समाज

स्याउ खेतीबाट राष्ट्रिय पहिचान: जुम्लाका टंक गिरी उत्कृष्ट कृषक घोषित

जुम्लाका अग्रणी स्याउ कृषक टंक गिरी राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार–२०८२ बाट सम्मानित भएका छन्। कृषि क्षेत्रमा दीर्घकालीन योगदान, व्यावसायिक स्याउ खेतीको विस्तार तथा उत्पादन वृद्धि मार्फत रोजगारी सिर्जनामा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै नेपाल सरकार कृषि, वन तथा वातावरण मन्त्रालयले उनलाई उक्त सम्मान प्रदान गरेको हो।

शुक्रबार आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले गिरीलाई नगद २ लाख रुपैयाँ, मेडल, प्रमाणपत्र र दोसल्लासहित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार प्रदान गरे। मन्त्रालयका अनुसार कृषि पेशालाई आधुनिक, व्यावसायिक तथा उत्पादनमुखी बनाउँदै खाद्य सुरक्षा, आर्थिक सुदृढीकरण र रोजगारी प्रवर्द्धनमा योगदान पुर्‍याउने कृषकलाई यो सम्मान प्रदान गरिँदै आएको छ।

हाल बगैंचामा ७ जना कर्मचारी कार्यरत छन्। कर्मचारीको तलबमा मासिक १ लाख ६७ हजार रुपैयाँ खर्च हुने गरेको छ। प्राविधिक, व्यवस्थापक तथा अन्य कर्मचारीका लागि फरक–फरक पारिश्रमिक व्यवस्था गरिएको छ।

पुरस्कार ग्रहणपछि गिरीले राज्यले कृषकको श्रम, लगनशीलता र योगदानको सम्मान गरेको भन्दै खुसी व्यक्त गरे। उनले उत्पादन र बजार मूल्यबीचको अन्तर उल्लेख गर्दै भने, “हामीले केजीको २ सय रुपैयाँमा बिक्री गरेको स्याउ काठमाडौं पुग्दा ३ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।”

 

प्रकाशित: १६ जेष्ठ २०८३ २१:३८ शनिबार