समाज

पदक वितरणमा गल्ती भएको सदस्य सचिव शर्माद्वारा स्वीकार, सच्याउनुको सट्टा टालटुल पार्ने प्रयास

गण्डकी खेलकुद परिषद् (गखेप)को पदक वितरणमा गल्ती भएको सदस्य सचिव श्रीधर शर्माले स्वीकारेका छन्।

गखेपले गत असार ३० गते गरेको पदक वितरणमा चरम लापरबाही र मिलेमतो देखिएपछि बिहीबार बोलाइएको पदक सिफारिस समितिको बैठकमा गखेप सदस्य सचिव शर्माले गल्ती स्विकार्दै माफी मागेका हुन्।

गखेपले सिफारिस समितिको निर्णय बिना नै पदक वितरण गरेको, सदस्य सचिव शर्माले सेटिङमा पदक वितरण गरेको, पदक सिफारिस समिति समितिमा बसेकै व्यक्तिलाई नै पदक दिइएको, गखेपका वर्तमान एक सल्लाहकारलाई आफू बोर्ड सदस्य तथा निमित्त सदस्य सचिव बनेको समयकै बेलाको पदक दिइनुका साथै पदक वितरण समारोहमा सिफारिस समितिका सदस्य तथा गखेपका सदस्यहरुलाई समेत जानकारी नदिई हतार हतार पदक वितरण गरेको आरोप लागेको थियो।

पदक वितरणमा चरम लापरबाही र मिलेमतो देखिएको समाचार नागरिक दैनिक र नागरिक न्युज डटकममा आएपछि सदस्य सचिव शर्माले बिहीबार पदक सिफारिस समितिको बैठक बोलाएका थिए।

बैठकको सुरुमा पदक सिफारिस समितिका संयोजक मदन केसी आफूहरूको निर्णय बिना नै किन पदक वितरण गरेर बेइज्जत गरेको भन्दै कड्किएका थिए।

उनले आवेदन दिने समय बढाउनका लागि गरेको आग्रह विपरीत सिफारिस समितिले दिएको प्रारम्भिक सूचीलाई आधार मानेर पदक दिएकोप्रति आपत्ति जनाएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।

स्रोतका अनुसार संयोजक केसीले बैठकमा भनेका थिए, ‘पदक दिने हाम्रो निर्णय थिएन। तर विवादित व्यक्तिलाई समेत राखेर पदक दिइयो। त्यो पनि हामीलाई जानकारी नै नदिई हतार हतार, यसलाई सच्याइयोस्।’

तर संयोजक केसीको आक्रोश र आग्रहलाई बेवास्ता गर्दै सदस्य सचिव केसीले आफ्नो बाध्यता सुनाएर विवाद साम्य पार्ने प्रयास गरेका थिए। उनले हतारमा पदक वितरण गर्दा गल्ती भएको स्वीकार गरे पनि सच्याएनन्।

सदस्य सचिव शर्माले गल्ती स्वीकार गरेर गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएको पदक सिफारिस समितिका संयोजक मदन केसीले जानकारी दिए। ‘हामीले पदक वितरणमा गल्ती भएको बतायौँ’,उनले भने,‘त्यसलाई सदस्य सचिव ज्यूले स्वकार गर्नुभयो, र आगामी दिनमा त्यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउनुभयो।’

बैठकमा सदस्य सचिव शर्माले पदक सिफारिस समितिलाई २०८२/८३ को लागि मात्रै मनोनयन गरिएको दाबीसमेत गर्न भ्याएका थिए। उनले २०८१/८२ को लागि सिफारिस समिति नबनाएको जिकिर गर्दै भनेका थिए,‘हामीले त तपाईँहरू पदक सिफारिस समितिमा आइसकेपछि २०८१/८२ को पनि सिफारिस गर्दा राम्रै हुन्छ भनेर मात्र आग्रह गरेको भनेर समितिका संयोजक तथा सदस्यहरूको मनोबल कमजोर पार्ने प्रयास गरेका थिए। त्यसपछि पदक सिफारिस समितिका कोही पनि कडा रूपमा प्रस्तुत हुन नसकेको स्रोतको दाबी छ।

