जुम्लामा स्याउ उत्पादनलाई प्रशोधनसँग जोड्ने अभ्यास बढ्दै जाँदा किसानको आम्दानीमा उल्लेख्य वृद्धि हुन थालेको छ। काँचो स्याउ बेचेर सीमित आम्दानी गर्ने अवस्थाबाट बाहिर निस्कँदै किसानहरू अहिले स्याउका चाना उत्पादनमार्फत मूल्य अभिवृद्धि गर्दै व्यवसाय विस्तारतर्फ उन्मुख भएका छन्।
चन्दननाथ नगरपालिका–८ कोटिला गाउँका ४७ वर्षीय धर्म बोहोराको अनुभव यस परिवर्तनको उदाहरण बनेको छ। उनको स्याउ बगैंचामा गोल्डेन, रेड डेलिसियससहित तीन जातका करिब ३०० बिरुवा छन्। ११ वर्गमिटर क्षेत्रफलमा फैलिएको बगैंचाबाट वार्षिक ३० देखि ४० क्विन्टलसम्म स्याउ उत्पादन हुने गरेको छ। तर उनले स्याउ व्यापारीलाई काँचै बिक्री गर्दैनन्। सबै उत्पादनलाई प्रशोधन गरी स्याउका चाना बनाएर बजारमा पठाउँछन्।
यसका लागि उनले ‘बोहोरा कृषि फलफूल तथा प्रशोधन फर्म’ दर्ता गरेका छन्। २०७४ सालदेखि स्याउका चाना बिक्री सुरु गरेका उनले पहिलो वर्ष ६० केजी मात्रै बिक्री गरेका थिए। प्रति केजी ८ सय ५० रुपैयाँका दरले बिक्री हुँदा ४२ हजार ५ सय रुपैयाँ आम्दानी भएको थियो। यही सानो सुरुवात अहिले वार्षिक सात लाख रुपैयाँभन्दा बढी कारोबारमा विस्तार भएको छ।
समयसँगै उत्पादन र बजार दुवै बढेको छ। अघिल्लो वर्ष उनले ६ क्विन्टल स्याउका चाना बिक्री गरी ६ लाख रुपैयाँ आम्दानी गरे। अर्को वर्ष ४–५ क्विन्टल बिक्री गरे भने गत वर्ष साढे तीन क्विन्टल नियमित अर्गानिक पसलमा र थप एक क्विन्टल फुटकर बिक्री गरी कुल ४ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका छन्। हाल स्याउका चाना प्रति केजी ८ सय ५० देखि १ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
धर्मले चन्दननाथ बहुउद्देश्यीय अर्गानिक मिनीमार्केट, अस्पताल लाइन, बसपार्क र विमानस्थल लाइनका अर्गानिक पसलसँग वार्षिक सम्झौता गरेका छन्। नियमित बजार सुनिश्चित भएकाले उत्पादन बिक्रीको चिन्ता नरहेको उनको भनाइ छ।
उनका अनुसार काँचो स्याउ बेच्दा किसानले उचित मूल्य पाउन सक्दैनन्। व्यापारीले ए–ग्रेड र बी–ग्रेड छुट्याउने, साना आकारका स्याउ नलिने र प्रतिकेजी ४५ देखि ७० रुपैयाँसम्म मात्रै मूल्य दिने अवस्था छ। तर स्याउका चाना बनाएपछि साना–ठूला सबै स्याउ उपयोग हुने, भण्डारण गर्न मिल्ने र बढी मूल्य प्राप्त हुने भएकाले उनले सम्पूर्ण उत्पादन प्रशोधन गर्ने निर्णय गरेका हुन्।
औपचारिक तालिम नलिए पनि धर्मले अनुभवबाट यो सीप सिकेका हुन्। छिमेकी गाउँ तलिउमका भीमबहादुर रोकायाको स्याउ फर्म अवलोकनपछि उनी यसतर्फ आकर्षित भएका थिए। “हेरेर सिकेँ, अभ्यास गर्दै गएँ,” उनी भन्छन्। अहिले यही अनुभव उनको आम्दानीको मुख्य आधार बनेको छ।
