समाज

फिर्के मिचेर बनाइएको संरचना हटाउन स्थानीयको अटेरी, महानगरको भाका सरेको सर्‍यै

पोखराको मध्य भाग बगेर जाने फिर्के खोला मिचेर बनाइएका संरचना भत्काउन स्थानीयले अटेरी गरेका छन्। 

पोखरा महानगरपालिकाले जेठ दोस्रो साता फिर्के खोला करिडोर निर्माण गर्ने भन्दै फिर्के खोलाघर मिचेर बनाइएका संरचना भत्काउने अभियान थालेको थियो । सो क्रममा महानगरले कोतरेर छाडेका संरचना भत्काउन स्थानीयले अटेरी गरेका हुन्।

जेठ १० गतेदेखि एक हप्तासम्म थालिएको अभियानमा ४५ वटा स्थायी र ११५ वटा अस्थायी गरेर कुल १६० वटै संरचनामा डोजर चलाएको महानगरले जनाएको थियो। तर महानगरले चलाएको डोजरले कोतरेर छाडेकामध्ये लायन्स क्लबको भवन र लिटिल स्टेप माविको एउटा भवन मात्रै पूर्ण रूपमा हटाइएको छ। बाँकी सबै संरचना कोतरेर मात्रै छाडेको छाडिएको छ।

महानगरले चलाएको डोजरले कोतरेर छाडेका पोखरा–४ स्थित पस्र्याङ पुलदेखि पश्चिमतर्फको खोलाघरमा बनेका सुकुमबासी टहराहरू मात्र होइन, खोलाघरमै अतिक्रमण गरेर बनाइएको रिटेनिङ पर्खालसमेत जस्ताका तस्तै छन्।

पस्र्याङ पुलदेखि पूर्वपट्टी रहेको रातोघरलगायत भयँरथानसम्मका संरचना, साविकको स्काउट कम्पाण्डदेखि एक सय मिटर उत्तरतर्फ रहेको भयँरथान नजिक बनाइएको पक्की घर, सोही स्काउट कम्पाउन्डदेखि दक्षिणतर्फ रहेका घर टहराहरू मर्मत सम्भार गरेर प्रयोग गर्न थालिएका छन्।

वडा नम्बर ५ मा पर्ने स्काउट कम्पाउन्डदेखि एक सय मिटर उत्तरतर्फका भवनहरू, दक्षिणतर्फका संरचनाहरू, रेडियो नेपालको कार्यालयदेखि दक्षिणतर्फ रिठेगौंडा खोलाघरमा बनाइएका संरचनाहरू, रेडक्रस कास्कीको कार्यालय पुलदेखि १० मिटर दक्षिणतर्फका २ वटा भवन, पोखरा इन्जिनियरिङ कलेजको भवनदेखि उत्तर पश्चिमतर्फका ५ वटा भवनमा सिन मानिस पुनर्स्थापित भएका छन्।

पोखरा–८ स्थित बगालेटोल सामुदायिक भवन, सोंपाल तमु समाज, रेडियो नेपालको कार्यालय पूर्वपट्टिको खोलाघरबाटै उठाइएको संरचना, सशस्त्र प्रहरी बल कालिका गण्डादेखि पूर्व पट्टी (फिर्के खोलापारी) रहेको मगर समाज घरलगायतका संरचनाहरू, बराल समाज घर (ब्याडमिन्टन कोर्ट)समेत रहेको भवनसहित त्यसभन्दा उत्तरतर्फका ४ वटा भवनहरू, राधाकृष्ण मन्दिरदेखि एक सय मिटर दक्षिणका ३ वटा घर, पोखरा इन्जिनियरिङ कलेजको भवन, गहतेस्थित खोलापारीको नीलो टहरा र लिटिल स्टेप स्कुलको दक्षिणतर्फको संरचना पनि कोतरेर छाडिएका छन्।

