समाज

पाथीभरामा एकैदिन ४ हजार बढी दर्शनार्थी

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिबार एकैदिन ४ हजार ३०७ जना दर्शनार्थीले दर्शन गरेका छन्। चालु आर्थिक वर्ष सुरु भएयता एकैदिन मन्दिर दर्शन गर्ने यो सबैभन्दा ठूलो संख्या हो। 

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार शनिबार ४ हजार ३०७ जना दर्शनार्थी मन्दिर पुगेका हुन्। 

समितिका सूचना प्रविधि अधिकृत सन्तोष पुर्कुटीका अनुसार शुक्रबार १ हजार ७७९ जनाले पाथीभराको दर्शन गरेका थिए। शुक्रबारको तुलनामा शनिबार दर्शनार्थीको संख्या उल्लेख्य रूपमा बढेको हो। 

मलमासका कारण यस वर्षको नवरात्रमा पाथीभरा मन्दिरमा अपेक्षाकृत कम दर्शनार्थी आएका थिए। तर, पछिल्लो समय दर्शनार्थीको संख्या ह्वात्तै बढेको समितिले जनाएको छ। 

पाथीभरा क्षेत्र विकास समितिका अनुसार चालु आर्थिक वर्ष २०८३।८४ को साउन, भदौ र असोज महिनामा गरी २० हजार ५२२ जनाले मन्दिरको दर्शन गरेका छन्। 

शनिबारको आगमनले चालु आर्थिक वर्षमा पाथीभरामा एकैदिन दर्शन गर्नेको संख्यामा नयाँ अभिलेख कायम गरेको छ।   

प्रकाशित: ७ कार्तिक २०८३ १७:३९ शनिबार