समाज

कर्णालीको ‘जीवनरेखा’ : कर्मचारीकै कारण जहाजमा यात्रु सिट घट्यो

कर्णालीका दुर्गम जिल्लाहरूमा हवाई सेवा जीवनरेखा मानिन्छ। तर यही जीवनरेखालाई सञ्चालन गर्ने नेपाल एयरलाइन्सको व्यवस्थापन प्रणाली आफैं अव्यवस्थित हुँदा यात्रु, कर्मचारी र राज्य सबै घाटामा परिरहेका छन्।

जहाजका लागि अत्यावश्यक प्राविधिक दरबन्दी स्थानीय रूपमा कायम नगर्दा कर्मचारी ‘जहाजमै घुम्ने’ बाध्यतामा छन्। त्यसको प्रत्यक्ष असर यात्रु सिट कटौती र उडान रद्दमा देखिन थालेको छ।

नेपाल एयरलाइन्सले कर्णालीमा सञ्चालन गर्ने ट्विनअटर जहाजका लागि सुर्खेत र नेपालगञ्जमा स्थायी प्राविधिक दरबन्दी नतोक्दा काठमाडौंबाटै जहाजसँगै कर्मचारी ल्याउने अभ्यास गरिएको छ। स्रोतका अनुसार प्रत्येक उडानमा एक जना इन्जिनियर र एक जना प्राविधिक जहाजमै आउजाउ गर्छन्। यसको परिणाम १९ सिट क्षमताको जहाजमा २-३ सिट कर्मचारीकै नाममा ‘अदृश्य रूपमा’ बन्द गर्नुपर्छ।

नेपाल एयरलाइन्स जुम्लाका प्रमुख उमाकान्त अधिकारीका अनुसार जहाजमा कति तेल आवश्यक पर्छ, भन्ने आधारमै यात्रुको संख्या निर्धारण हुने भएकाले कर्मचारी थपिँदा यात्रु घटाउनुपर्ने बाध्यता हुन्छ। ‘अहिले जुम्लाबाट सुर्खेत वा नेपालगञ्ज जाँदा १६-१७ सिट मात्रै यात्रुले पाउने गरेका छन्,’ उनी भन्छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका अनुसार कर्मचारीको स्थायी दरबन्दी नहुँदा उनीहरू जहाजमै आउने-जाने गरेका हुन्। तर वर्षौंदेखि नियमित उडान भइरहेका सुर्खेत र नेपालगञ्जजस्ता केन्द्रमा किन अहिलेसम्म दरबन्दी कायम गरिएन भन्ने प्रश्न उठ्छ।

नेपाल एयरलाइन्स नेपालगञ्जका प्रमुख यमराज सिंह भन्छन्, ‘सुर्खेतमा फ्युलिङका लागि एक जना प्राविधिक र नेपालगञ्जमा उडानपूर्व परीक्षणका लागि एक जना इन्जिनियर अनिवार्य हुन्छ। यो दरबन्दी यहीँ राख्न माग गरिएको हो।’ तर माग कहाँ अड्किएको छ, भन्ने प्रश्नको जवाफ नीतिगत तहमा पुगेर हराइरहेको देखिन्छ।

दरबन्दी नहुँदा यात्रुको सिट घट्नु मात्र समस्या होइन। जहाजमै कर्मचारी ओसारपसार गर्दा भाडा, भत्ता, बसोबास र दैनिक खर्च पनि बढिरहेको छ। अर्थात्, व्यवस्थापनको कमजोरीले राज्यको खर्च बढाउँदै नागरिकको सेवा घटाइरहेको छ।

हालको अभ्यासअनुसार काठमाडौंबाट आउने इन्जिनियर जहाजसँगै नेपालगञ्ज आइपुग्छन्। एक जना नेपालगञ्जमै बस्छन्। अर्को प्राविधिक जहाजमै नेपालगञ्ज-जुम्ला-सुर्खेत पुगेर तेल भरी पुन: जुम्ला हुँदै नेपालगञ्ज फर्किन्छन्। यही प्रक्रिया कर्णालीभर निरन्तर दोहोरिइरहेको छ।

नेपाल एयरलाइन्सकी सहप्रवक्ता कल्पना काफ्लेले विषयबारे बुझेर जानकारी दिने बताइन्। तर, समस्या दीर्घकालदेखि चलिरहेको हुँदा तत्कालीन जवाफभन्दा नीतिगत समाधान खोजिनुपर्ने देखिन्छ।

दरबन्दीको समस्या मात्र होइन, जहाज काठमाडौँमै बास बस्ने व्यवस्थाले पनि कर्णालीका यात्रुलाई थप पीडा दिएको छ। कर्णाली र सुदूरपश्चिममा सेवा दिने ट्विनअटर जहाज समयमै नेपालगञ्ज नआउँदा जुम्ला, हुम्ला, मुगुजस्ता जिल्लाका उडान बारम्बार रद्द हुने गरेका छन्।

सेवाग्राही भन्छन्, ‘दिउँसो मौसम खराब भएर उडान रद्द हुनु बुझ्न सकिन्छ। तर बिहानै १० बज्नुअघि ‘मौसमी कारण’ देखाएर उडान रद्द गर्नु, जबकि जहाज काठमाडौँमै अड्किएको हुन्छ, यो पारदर्शी होइन।’

यसै साता आइतबार काठमाडौंबाट रुकुम हुँदै नेपालगञ्ज आउने जहाज नआउँदा कर्णालीका जिल्लामा उडान नै भएन। राष्ट्रिय मानव अधिकार आयोगका नायब सुब्बा राजकुमार विश्वकर्मा पनि यही समस्याका पीडित बने। ‘जहाज समयमै नेपालगञ्ज आइपुगेको भए दिउँसो २-३ बजे पनि उडान सम्भव हुन्थ्यो,’ उनी भन्छन्।

नेपाल एयरलाइन्स नेपालगञ्जका प्रमुख सिंहले आइतबार मौसमी प्रतिकूलताका कारण जहाज नआएको बताए। तर, जहाज नेपालगञ्जमै बास बस्ने कि नबस्ने भन्ने निर्णय नीतिगत भएकाले स्थानीय कार्यालयको पहुँचभन्दा बाहिर रहेको उनको स्वीकारोक्ति छ।

सेवाग्राही हिउँदमा नेपालगञ्जमा कुहिरो लाग्ने कारण देखाउँदै उडान रद्द गरिन्छ। तर सेवाग्राही जहाज नै बिहान नेपालगञ्जमा नभएपछि कुहिरोको बहाना किन? भनेर प्रश्न गर्छन्।

हाल जुम्ला-सुर्खेत उडान पुन: सुरु भएपछि केही सहजता देखिए पनि स्थायी दरबन्दी, जहाजको स्थानीय बास र पारदर्शी निर्णय प्रणाली बिना कर्णालीको हवाई सेवा अझै भरपर्दो बन्ने देखिँदैन।

कर्णालीका लागि हवाई सेवा विलासिता होइन, आवश्यकता हो। तर व्यवस्थापनको कमजोरीले यो आवश्यकता अझै पनि जोखिममै रहेको प्रश्न उठिरहेको छ।

प्रकाशित: ७ पुस २०८२ ०९:४१ सोमबार