बिग्रिएको बिजुली बत्ती मर्मत गर्ने क्रममा उदयपुरमा विद्युतीय झट्का (करेन्ट) लाग्दा एक कर्मचारीको मृत्यु भएको छ। करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गाईघाटका कर्मचारी रामकृष्ण राजधामीको मृत्यु भएको हो।
मङ्गलबार साँझ ५:३० बजे त्रियुगा नगरपालिका ८ बागचौरीस्थित बिग्रिएको बत्ती मर्मत गर्न विद्युतको पोलमा चढेर बनाउने क्रममा करेन्ट लाग्दा त्रियुगा नगरपालिका १० घर भएका प्राधिकरण वितरण केन्द्र गाईघाट उदयपुरमा कार्यरत ४५ वर्षीय राजधामी गम्भीर घाइते भएका थिए।
तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारकै क्रममा साँझ ६:१० बजे अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए।
प्रकाशित: १३ श्रावण २०८२ २१:३९ मंगलबार