ताप्लेजुङका मेडिकल पसलहरूमा अबदेखि आमाको दूध प्रतिस्थापन गर्ने दुग्धजन्य सामग्री (बट्टाको दूध लगायत) सार्वजनिक रूपमा देखिने गरी राखेर बिक्री वितरण गर्न नपाइने भएको छ।
शनिबार स्वास्थ्य कार्यालय ताप्लेजुङको संयोजनमा सदरमुकामस्थित मेडिकल हल र पोलिक्लिनिकहरूको अनुगमन गर्दै टोलीले यस्तो निर्देशन दिएको हो।
अनुगमन टोलीले आमाको दूध प्रतिस्थापन गर्ने सामग्री ‘डिस्प्ले’ वा काउन्टरमा सजाएर राखेको पाइए तत्काल जफत गरिने चेतावनी समेत दिएको छ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख सुमन तिवारीका अनुसार अनुगमनका क्रममा मेडिकलजन्य फोहोर व्यवस्थापनमा लापरबाही देखिएको छ।
टोलीले स्वास्थ्य संस्था तथा मेडिकलहरूलाई निस्कने फोहोर स्वास्थ्य मापदण्डअनुसार ‘कलर कोडेड’ गरेर मात्र व्यवस्थापन तथा विसर्जन गर्न निर्देशन दिएको छ।
मापदण्डअनुसार फोहोर व्यवस्थापन नगरिरहेका मेडिकल हल तथा क्लिनिकहरूलाई अन्तिम पटक सचेत गराइएको र अब उप्रान्त यस्तो भेटिए कानुनबमोजिम कारबाही हुने जानकारी गराइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई नेतृत्वको टोलीले औषधिको म्याद, प्रतिबन्धित औषधिको बिक्री वितरण र पसल दर्ताको अवस्थाबारे अनुगमन गरेको थियो।
सहायक प्रजिअ भट्टराईका अनुसार दर्ता तथा नवीकरण प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका औषधि पसलहरूलाई वैधानिक प्रक्रिया पूरा गर्न १५ दिनको अल्टिमेटम दिइएको छ।
साथै, मेडिकल हलहरूले नियमित रूपमा पेस गर्नुपर्ने प्रतिवेदन बुझाउन र जनस्वास्थ्य ऐनको मापदण्ड पालना गर्न सचेत गराइएको छ।
अनुगमनका क्रममा जनस्वास्थ्य ऐनअनुसारका न्यूनतम मापदण्ड पूरा गरी नवीकरणका लागि निवेदन दिएका केही क्लिनिकहरूलाई भने नवीकरण अनुमति प्रदान गर्ने निर्णय गरिएको छ।
स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक उदयनारायण दुलालले क्लिनिकमा रहेका उपकरणहरूको अवस्था र प्रचलित दररेट अनुसार सेवा प्रवाह भइरहेको/नरहेको विषयमा स्वास्थ्य प्राविधिकहरूले प्राविधिक परीक्षण समेत गरेको जानकारी दिए।
प्रकाशित: २४ माघ २०८२ २०:१२ शनिबार