्रेसमेन्ट स्टेसनसहितको घण्टाघर आवश्यक छ भनेर बोलेको बताउँदै उनले भने,‘आज ती सबै सुविधा एउटै छानामुनि समेटिएको, विभिन्न गन्तव्यमा पुग्न आवश्यक यातायातका साधनहरुको टिकट घरसमेत रहेको बहुउद्देश्यीय ‘पोखरा घर’ निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ।
यो मेरा लागि मात्र होइन समग्र पोखराका लागि खुसीको क्षण हो।’ उनले ‘पोखरा घर’ले पोखराको आफ्नै कथा बोल्ने दाबीसमेत गरे।
पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले ‘पोखरा घर’ निर्माणसँगै पृथ्वी चोकमा लामो समयदेखि अभावका रूपमा देखिएको सार्वजनिक शौचालय तथा यात्रुको टिकट काट्ने असुविधाको पनि सम्बोधन भएको बताए। ‘स्थानीयवासीसँगै यात्रु र पर्यटक पनि लाभान्वित हुन्छन्’–उनले भने।
उद्घाटन कार्यक्रममा जग्गा दाताहरू गण्डकी पेट्रोलपम्प पोखरा–१०, स्व.हरिगोपाल रञ्जितका परिवार तथा स्व.गोपालप्रसाद तझ्याका परिवारलाई सम्मान गरिएको थियो।
प्रकाशित: २९ श्रावण २०८३ १८:१९ शुक्रबार