समाज

नेपालको नक्साले तान्दै पर्यटक, चर्चामा राइके डाँडा

नेपालको नक्सा हेर्न अब नक्सा घर वा पुस्तकका पाना पल्टाउनुपर्दैन। ढुंगाको पर्खालबाट निर्माण गरिएको नेपालको बृहत् आकृति हेर्न जुम्लाको सिञ्जा गाउँपालिका–३ स्थित राइके डाँडा पुगे पुग्छ।

प्राकृतिक सौन्दर्यले भरिएको डाँडामा निर्माण गरिएको नेपालको नक्सा अहिले आन्तरिक पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ। नक्सा अवलोकन गर्न, तस्बिर खिच्न र भिडियो बनाउन दैनिक दर्जनौँ मानिस त्यहाँ पुग्ने गरेका छन्। दशैंलगायत चाडपर्वका बेला पर्यटकको चहलपहल थप बढ्ने गरेको छ। संघीय सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको यो नक्साले ऐतिहासिक सिञ्जा क्षेत्रलाई नयाँ पर्यटकीय पहिचान दिन थालेको छ।

सामाजिक सञ्जालमा नक्सासँग तस्बिर खिचेर राख्ने र भिडियो सार्वजनिक गर्ने क्रम बढेसँगै राइके डाँडाको चर्चा स्थानीय क्षेत्रबाट बाहिर फैलिन थालेको हो। युवायुवतीदेखि परिवारसहित घुमफिरमा निस्किएकासम्म त्यहाँ पुगेर तस्बिर खिच्ने, भिडियो बनाउने र टिकटकमा दृश्य कैद गर्ने गरेका छन्।

राइके डाँडाको आकर्षण त्यहाँ पुग्ने पर्यटकमा मात्रै सीमित छैन। नाग्म–गमगढी सडकखण्डअन्तर्गत सिञ्जा गाउँपालिका–२ को अवस्थीबाडाबाट समेत नेपालको बृहत् नक्सा स्पष्ट देखिन्छ। टाढैबाट नक्साको आकृति देखिने भएपछि अवस्थीबाडा पनि तस्बिर र भिडियो खिच्नेहरूको रोजाइमा पर्न थालेको छ। युवाहरू त्यहाँ पुगेर नक्साको पृष्ठभूमिमा सामाजिक सञ्जालका लागि सामग्री तयार गर्ने गरेका छन्।

जुम्ला सदरमुकाम खलंगाबाट समेत मानिसहरू जन्मदिन मनाउन र रमणीय दृश्य कैद गर्न राइके डाँडा पुग्ने गरेका छन्। नाग्म–गमगढी सडक हुँदै रारा ताल तथा सिञ्जा भ्रमणमा आउने जिल्ला बाहिरका पर्यटकसमेत नेपालको नक्सा अवलोकन गर्न त्यहाँ रोकिने गरेका छन्। सडक यात्राका क्रममा थपिएको यो नयाँ आकर्षणले पर्यटकलाई सिञ्जामा केही समय बिताउन प्रेरित गरेको स्थानीय बताउँछन्।

सिञ्जा गाउँपालिका–२ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता तीर्थ बडका अनुसार नक्सा निर्माणपछि राइके डाँडामा पर्यटकको आवागमन बढेको छ। नक्सा हेर्न, तस्बिर खिच्न र भिडियो बनाउन आउनेहरूको संख्या बढ्दै गएको छ। उनका अनुसार यसले राइके डाँडाको पर्यटकीय सम्भावना उजागर गर्नुका साथै सिञ्जाको पहिचान विस्तार गर्न सहयोग पुर्याएको छ।

कुनै समय उपयोगविहीन रहेको राइके डाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनासहित सिञ्जा गाउँपालिकाले यो अवधारणा अघि सारेको थियो। गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार क्षेत्रको सम्भाव्यता पहिचान गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको थियो। सोही प्रतिवेदनका आधारमा संघीय सरकारसँग बजेट माग गरी नेपालको बृहत् नक्सा निर्माण गरिएको हो।

अध्यक्ष धितालका अनुसार संघीय सरकारको ५२ लाख रुपैयाँ बजेटमा नक्सा निर्माण गरिएको हो। करिब एक सय ५० मिटर लम्बाइ र ४५ मिटर चौडाइमा फैलिएको नक्सा ढुंगाको पर्खालबाट बनाइएको छ। निर्माण सम्पन्न भएपछि यसले पर्यटक आकर्षित गर्न थाले पनि क्षेत्रको समग्र विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेट अभाव भएको उनले बताए।

पर्यटकको आवागमन बढ्न थालेपछि गाउँपालिकाले राइके डाँडालाई थप व्यवस्थित र आकर्षक बनाउने योजना अघि सारेको छ। चालु आर्थिक वर्षमा डाँडामै नेपालको राष्ट्रिय झण्डा निर्माणका लागि तीन लाख रुपैयाँ विनियोजन गरिएको अध्यक्ष धितालले जानकारी दिए। 'खाली डाँडालाई कसरी सदुपयोग गरेर पर्यटकीय क्षेत्र बनाउन सकिन्छ भन्ने उद्देश्यले योजना बनाएका हौँ,' उनले भने, 'डीपीआर तयार गरेर नेपालको बृहत् नक्सा निर्माण गरेका छौँ। अब राष्ट्रिय झण्डासहित थप संरचना बनाएर यस क्षेत्रलाई व्यवस्थित गर्ने योजना छ।'

नक्सा निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाले ठेक्का आह्वान गरेको थियो। निर्माण कार्यको जिम्मेवारी ममता निर्माण सेवाले पाएको थियो।

सिञ्जा नेपालको भाषा, सभ्यता र इतिहाससँग जोडिएको महत्वपूर्ण भूगोल हो। खस भाषा र सभ्यताको ऐतिहासिक थलोका रूपमा परिचित यस क्षेत्रमा नेपालको बृहत् नक्सा निर्माण हुनुले पर्यटन प्रवर्द्धनको अर्को सम्भावना थपेको छ। ऐतिहासिक पहिचान बोकेको भूगोलमा राष्ट्रिय नक्साको आकृति निर्माण भएपछि सिञ्जाको प्रचारप्रसार गर्ने नयाँ माध्यमसमेत बनेको स्थानीयको बुझाइ छ।

२०८२ साल  वैशाख ७ गते पुर्वी समानुपातिक प्रतिनिधिसभा सांसद विनिता कठायतले नेपालको भौगोलिक नक्सा निर्माणको शिलान्यास गरेकी थिइन्।

प्रकाशित: १३ कार्तिक २०८३ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App