समाज

उदयपुरको बेलकामा बाढीको वितण्डा, विद्यालय बन्द

दुई दिनदेखिको अविरल वर्षाका कारण उदयपुरको बेलका नगरपालिका-३ का विभिन्न बस्तीमा बाढी पस्दा एक विद्यालयसहित झण्डै सय घर डुबानमा परेका छन्।

मंगलबार रातिदेखि परेको मुसलधारे पानीले स्थानीय खोलाहरूमा आएको बाढी बस्तीमा पसेपछि सयौं स्थानीयवासी त्रासमा परेका छन् भने उद्धारको पर्खाइमा छन्।

बेलका-३ का वडाध्यक्ष टङ्क आचार्यका अनुसार, सिशुवा, गिनेरी र जोगीनी खोलामा आएको बाढीले एबीसी टोलका ४० घर तथा जुलेफी टोल र ठोक्सिला बस्तीका ५० भन्दा बढी घर डुबानमा पारेको छ।

बाढीले स्थानीय सरस्वती आधारभूत विद्यालयको प्रांगण र भवनमा पानी पसेपछि अनिश्चितकालका लागि पठनपाठन बन्द गरिएको छ। डुबानका कारण स्थानीयका घर, गोठ पानीले भरिएका छन् भने भान्सा र सुत्ने कोठासम्मै बालुवा पसेको छ।

भुइँतला डुबेपछि कतिपय परिवारका सदस्यहरू घरको माथिल्लो तलामा आश्रय लिन बाध्य भएका छन्।

‘वर्षा रोकिएला कि भनेको झन् बढ्दै गयो, अब स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्नका लागि प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गर्दैछौं,’ वडाध्यक्ष आचार्यले भने। वर्षा नरोकिएपछि स्थानीयले उद्धारका लागि गुहार माग्न थालेका छन्।

नगरपालिकाले नगर विपद् व्यवस्थापन समितिको बैठक बसेर उद्धारको तयारी थालेको छ। नगरप्रमुख अशोक कार्कीले जिल्ला विपद् व्यवस्थापन समितिसँग पनि उद्धार र राहतका लागि समन्वय भइरहेको बताए।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले बेलकामा डुबानको खबर आउनासाथ उद्धार र सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गरिसकिएको र स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको जानकारी दिए।

वर्षेनीको कहर, अधुरो तटबन्ध

बेलका-३ का बासिन्दाले हरेक वर्ष बाढी र कटानको पीडा भोग्दै आएका छन्। स्थानीय खोलाहरूका साथै सप्तकोसी नदीको बाढीले पनि यो क्षेत्रमा वर्षेनी ठूलो क्षति पुर्‍याउने गरेको छ। गत वर्ष मात्रै करिब ३ हजार जना बाढीबाट प्रभावित भएका थिए।

स्थानीयका अनुसार, सप्तकोसी नदी नियन्त्रणका लागि गत वर्षदेखि नै माग गरिएको तटबन्धको योजना ६ महिनाअघि मात्र स्वीकृत भएर टेन्डर प्रक्रियामा गए पनि काम सुरु नहुँदा यो वर्ष पनि उही नियति भोग्नुपरेको छ।

त्यस्तै, वडा नं. ८ को कोठु क्षेत्रमा नदी नियन्त्रणका लागि संघीय सरकारले गत वर्ष छुट्याएको ४ करोड रुपैयाँको ठेक्का लागे पनि निर्माण कम्पनीले ढुङ्गा अभावको बहाना देखाउँदै काम सुरु नगरेको स्थानीय जनक राईले गुनासो गरे। ‘ठेकेदारले काम नगर्दा हामीले हरेक वर्ष ज्यानकै जोखिम मोलेर बस्नुपरेको छ,’ उनले भने।

प्रकाशित: २८ श्रावण २०८२ २१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App