समाज

हिमालदेखि समुद्रसम्म नाइट्रोजनको यात्रा खोज्दै नेपाली वैज्ञानिक डा. नमिता

हिमालको काखबाट बग्ने नदी केवल पानीको धार होइन। यी नदीले हिमाल, वातावरण, जीव र मानव जीवनबीचको गहिरो सम्बन्ध बोकेर मैदान हुँदै हजारौँ किलोमिटर टाढा समुद्रसम्मको यात्रा तय गर्छन्। यही यात्रासँग जोडिएको नाइट्रोजनको स्रोत, प्रवाह, रूपान्तरण र प्रभावबारे अनुसन्धान गर्न नेपाली वैज्ञानिक डा. नमिता पौडेल अधिकारी नयाँ वैज्ञानिक यात्रामा निस्कँदैछिन्।

छिमेकी चीनको तिब्बती हिमाली क्षेत्रलाई उद्गम बनाएर नेपाल हुँदै बग्ने कोशी नदी प्रणालीमा उनले नाइट्रोजन चक्र र यसको प्रवाहबारे अध्ययन गर्नेछिन्। अनुसन्धानमा नाइट्रोजन कहाँबाट आउँछ, कसरी नदीमा प्रवेश गर्छ, माटो तथा पानीमा कसरी रूपान्तरण हुन्छ र अन्ततः नदीमार्फत कहाँ पुग्छ भन्ने विषयको खोजी गरिनेछ।

यो अनुसन्धानका लागि उनलाई चीनको राष्ट्रिय प्राकृतिक विज्ञान प्रतिष्ठानले अनुदान प्रदान गरेको हो। चीनको लान्झाउ विश्वविद्यालयअन्तर्गत तेस्रो ध्रुवीय वातावरणसम्बन्धी केन्द्रमा वैज्ञानिकका रूपमा कार्यरत डा. अधिकारीले एक वर्षका लागि करिब ५० लाख नेपाली रुपैयाँ बराबरको अनुसन्धान अनुदान प्राप्त गरेकी हुन्। अनुदानअन्तर्गतको परियोजना कोशी नदी जलाधारमा केन्द्रित हुनेछ।

ट्रान्स–हिमालय नदी प्रणालीको अनुसन्धानका लागि अनुदान प्राप्त गरेकी डा. अधिकारीका लागि हिमाली नदीको अध्ययन भने नयाँ विषय होइन। उनी सन् २०१६ देखि ट्रान्स–हिमालय क्षेत्रका नदी, ताल तथा हिमनदीमा अनुसन्धान गर्दै आएकी छन्।

यसपटक उनले अनुसन्धानको दायरा अझ फराकिलो बनाउँदै हिमनदी पग्लिएर आउने पानी, वायुमण्डलीय निक्षेप तथा नदीभित्र हुने जैव–भूरासायनिक प्रक्रियामार्फत नाइट्रोजनको आवागमन र रूपान्तरणलाई सूक्ष्म रूपमा अध्ययन गर्नेछिन्।

परियोजनाले कोशी नदी जलाधारमा नाइट्रोजन प्रवाहको पहिलो एकीकृत परिमाण निर्धारण गर्ने लक्ष्य राखेको डा. अधिकारीले बताइन्।

‘स्रोतदेखि तल्लो तटीय क्षेत्रसम्म नाइट्रोजनले गर्ने यात्रालाई पछ्याउँदै नदी प्रणालीभित्र त्यसमा आउने परिवर्तन अध्ययन गरिनेछ,’ उनले भनिन्, ‘यसबाट जलवायु परिवर्तनले हिमाली नदी प्रणालीमा पार्ने प्रभाव बुझ्न महत्वपूर्ण वैज्ञानिक आधार तयार हुनेछ।’

नाइट्रोजन जीवित प्राणीका लागि अत्यावश्यक तत्व हो। तर मानवीय गतिविधि र जलवायु परिवर्तनका कारण यसको प्राकृतिक चक्रमा परिवर्तन भइरहँदा त्यसको असरबारे वैज्ञानिक चासो बढेको छ। ताजा पानीका प्रणालीमा प्रतिक्रियाशील नाइट्रोजन अत्यधिक प्रवेश गर्दा पानीमा अक्सिजनको कमी, हानिकारक शैवालको वृद्धि तथा जैविक विविधतामा असर पर्न सक्छ।

त्यसैले नदीमा नाइट्रोजनको स्रोत, प्रवाह र रूपान्तरण बुझ्नु पानीको गुणस्तर र पारिस्थितिक स्वास्थ्यका लागि महत्वपूर्ण हुने डा. अधिकारीको भनाइ छ।

जलवायु परिवर्तनका दृष्टिले अत्यन्त संवेदनशील ट्रान्स–हिमालय क्षेत्रमा नदी प्रणालीमा नाइट्रोजनको गतिशीलतासम्बन्धी व्यवस्थित अध्ययन निकै न्यून छ। तिब्बतदेखि नेपाल हुँदै दक्षिण एसियातर्फ बग्ने नदीलाई तेस्रो ध्रुवीय क्षेत्रको महत्वपूर्ण जलस्रोत मानिन्छ। यी नदीमा हुने वातावरणीय परिवर्तनले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने करोडौँ मानिसको जलसुरक्षामा समेत प्रभाव पार्न सक्छ।

