जुम्लाको कठोर भूगोलमा स्याउ खेती केवल कृषि मात्र होइन, यहाँको जीवनशैली, रोजगारी र स्थानीय अर्थतन्त्रको मेरुदण्ड हो। हजारौं घरधुरीको आम्दानी, युवाको रोजगारी र जिल्लाको पहिचान स्याउसँग गाँसिएको छ। तर पछिल्ला केही वर्ष यता यही स्याउ खेती संकटमा परेको तथ्यांकले देखाउँछ।
उत्पादन घट्नु, रोगको बढ्दो समस्या, फलको आकार र गुणस्तर कमजोर हुनु, र बजार प्रतिस्पर्धामा पछि पर्नु, यी सबैले जुम्लाको स्याउलाई ‘संभावना हुँदाहुँदै कमजोर बनेको उत्पादन’को सूचीमा राखिदिएका छन्।
कृषि विकास कार्यालय जुम्लाका प्राविधिकहरूका अनुसार समस्या केवल मौसम वा भूगोलमा होइन, बगैँचा व्यवस्थापनमा थियो। अधिकांश स्याउ बगैँचामा वर्षौंदेखि काँटछाँट गरिएको थिएन। विरुवाहरू अनावश्यक रूपमा फैलिएका थिए, जसले घाम र हावाको प्रवाह रोक्थ्यो। फल लाग्ने हाँगामा शक्ति खर्चिनु पर्ने सट्टा अनावश्यक हाँगामा ऊर्जा जाँदै थियो।
त्यसमाथि रोग व्यवस्थापन अझै कमजोर थियो। किसानले रोग देखेपछि मात्र औषधि प्रयोग गर्थे, त्यो पनि अनुमानका आधारमा। निलो तुथो, चुन, बोडो मिक्सचर जस्ता वैज्ञानिक उपायको सही मात्रा र समयबारे अधिकांश किसान अनभिज्ञ थिए।
तर गहिरो समस्या कृषि विस्तार प्रणालीमा देखिन्थ्यो। विगतमा स्याउ खेतीसम्बन्धी तालिम प्रायः सदरमुकाम वा बाहिरी जिल्लामा सीमित हुन्थे। किसान केही दिन सैद्धान्तिक ज्ञान त लिने गर्थे, तर आफ्नै बगैँचामा फर्किएपछि त्यो ज्ञान प्रयोग गर्न सक्दैनथे।
गत आर्थिक वर्ष २०८१/८२ मा १९,८४० मेट्रिक टन उत्पादन भई ९,३३१ मेट्रिक टन निर्यात भएको थियो, जसबाट ६१ करोड २ लाख ४७ हजार ४ सय रुपैयाँ आम्दानी भएको थियो।
यस वर्ष स्याउ खेती ४,३२५ हेक्टरबाट ४,४४५ हेक्टर पुगेको छ। फल दिने क्षेत्र २,००० हेक्टरबाट २,१२५ हेक्टरमा विस्तार भएको छ। घरधुरी संख्यामा पनि बृद्धि भएको छ, १९,१२५ बाट १९,१५० पुगेको छ। बिक्री–वितरण र व्यापारमा संलग्न किसानको संख्या पनि बढ्दो छ।
तर अघिल्लो वर्ष उत्पादन र निर्यात दुवै बढी थियो। यसले देखाउँछ, क्षेत्रफल बढे पनि गुणस्तर र निरन्तरता चुनौतीमै छ।
जुम्लामा सुरु भएको यो अभ्यास साधारण तालिम होइन। कार्यालयबाट होइन, बगैँचाबाट नीति कार्यान्वयन हो। निरन्तरता, स्थानीय तहको अपनत्व र बजेट–नीतिले साथ दिए भने जुम्लाको स्याउ खेती आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी बन्ने विश्वास लिइएको छ।
प्रकाशित: २५ पुस २०८२ १८:०८ शुक्रबार