त्यस्तै, पोखरा–७ स्थित मासवार–रत्नचोक जोड्ने पुलदेखि उत्तरपूर्व खोलाघरमै बनाइएको १५ फिट लामो पर्खाल, गहतेस्थित खोलाघरमा पर्ने लिटिल स्टेप स्कुलदेखि उत्तरतर्फको संरचना र मालपोत कार्यालय नजिकैको कुखुरा फार्म रहेको भवनसमेत यथावत् छन्।

तत्कालीन समयमा महानगरले संरचना भत्काउने नाममा फिर्केखोला घरमा निर्माण गरिएका संरचना कोतरेर मात्रै छाड्नुमा स्थानीयको अवरोधमा वडाध्यक्ष र मेयर धनराज आचार्यको मिलेमतो थियो। कोतरेर छाडिएका संरचना घर तथा जग्गाधनी आफैले भत्काउने महानगर प्रमुख धनराज आचार्यको भनाई थियो।

तर कोतरेर छाडिएको साढे ३ महिना बित्दासमेत फिर्केखोला घरमा निर्माण गरिएका संरचना भत्किएका छैनन्। अर्थात् स्थानीय उक्त संरचना भत्काउन उनीहरू तयार छैनन्। बरु कोतरेर छाडिएका संरचनालाई स्थानीय घरधनीले मर्मत सम्भार गरेर पुनः प्रयोग गर्न थालेका छन्।

कोतरेर छाडिएका संरचना भत्काउन स्थानीयले अटेरी गरिरहँदा महानगर भने भत्काउने मितिको भाका सारेको सार्‍यै छ। जेठ दोस्रो साता अभियान सुरु गर्दा एक हप्तामा भत्काएर सक्ने लक्ष्य महानगरको थियो।

तर आफैले भत्काउने भनेर थालिएको अभियानमा स्थानीय बाधक बनेपछि कोतरेर छाडिएका संरचना १५ दिन भित्रमा स्थानीय आफैले भत्काउने पहिलो भाका राखियो।

त्यो १५ दिनमा संरचना भत्किएन, बरु महानगरले दोस्रो भाका राख्यो असार १५ गतेसम्म। उक्त मितिमा पनि संरचना भत्काउने मेलोमेसो नदेखेपछि नागरिक समाज पोखरा र सञ्चारकर्मीले खबरदारी गर्न थालेपछि महानगरले बर्खा लागेकोभन्दै तेस्रो पटक भाकाविहीन सूचना निकालेर संरचना भत्काउन स्थानीयलाई आग्रह गर्‍यो।

त्यसलाई पनि स्थानीयले टेरपुच्छर नलगाएपछि महानगरले भदौ १५ सम्मको चौथो भाका राख्यो। तर त्यो भाका कटेको १५ दिन बित्दासमेत संरचना जस्ताका तस्तै छन्।

यसरी महानगर आफैले पटक÷पटक दिएको भाका कार्यान्वयन नभई सार्न थालेपछि नागरिक समाज रुष्ट छ भने पोखरेली जनताले महानगरप्रति संशय व्यक्त गर्न थालेका छन्।

करिडोर निर्माण गर्ने भनेर कोतरेर छाडिएको संरचना नभत्काएकोप्रति नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेल आक्रोशित छन्। उनले भने,‘पोखरा महानगरद्वारा फिर्केखोला करिडोर अभियान अलपत्र पारिएकोमा गम्भीर आपत्ति जनाउँछु।’

भदौ १५ सम्म नभत्काए असोज १ गतेदेखि महानगर आफैले संरचना भत्काउने मेयर आचार्यले बताएका छन्। उनले भनेका छन्,‘स्थानीयले आफैले नहटाए असोज १ गतेदेखि महानगर आफैले प्राविधिकसहितको टोली लगाएर हटाउँछ, उक्त संरचना हटाउन लाग्ने खर्च घरधनी आफैलाई तिराइन्छ।’

प्रकाशित: ३० भाद्र २०८३ १८:३६ मंगलबार