पत्रकारसँग कुरा गर्दै पदक सिफारिस समितिका संयोजक केसीले मिलेर जाने सहमति भएको बताए। ‘हिजो पदक वितरणमा गल्ती भयो भनेर माफी माग्नुभयो’,उनले थपे,‘अब आगामी दिनमा गल्ती दोहोर्याउँदिन भनेपछि हामीले पनि पुरानो कुरा धेरै नकोट्याउँ भनेर सहमति जनायौँ।’

बैठकमा पुरानै पदक सिफारिस समितिलाई अबको पदक वितरणका लागि पनि मान्यता दिने सहमति भएको छ। जस अनुसार समितिमा मदन केसी संयोजक तथा सदस्यहरूमा दुर्गा अधिकारी, हरि पराजुली र चित्रबहादुर थापा रहेका छन्। केशव पाठकलाई भने पदक सिफारिस समितिको सदस्यबाट हटाउने सहमति भएको स्रोतले बतायो।

गखेप बोर्डका सल्लाहकार पाठकले आफू बोर्डको सदस्य रहेको तथा निमित्त सदस्य सचिव भएको कार्यकालकै बेलाको खेलकुद पत्रकारिता पदक आफै सिफारिस समितिमा लिएका थिए।

त्यसबाहेक अर्का सदस्य हरि पराजुलीले सिफारिस समितिमा आफै बसेर आफू निवर्तमान अध्यक्ष रहेको नेपाल भूतपूर्व खेलाडी मञ्चलाई र चित्रबहादुर थापाले आफू अध्यक्ष रहेको नेपाल ह्याण्डबल संघलाई पदक दिलाउन सफल भएका थिए। जुन विषय सार्वजनिक भएपछि खेलकुद क्षेत्रले आपत्ति जनाउँदै विरोध गरिरहेका छन्।

बैठकपछि पत्रकारसँग कुरा गर्दै पदक सिफारिस समितिका आमन्त्रित सदस्य चित्रबहादुर थापाले पनि विवादलाई धेरै नतन्काउने सहमति भएको बताए। आफूहरूको सहमति विपरीत पदक वितरण गरेको, आवेदन दिने समय थप्न गरेको आग्रह विपरीत हतार हतारमा पदक वितरण गरेकोप्रति आफूहरूले आपत्ति जनाएको उनको भनाई छ।

उनले भने,‘तर सदस्य सचिव ज्यूले जानी नजानी गल्ती भएको स्विकार्दै माफी माग्नु भएपछि हामीले पनि धेरै नतन्काउने कुरामा सहमति जनायौँ।’

सदस्य सचिव शर्माले भने आफूले माफी नमागेको दाबी गरेका छन्। ‘केही कमी कमजोरी भए होलान्’,उनले भने,‘तर हाम्रो मनसाय खेलाडीलाई प्रोत्साहन गर्ने र सम्मान गर्ने हो। जानेर गल्ती गरेको छैन र नियत पनि होइन, र माफी मागेको सत्य होइन।’

गखेपले खेलकुद पत्रकारितातर्फ केशव पाठक, खेलाडीतर्फ भलिबलकी अरुणा साही, आईटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर, अन्तर्राष्ट्रिय आर्चरी खेलाडी योगेन्द्र शेरचन, असिम शेरचन, क्रिकेट प्रशिक्षकतर्फ रिजन प्रजु र संघसंस्थातर्फ नेपाल भूतपूर्व खेलाडी मञ्चलाई २०८१/८२ को खेलकुद पदक वितरण गरेको थियो।

त्यसबाहेक सर्वोत्कृष्ट प्रदेश खेलबाट गण्डकी प्रदेश टेनिस संघलाई नगद १ लाख २० हजारसहित सम्मान गरिएको थियो भने गण्डकी प्रदेश ह्याण्डबल संघ र गण्डकी प्रदेश फेन्सिङ संघलाई उत्कृष्ट खेल संघ घोषणा गर्दै नगद ९०/९० हजारसहित सम्मान गरिएको थियो।

प्रकाशित: २१ श्रावण २०८३ १७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App