लगातारको वर्षासँगै बाढी र पहिरोको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लाका दुई प्रमुख लोकमार्गमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ।
प्रशासनले बिहीबार सूचना जारी गर्दै सिद्धिचरण लोकमार्ग र सगरमाथा लोकमार्गका जोखिमयुक्त सडकखण्डहरूमा असोज ८ देखि १२ गतेसम्म हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रा गर्न रोक लगाएको हो।
सूचनाअनुसार सिद्धिचरण लोकमार्गको कटारी-घुर्मी खण्ड तथा गाईघाट-दिक्तेल सगरमाथा लोकमार्गको साउने-रसुवा खण्डमा सार्वजनिक तथा निजी कुनै पनि सवारीसाधन सञ्चालन गर्न पाइने छैन।
मौसम पूर्वानुमान महाशाखाले असोज १२ गतेसम्म देशका विभिन्न स्थानमा ठूलो वर्षा, हावाहुरी र बाढीपहिरोको जोखिम रहने पूर्वानुमान गरेकाले मानवीय र भौतिक क्षति रोक्न यो निर्णय लिइएको प्रशासनले जनाएको छ। उदयपुरमा बुधबार रातिदेखि नै निरन्तर सिमसिम पानी परिरहेको छ।
आठवटै पालिकामा विद्यालय बन्द
वर्षा नरोकिएको र मौसमजन्य विपद्को चेतावनी जारी भएपछि उदयपुरका आठवटै स्थानीय तहले विद्यालयहरूको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्।
जिल्लाको चौदण्डीगढी नगरपालिका तथा उदयपुरगढी, ताप्ली र लिमचुङबुङ गाउँपालिकाले बिहीबारदेखि नै सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गराएका छन्।
यसैगरी जिल्ला सदरमुकाम रहेको त्रियुगा नगरपालिकासहित बेलका र कटारी नगरपालिका तथा रौतामाई गाउँपालिकाले शुक्रबार सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।
पालिकाहरूले सम्भावित जोखिमबाट जोगिन र सतर्कता अपनाउन नागरिकहरूमा अपिलसमेत गरेका छन्।
प्रकाशित: ८ आश्विन २०८३ २२:१४ बिहीबार