स्याउका चानाबाट भएको आम्दानीले उनको जीवनशैली पनि परिवर्तन भएको छ। उनले सदरमुकाम खलंगामा १२ लाख रुपैयाँमा घडेरी खरिद गरेका छन्। पाँच सदस्यीय परिवारको दैनिक खर्चदेखि दुई छोरा र एक छोरीको निजी विद्यालयको शिक्षासम्म यही व्यवसायले धानेको छ।
यसैगरी, चन्दननाथ नगरपालिका–८ जातिभिड गाउँका ४३ वर्षीय सिरी थापाले पनि स्याउ प्रशोधनबाट उल्लेख्य आम्दानी गरिरहेका छन्। उनी भगवती आधारभूत विद्यालयमा निजी शिक्षकका रूपमा कार्यरत छन्, जहाँबाट मासिक १८ हजार रुपैयाँ तलब बुझ्छन्। तर शिक्षकको तलबभन्दा बढी आम्दानी अहिले उनी स्याउका चानाबाट गरिरहेका छन्।
विद्यालयको जिम्मेवारी पूरा गरेपछि बिहान र बेलुकाको समय उनले स्याउ बगैंचामा खर्चिन्छन्। यही अतिरिक्त श्रमले उनको जीवनमा नयाँ आयस्रोत थपेको छ।
थापाले १० वर्षअघि स्याउका चाना उत्पादन सुरु गरेका थिए। उत्पादनसँगै मूल्य अभिवृद्धि गर्ने उद्देश्यले उनले ‘मालिका स्याउ प्रशोधन उद्योग’ दर्ता गरेका छन्। उनको १ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा २०० स्याउका बिरुवा छन्, जसबाट वार्षिक २० क्विन्टल स्याउ उत्पादन हुन्छ।
गत वर्ष उनले स्याउका चाना बिक्रीबाट २ लाख रुपैयाँ आम्दानी गरेका थिए। बजार विस्तार र माग वृद्धि भएसँगै अहिले वार्षिक आम्दानी ६ लाख रुपैयाँभन्दा बढी पुगेको छ।
थापाको अनुभवले कृषिमा उत्पादन मात्र होइन, प्रशोधन र मूल्य अभिवृद्धि पनि उत्तिकै महत्त्वपूर्ण रहेको देखाएको छ। फुर्सदको समयलाई सिर्जनात्मक श्रममा रूपान्तरण गर्दै उनले कृषि, उद्यम र रोजगारीलाई एकसाथ जोड्ने उदाहरण प्रस्तुत गरेका छन्।
कृषि कार्यालयका अनुसार चालु आर्थिक वर्ष जुम्लामा १७ हजार ५५८ दशमलव ७५ मेट्रिक टन स्याउ उत्पादन भएको छ। यसमध्ये ५ हजार ५९१ मेट्रिक टन जिल्ला बाहिर निर्यात हुँदा ४१ करोड २९ लाख ८९ हजार २७० रुपैयाँ आम्दानी भएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा १९ हजार ८४० मेट्रिक टन उत्पादन भई ९ हजार ३३१ मेट्रिक टन निर्यात भएको थियो, जसबाट ६१ करोड २ लाख ४७ हजार ४ सय रुपैयाँ आम्दानी भएको थियो।
यस वर्ष स्याउ खेती क्षेत्र ४ हजार ३२५ हेक्टरबाट बढेर ४ हजार ४४५ हेक्टर पुगेको छ। फल दिने क्षेत्र २ हजार हेक्टरबाट २ हजार १२५ हेक्टरमा विस्तार भएको छ। घरधुरी संख्या १९ हजार १२५ बाट १९ हजार १५० पुगेको छ भने बिक्री–वितरण र व्यापारमा संलग्न किसानको संख्या पनि बढ्दो क्रममा रहेको कृषि कार्यालयले जनाएको छ।
प्रकाशित: १४ असार २०८३ २१:२५ आइतबार



