उदयपुर निर्वाचन क्षेत्र नं. २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य तामाङलाई लिमचुङबुङ गाउँपालिकाले विकास र सेवा प्रवाहसँग सम्बन्धित दर्जनबुँदे मागपत्र बुझाएको छ।
निर्वाचनपछि आफ्नो क्षेत्रका विभिन्न स्थानको भ्रमणमा रहेका सांसद तामाङ बिहीबार जिल्लाकै विकट स्थानीय तह लिमचुङबुङ गाउँपालिका पुगेका थिए। गाउँपालिकाको केन्द्र बाराहामा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाले स्थानीय आवश्यकता समेटिएको मागपत्र पेश गरेको हो।
कार्यक्रममा कार्यवाहक अध्यक्ष पुष्पलाल राई, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत सन्देश राईलगायत जनप्रतिनिधि तथा कर्मचारी सहभागी थिए। गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष गुरुमणि कुमाईका अनुसार सांसद तामाङलाई स्थानीय तहको समृद्धिका लागि आवश्यक नीति तथा कार्यक्रम अघि सार्दै सुझावसहित मागपत्र बुझाइएको हो।
गाउँपालिकाले प्रत्येक स्थानीय तहमा एक पक्की सडक निर्माण गर्ने नीति लागू गर्न, बाँदर आतंक अन्त्यसम्बन्धी सरकारी निर्णय कार्यान्वयन गर्न तथा वित्तीय समानीकरण बजेट सशर्त अनुदानभन्दा बढी विनियोजन गर्न माग गरेको छ।
त्यस्तै, स्थानीय तहलाई सुगम र दुर्गम वर्गीकरण गरी सोहीअनुसार बजेट तथा कार्यक्रम प्राथमिकतामा राख्न, प्रत्येक स्थानीय तह केन्द्रमा एक उच्च शिक्षा क्याम्पस सञ्चालन गर्न र प्रत्येक स्थानीय तहमा एक शववाहन अनिवार्य व्यवस्था गर्न पनि आग्रह गरिएको छ।
मागपत्रमा ‘एक घर : एक स्वच्छ खानेपानी धारा’ कार्यक्रम लागू गर्न, बजेट बाँडफाँट सूचकाङ्क संशोधन गरी विकट स्थानीय तहलाई प्राथमिकता दिन तथा भूगोलअनुसार हरेक स्थानीय तहमा कृषि एम्बुलेन्स सञ्चालनको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।
स्थानीयवासीहरूले गाउँमा सडक, शिक्षा, स्वास्थ्य र खानेपानी अभावका कारण बढ्दो बसाइँसराइ रोक्न दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन्। उनीहरूले यसका लागि कानुनी र नीतिगत सुधारमार्फत ठोस कार्यान्वयन गर्न सांसद तामाङसँग आग्रह गरेका छन्।
त्यसैगरी आत्महत्या, पारिवारिक झगडा, घरेलु हिंसा, सामाजिक विद्वेष तथा मानसिक स्वास्थ्य समस्याको उपचार र निदानका लागि उच्चस्तरीय स्वास्थ्य समिति गठन गरी आवश्यक नीति ल्याउन पनि गाउँपालिकाले माग गरेको छ।
प्रकाशित: १० वैशाख २०८३ १७:१४ बिहीबार