समाज

सुमोसँगै हराएका ललितपुरका केसी तीन दिनपछि मृत फेला

तीन दिनअघि सुमो जीपसँगै बेपत्ता भएका ललितपुरका एक युवक उदयपुरमा मृत भेटिएका छन्। काठमाडौंबाट १ज ५८१२ नम्बरको टाटा सुमो हाँकेर मंसिर १३ गते हिँडेका ललितपुरको महालक्ष्मी नगरपालिका ९ का ३४ वर्षीय दीपेन्द्र केसी हराएको ३ दिनपछि मृत भेटिएका हुन्।

सुमोमा एक्लै निस्केका उनी उदयपुरको ताप्ली गाउँपालिका ५ रुपाटार जाने भनेर हिँडेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। रुपाटार जाने क्रममा घुम्री–कटारी सिद्धिचरण लोकमार्ग पुगेको कुरा अन्तिम पटक शनिबार बेलुका ८:४४ बजे उनले परिवारलाई मोबाइलमा सुनाएपछि सम्पर्कविहीन भएका थिए।

रुपाटार आउने क्रममा कटारीदेखि ४३ किलोमिटर पश्चिम कटारी नगरपालिका १४ पाखेमारा भीरबाट खसेर उनको ज्यान गएको पाइएको छ। स्थानीयले सुमो र मान्छे मृत अवस्थामा देखेर घुम्रीस्थित ट्राफिक प्रहरी पोष्टलाई जानकारी दिएपछि घटना बारे थाहा भएको हो।

पहाडी भिरालो सडकदेखि करिब ५ सय मिटर तल खसेको सुमो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने केसीको शव पनि क्षतविक्षत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। नजिकमा मानव बस्ती नभएको अन्कन्टार भीरबाट राति सुमो दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीको छ। दुर्घटनाको कुरा ३ दिनसम्म थाहा नहुनुले घटना मध्यराति भएको अनुमान पनि प्रहरीले गरेको छ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कटारीमा राखेर आफन्तलाई खबर गरिएको तथा घटना बारे अनुसन्धान र खोजकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: १६ मंसिर २०८२ १२:१८ मंगलबार