समाज

८१ वर्षमा नागरिकता पाएकी कालमायाले अब बृद्धभत्ता पाउने

उदयपुरकी एक वृद्धाले नागरिकता प्रमाणपत्र पाएकी छन्। जिल्लाको चौदण्डीगढी नगरपालिका ४ बसाहाकी ८१ वर्षीया कालमाया राईले नागरिकता पाएकी हुन्।  

वडाध्यक्ष लुङ्गराज राईको अनुसार ३ छोरा र २ छोरीकी आमा कालमायाको श्रीमानको पहिल्यै निधन भइसकेको छ। २००१ साल वैशाख १ गते जन्मेकी उनी अहिलेसम्म नागरिकताविहीन भएको कारण राज्यबाट पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता (बृद्धभत्ता) पाउनबाट वञ्चित थिइन्।  

नागरिकता अभावमा वृद्धाले सरकारबाट पाउनुपर्ने बृद्धभत्ताबाट वञ्चित भएको जानकारी पाएपछि कानुनी प्रक्रिया अपनाएर नागरिकता प्रमाणपत्र दिलाइएको वडाध्यक्ष राईले बताए। शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएपछि उनको राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रिया पनि सुरु भएको छ। नागरिकता र राष्ट्रिय परिचयपत्र बनेपछि अब उनले आउँदो चौमासिकदेखि बृद्धभत्ता पाउने निश्चित भएको राईले बताए।  

विगत ७ दशकदेखि बसाहामा बस्दै आएकी कालमायाको जन्मस्थल खोटाङको जन्तेढुंगा गाउँपालिका हो। जन्मस्थान फरक, श्रीमानको निधन र आर्थिक अवस्था कमजोर रहेको परिवारका छोराछोरीमा कानुनी जानकारीको अभावमा उनले अहिलेसम्म नागरिकता पाउन नसकेको वडाध्यक्ष राईले बताए।  

नागरिकता अभावले विगत १२ वर्षदेखि पाउनुपर्ने बृद्धभत्ताको सुविधा उनले लिन नपाएको अवस्था अब अन्त्य भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए। बृद्धा अवस्थासम्म नागरिकता नभएको जानकारी जनप्रतिनिधिबाट प्राप्त भएपछि आवश्यक प्रमाण माग्दा पर्याप्त प्रमाण पुगेकोले बृद्धालाई वंशजको नागरिकता उपलब्ध गराइएको सिडिओ लुइँटेलले बताए।

प्रकाशित: १६ श्रावण २०८२ २१:०० शुक्रबार