तर यस क्षेत्रमा पर्याप्त अनुसन्धान हुन नसक्दा त्यस्ता परिवर्तनको प्रभाव मूल्याङ्कन गर्न कठिन भइरहेको अवस्थामा कोशी नदीमा केन्द्रित यो अध्ययन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

‘यो अनुसन्धान एउटा नदीको कथा मात्र होइन, हिमालदेखि मैदानसम्म फैलिएको जीवनको एउटा अदृश्य सम्बन्ध बुझ्ने प्रयास पनि हो,’ डा. अधिकारीले भनिन्।

हिमालको कठोर भूगोलमा एक दशकको अनुसन्धान

चीन सरकारले ट्रान्स–हिमालय नदी प्रणालीमा नाइट्रोजन चक्र तथा प्रवाहको अध्ययनका लागि प्रदान गरेको यस अनुदान प्राप्त गर्ने नेपाली वैज्ञानिक डा. अधिकारी तनहुँको म्याग्दे–२ की स्थायी बासिन्दा हुन्। उनी गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वसदस्य डा. सुवास अधिकारीकी पत्नी हुन्।

पोखराको पृथ्वीनारायण क्याम्पसबाट सूक्ष्मजीव विज्ञानमा स्नातक गरेकी उनले चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको विश्वविद्यालयबाट सूक्ष्मजीव विज्ञानमै स्नातकोत्तर तथा विद्यावारिधि गरेकी छन्।

एक दशकभन्दा बढी समयदेखि हिमालय र तिब्बती पठारका कठोर वातावरणमा अनुसन्धान गर्दै आएकी डा. अधिकारीले सूक्ष्मजीव पारिस्थितिकी, जैव–सूचना विज्ञान, वातावरणीय रसायनशास्त्र तथा उच्च हिमाली क्षेत्रको अनुसन्धानमा विज्ञता हासिल गरेकी छन्।

उच्च हिमाली तालमा गरिएको अनुसन्धानका क्रममा आफूले पाँच हजारभन्दा बढी आनुवंशिक अनुक्रमको विश्लेषण गरेको उनले बताइन्। तापक्रम, अम्लीयता तथा पराबैजनी विकिरणले सूक्ष्मजीव समुदायमा पार्ने प्रभावबारे उक्त अनुसन्धानले महत्वपूर्ण तथ्य उजागर गरेको उनको भनाइ छ। चिसो वातावरणमा अनुकूलित ब्याक्टेरियासम्बन्धी अनुसन्धानमा समेत उनले योगदान दिएकी छन्।

हिमालका अत्यन्त चिसा र कठिन भूगोलमा पुगेर गरिने अनुसन्धान प्रयोगशालाको काममा मात्र सीमित नरहेको उनी बताउँछिन्। प्रकृतिमा भइरहेका सूक्ष्म परिवर्तनलाई वैज्ञानिक तथ्यमा रूपान्तरण गर्ने निरन्तर प्रयासका रूपमा उनले आफ्नो अनुसन्धानलाई लिएकी छन्।

उनका अनुसन्धानात्मक लेख वातावरणीय अनुसन्धान, वातावरणीय प्रदूषण तथा समग्र वातावरण विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित भएका छन्।

डा. अधिकारी गण्डकी प्रदेश सरकारको युवा प्रतिभा पुरस्कार, चीनको शिक्षा मन्त्रालयबाट प्रदान गरिने उत्कृष्ट अन्तर्राष्ट्रिय विद्यार्थी पुरस्कार तथा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको विश्वविद्यालयको उत्कृष्ट विद्यार्थी पुरस्कारबाट समेत पुरस्कृत भइसकेकी छन्।

हिमालको पानीसँगै के बग्छ ?

अब डा. अधिकारीको अनुसन्धानको नयाँ केन्द्र कोशी नदी बनेको छ। हिमालको हिउँ पग्लिँदा पानीसँगै के–के बग्छ ? वायुमण्डलबाट नदीमा के पुग्छ ? नदीभित्र सूक्ष्मजीव र जैव–भूरासायनिक प्रक्रियाले त्यसलाई कसरी परिवर्तन गर्छ ? र अन्ततः ती परिवर्तन तल्लो तटीय क्षेत्रमा पुग्दा कस्तो स्वरूपमा देखिन्छन् ? यी प्रश्नको वैज्ञानिक उत्तर खोज्नु उनको नयाँ अनुसन्धानको मुख्य उद्देश्य हो।

‘यस अनुसन्धानबाट प्राप्त तथ्यांकले हिमाली नदीको वातावरणीय अवस्था बुझ्न मात्र होइन, विश्वव्यापी जैव–भूरासायनिक अध्ययनका लागि आवश्यक आधारसमेत तयार गर्ने अपेक्षा गरिएको छ,’ उनले भनिन्।

कोशी नदीमा केन्द्रित यो अनुसन्धानले नेपाल र चीनबीच हिमाली वातावरण, जलवायु परिवर्तन तथा जलसुरक्षासम्बन्धी वैज्ञानिक अनुसन्धान सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको डा. अधिकारीले बताइन्।

प्रकाशित: ९ आश्विन २०८३ १६:३७ शुक्रबार