पूर्वाधार विकास मन्त्री सुशील लम्सालले पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन पुलको अवलोकन गरेका छन्। पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण–१ आयोजना अन्तर्गत सेती नदीमा बनिरहेको पुलको भौतिक प्रगति बुझ्न सोमबार मन्त्री लम्साल अवलोकनका लागि पुगेका हुन्। उनीसँगै पर्यटन मन्त्रीलगायत पनि उपस्थित थिए।
पोखराको लेकसाइड प्रवेशद्वार मानिने यो पुल करिब ३ वर्षभित्र सम्पन्न गर्ने गरी २०७९ साल साउन २६ गते सम्झौता भएको थियो। तर चीनबाट सामग्री आपूर्ति तथा स्थानीय जग्गा व्यवस्थापनमा समस्या आएपछि निर्माणमा ढिलाइ भएको हो। हालसम्म निर्माण अवधि दुई पटक थप भइसकेको छ, पहिलो पटक २०८३ वैशाख २१ सम्म ८ महिना र दोस्रो पटक २०८३ चैत १७ सम्म ११ महिना म्याद थप गरिएको छ।
मन्त्री लम्सालले अवलोकनपछि निर्माण प्रगतिबारे चासो व्यक्त गर्दै सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्। उनले हालसम्म भएका काम, बाँकी काम तथा देखिएका अवरोधबारे विस्तृत जानकारी लिएका थिए।
पुल निर्माण परियोजनाका प्रबन्धक कृष्णबहादुर कुँवरका अनुसार पुलको भौतिक प्रगति करिब ६०.१४ प्रतिशत र वित्तीय प्रगति ५४.७५ प्रतिशत पुगेको छ। उनले तल्लो भागको काम राम्रोसँग अघि बढिरहेको र माथिल्लो संरचनामा काम बाँकी रहेको जानकारी दिए।
मन्त्री लम्सालले भने, “हामीले यस आयोजनालाई प्राथमिकतामा राखेका छौं। आवश्यक सबै सहयोग गरेर काम छिटो सम्पन्न गरिन्छ।”
सडक आयोजना कार्यालयका अनुसार पुल निर्माणमा चीनबाट आउने सामग्री आपूर्तिमा ढिलाइ, स्थानीय अवरोध र प्राविधिक समस्या प्रमुख चुनौती बनेका छन्। निर्माण कम्पनीले भने नियमित काम जारी राखिएको बताएको छ।
पुल निर्माण पूरा भएपछि पोखरा–मुग्लिङ सडकमा सवारी आवागमन सहज हुने र हाल देखिएको ट्राफिक जाम समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ।
प्रकाशित: १८ जेष्ठ २०८३ १६:३४ सोमबार