समाज

सफ्टवेयर कम्पनीका लागि भन्दै घर भाडामा लिएर अनलाइन गेम संचालन

आठजना पक्राउ

सफ्टवेयर कम्पनि संचालन गर्ने निहुँमा घर भाडामा लिएर अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन गरेको भन्दै प्रहरीले आठजनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुले प्रहरी पुग्दा अनलाईन गेम खेलाइरहेका थिए।  

पोखरा महानगरपालिका–१८ सेदीस्थित जीवन श्रेष्ठको घरलाई भाडामा लिएर अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। प्रहरी टोलीले उक्त घरमा खानतलासी गर्दा अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले उक्त स्थानबाट खेल सञ्चालनमा प्रयोग भएका विभिन्न सामग्रीसमेत बरामद गरेको बताएको छ।  

कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा दार्चुला घर भई हाल पोखरा–१८ सेदी बस्ने ३१ वर्षीय दिनेश सिंह बोहोरा, भारतको भूपा मानपुर स्थायी घर भई हाल पोखरा–१८ बस्ने ३४ वर्षीय सत्यम सिंह (मुख्य सञ्चालक), २४ वर्षीय हर्ष उसरेटे, २३ वर्षीय विशाल चाउ, २२ वर्षीय जमान सिं तमार, २७ वर्षीय विक्रान सिंह, २६ वर्षीय अजितेश कुमार मिश्र र २४ वर्षीय सत्यम राजपूत रहेका छन्।

प्रहरीले घटनास्थलबाट अनलाइन सट्टेबाजी सञ्चालनमा प्रयोग भएका विभिन्न कम्पनीका ७ वटा ल्यापटप, ६ वटा मनिटर, ३१ थान मोवाइल ३४ थान भारतीय सिमकार्ड लगायतका सामाग्री समेत बरामद गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका उनीहरुले गत चैत १८ गतेदेखि सेदीस्थित सातकोठे घर भाडामा लिएर अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको खुलेको छ।  

‘उक्त घरलाई सफ्टवेयर कम्पनी सञ्चालन गर्ने भन्दै भाडामा लिइएको भए पनि त्यहीं बसेर खाना खाने, बस्ने तथा अनलाइन गेम र सट्टेबाजी सञ्चालन गर्ने कार्य भइरहेको थियो,’ प्रहरीले विज्ञप्तीमार्फत भनेको छ।

अनुसन्धानका क्रममा उनीहरुले विभिन्न समूहमार्फत मोबाइलमा लिंक पठाई सेवाग्राहीलाई रकम जम्मा गर्न लगाउने गरेको खुलेको छ। रकम प्राप्त भएपछि प्रयोगकर्ताको दतागरी अनलाइन गेम तथा सट्टेबाजीमा सहभागी गराइने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ। क्रिकेट, फुटबल लगायत विभिन्न खेलमा अनलाइन सट्टेबाजी गराई हारजितका आधारमा रकमको कारोबार गर्ने तथा विजयी हुने व्यक्तिलाई रकम भुक्तानी गर्ने गरेको पनि प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका समूहले दैनिक ३ देखि ४ लाख भारतीय रुपैयाँसम्म कमाउने गरेको खुलेको छ। अनुसन्धानका क्रममा उनीहरुले भारतीय नागरिकका बैंक खाता भाडामा लिएर अनलाइन माध्यमबाट रकम जम्मा गर्ने तथा भुक्तानी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। साथै, यो नेटवर्कको मुख्य सञ्चालन भारतबाट हुने गरेको र पोखरास्थित केन्द्र उक्त सञ्जालको २७ औं  शाखाका रुपमा सञ्चालनमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रकाशित: २६ असार २०८३ १८:३३ शुक्रबार

सफ्टवेयर कम्पनि प्रहरी