जुम्लाको हिमाली भेगमा उत्पादन हुने अर्गानिक आलु गुणस्तर, स्वाद र पोषणका हिसाबले देशभर चर्चित छ। तर उत्पादनको यो सम्भावना किसानका लागि अपेक्षित आम्दानीमा रूपान्तरण हुन सकेको छैन। दुर्गम भौगोलिक अवस्था, कमजोर पूर्वाधार, ढुवानीको कठिनाइ र बजारसम्मको सीमित पहुँचले किसानलाई अझै पनि न्यून मूल्यमा उत्पादन बेच्न बाध्य बनाइरहेको छ।
गुठीचौर गाउँपालिका–१ का गोरबहादुर बस्नेत वर्षमा ५० क्विन्टल आलु उत्पादन गर्छन्। केही आफ्नो र केही छिमेकीको आलु संकलन गरेर बजारसम्म लैजान्छन्। तर कहिले मौसमले बाटो बिगार्छ, कहिले मूल्य घट्दा व्यापारिक उत्साह कमजोर हुन्छ। आठ सदस्यीय परिवारको खर्च धान्ने मुख्य स्रोतका रूपमा आलु खेती गर्दै आएका बस्नेत भन्छन्, “दुर्गममा आलु धेरै उत्पादन हुन्छ, तर नजिकै बजार छैन। गाउँको आलु कौडीको भाउमा बेच्न बाध्य छौं।”
जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार, गत वर्ष २ हजार २ सय ९२ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो, जसबाट ३९ हजार ७ सय १५ मेट्रिक टन उत्पादन भयो। यसबाट करिब तीन करोड रुपैयाँ बराबरको कारोबार जुम्लामा भित्रिएको छ।
जुम्ली लोकल, महत, खुमल सेतो, खुमल रातो, डेजिरे, जनकदेव र कुफ्रिज्योति जातका आलु यहाँ उत्पादन हुन्छन्। विशेष गरी दुई सिजन—तीन महिनाको छोटो र छ महिनाको लामो अवधिमा फल्ने आलु लोकप्रिय छन्। यहाँको आलु विषादीरहित भएकाले अर्गानिक मानिन्छ, र स्वादिलो तथा पोषिलो भएकाले यसको माग उच्च छ।
तर माग र मूल्यबीचको खाडल अझै पनि किसानका लागि चुनौती बनेको छ। उत्पादनले पहिचान बनाए पनि आर्थिक फाइदा सीमित छ। कृषि विज्ञका अनुसार, “उत्पादनको मूल्य शृंखला बलियो बनाउने, भण्डारण सुविधा विस्तार गर्ने र बजारसँग किसानलाई प्रत्यक्ष जोड्ने काम गर्नुपर्छ। यही उपायले जुम्लाको आलुलाई पहिचान मात्र नभई समृद्धिको आधार बनाउन सक्छ।”
प्रकाशित: १८ चैत्र २०८२ २२:१३ बुधबार