जुम्लाको सिँजा गाउँपालिका-३ नराकोट बजारमा शनिबार केवल बजारको भीडमा सीमित रहेन। गाउँपालिका स्वास्थ्य शाखाको नेतृत्व तथा प्लान नेपाल र पेस नेपालको सहकार्यमा आयोजित एकदिने पोषण प्रदर्शनी मेला गाउँलाई विज्ञान, संस्कृति र अर्गानिक जीवनशैलीको संयुक्त कक्षामा रूपान्तरित गर्यो।
सैद्धान्तिक नारा होइन, घर-घरको भान्सामा बस्न सक्ने व्यवहारिक पोषण-क्रान्ति यहीँबाट सुरु भएको अनुभूति अभिभावकदेखि स्वास्थ्यकर्मी सबैले साझा गरे।जौ, फापर, गहुँ, कागुनो, चिनो, कोदो, मार्सी चामल, सिमी, स्थानीय सागसब्जी, फलफूल र जडीबुटी,जुम्लाका घरभित्र सहजै उब्जने यी अर्गानिक खाद्यवस्तु मेलामा वैज्ञानिक पोषण मोडेलका रूपमा पुनर्परिभाषित भए।
जुम्लामा अर्गानिक उत्पादन प्रशस्त भए पनि पकाउने तरिका र संयोजन वैज्ञानिक नहुँदा पोषण चक्र अधूरो रहने उनको तर्क छ।
यस्तै गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले कुपोषणलाई प्रमुख सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा व्याख्या गर्दै भने,‘हामीकहाँ उत्पादन धेरै छ। तर, त्यही उत्पादनलाई पोषिलो परिकारमा रूपान्तरित गर्न नसक्दा बालबालिकाको वजन, उचाइ र विकासमा असमानता प्रदेशमा नै उच्च देखिन्छ। नराकोटको यो मेला उत्पादनदेखि परिकारसम्मको रूपान्तरण सिकाउने महत्त्वपूर्ण प्लेटफर्म हो।’
मेलामा अभिभावक, महिला समूह र स्वास्थ्य स्वयंसेविकाको उत्साह विशेष थियो।बालबालिकाका लागि मनपर्ने तर पोषक खाजा, ‘जुम्ली पोषण थाली’, बुढापाकाका लागि मधुमेह-मैत्री भोजनसमेत सिकाइएको सहभागीको प्रतिक्रिया थियो।
प्रकाशित: १३ मंसिर २०८२ २०:४५ शनिबार