खोटाङको दक्षिणी स्थानीयतह खोटेहाङ गाउँपालिकामा शुक्रबारदेखि दुई दिने साहित्यिक जमघट सुरु भएको छ । जिल्लाको पुरानो सदरमुकाम रहेको खोटाङ बजारमा गाउँपालिका प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘खोटेहाङ साहित्य उत्सव–२०८२’ सुरु भएको हो ।
गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले कविता वाचन गरेर उत्सवको उद्घाटन गरे । उद्घाटनमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभा, सदस्यसचिव डा. धनप्रसाद सुवेदी, प्राज्ञ डा. मधुसूदन गिरीलगायतले सृजनासहितको भनाई राखेपछि साहियित्क गतिबिधि अघि बढेको छ ।
पहिलो दिनको कार्यक्रममा गाउँपालिकाभित्र सञ्चालित माध्यमिक तहमा विद्यार्थीहरुबीच कविता प्रतियोगिता आयोजना गरिएको छ । त्यसैगरि नेपालमा बाल साहित्यको अवस्थाबारे परामर्श छलफल चलाइएको छ । ‘बसाइँसराइँको कारण र न्यूनीकरणको उपाय’ शीर्षकमा अर्थ राजनीतिक विश्लेषक हरि रोकाले प्रस्तुतीकरण दिने कार्य तालिका छ । कार्यपत्रमाथि सामाजिक अध्ययता टङ्क थापा र शैक्षिक अभियन्ता सूर्यबहादुर राईले टिप्पनी गर्नेछन् ।
साहित्य उत्सवमा मुन्दुम अध्ययता भोगिराज चामलिङले ‘मुन्दुमको विश्व दृष्टिकोण’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नेछन् भने उनको कार्यपत्रमाथि कवि एवम् शैक्षिक अभियन्ता नरेन्द्र निर्विकारले टिप्पणी गर्नेछन् । नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारीले ‘जोसमनी दर्शन सम्बन्धी विचार’ प्रस्तुतीकरण दिनेछन् । किरात मुन्दुम र जोसमनी दर्शनको निकटताबारे विचार विमर्श गर्न सो कार्यपत्र प्रस्तुत गर्न लागेको आयोजकले जनाएको छ ।
गाउँपालिकाको प्रायोजनमा आयोजित उत्सवमा चर्चित स्थानीय कवि नरेन्द्र निर्विकार, केशव कार्की, कविता राई, आस्था कोपिला, भोगेन एक्ले, जीवन आरोही, भीम राई, भूमिराज मरुभूमि, ज्ञानदीप चामलिङ राई, नीरस एसके ‘पीडित’, निराजन भण्डारी, भगवती शर्मा, कृष्णश्री राई, रोशन पौडेल, भुवन गाउँलेलगायतले आआफ्ना कविता वाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईसमेत सहभागी उत्सवमा छिमेकी खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई, जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष अरुणादेवी राई ‘दीक्षा’, बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जरा, जिल्लाका साहित्यकारलगायत उपस्थित छन् ।
खोटेहाङ गाउँपालिका प्रज्ञा–प्रतिष्ठानले नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंको सहकार्यमा उत्सवा आयोजना गरेको हो । साहित्य सृजनाको माध्यमबाट सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने उद्देश्यले ऐतिहासिक खोटाङ बजारमा आयोजित उत्सवमा साहित्यिक क्षेत्रमा राष्ट्रिय तथा स्थानीय मूर्धन्य सर्जकहरुले आफ्ना सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको अध्यक्ष नारथुङ्गेले बताएका छन् ।
प्रकाशित: ४ पुस २०८२ १८:३६ शुक्रबार